काठमाडौं । पुष्प व्यवसायीले यस वर्षको तिहारमा सयपत्रीको माग नेपालकै उत्पादनले धान्ने दाबी गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)ले विगत वर्षमा सयपत्री फूलको माला निर्बाधरूपमा भारतबाट आयात भइरहेकोमा यस वर्ष आन्तरिक उत्पादन नै पर्याप्त रहेको जनाएको हो । फ्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा उत्पादित सयपत्री फूलको बजारलाई सुनिश्चितता प्रदान गर्न सरकारका सरोकारवाला निकायसँग समन्वय गरी आयात नियन्त्रणसँगै आन्तरिक उत्पादन बजारीकरण गर्न अनुरोध गरिएको र सोहीअनुसार सरकारले काम कारबाही अघि बढाएको जनाएको छ ।
तिहार नजिकिँदै गर्दा नेपाली सयपत्री फूलको उत्पादनको बजारीकरणलाई सहयोग पुगोस् भनी गरिएको आयात नियन्त्रणको फाइदा उठाउँदै केही उत्पादक तथा व्यवसायी सयपत्री मालाको अस्वाभाविक मूल्यवृद्धि गर्नेतर्फ उद्यत रहेको सूचनासमेत यस संघमा प्राप्त भएको भन्दै फ्यानले सम्पूर्ण सयपत्री फूलका उत्पादक तथा व्यवसायीलाई अस्वाभाविक मूल्यवृद्धि नगरी सुलभ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउन अपिलसमेत गरेको छ ।
सरकारका सरोकारवाला निकायले चाडबाडको समयमा हुने अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गर्ने र अनुगमनका क्रममा अस्वाभाविक मूल्यवृद्धि गरी कालोबजारी गरे प्रचलित ऐन कानुनअनुसार कारबाहीसमेत गर्ने फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभएको छ ।
फ्यानका अनुुसार तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार हुने अनुमान छ । करिब साढे २४ लाख मालाको कारोबार हुने बताइएको छ । तिहारमा सबैभन्दा बढी सयपत्री मालाको माग हुने गरेको छ । गत वर्षको तिहारमा तीन लाख माला भारतबाट आयात गरिएको थियो । मखमली माला भने विदेशसमेत निर्यात हुने गरेको छ । तिहारमा करिब एक लाख मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभएको छ । भारतलगायत विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच