वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

हिमालय टाइम्स
Read Time = 5 mins

नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन ।

रु पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो । वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । तर पुल निर्माण सम्पन्न भएको यतिका समय बित्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन ।

वाल्मीकि आश्रम हाल त्रिवेणी ब्यारेजबाट करिब आठ किलोमिटर भारतीय बाटो प्रयोग गरी पुग्न सकिन्छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँ पुग्न सहज छैन । झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अर्को छेउमा तारबार गरी बन्द गरिएको विनयी त्रिवेणी गाउँपालिका-६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । पुलबाट वाल्मीकि आश्रम पुग्न नसकिए पनि पुल अवलोकनका लागि भने आन्तरिक पर्यटक आउने गरेको उहाँको भनाइ छ । पुलमा आउने तस्बिर खिच्ने, घुमफिर गर्नेको पुल क्षेत्रमा भीड लाग्ने गरेको वडाध्यक्ष शाहले बताउनुभयो ।

त्रिवेणीस्थित झोलुङ्गे पुल तरेपछि वाल्मीकि आश्रमसम्म पुग्न करिब एक हजार सात सय मिटर बाटो निर्माण गर्नुपर्ने छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने बाटो नबन्दा पुल सञ्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । बाटो बनाउने विषयमा पटक-पटक निकुञ्जसहित सरोकारवालासँग छलफल चले पनि कुनै प्रगति हुन नसकेको उहाँको भनाइ छ ।

“बैठकमा पुल सञ्चालन गर्ने, बाटो बनाउने भन्ने सबैको राय मिल्छ, नबनाउने भन्ने कसैको कुरा हुन्न तर कामको प्रगति भएको छैन”, उहाँले भन्नुभयो । सरोकारवाला मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा कतिपय काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । “वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल चलाउने, बाटो बनाउने भनेर पालिकाले नै पटक-पटक  समन्वय गर्यो, तर उस्तै छ”, अध्यक्ष गिरीले भन्नुभयो, “हामीकहाँ अन्तर मन्त्रालयको समन्वयको कमीले समेत विकास निर्माणमा समस्या हुने गरेको छ ।”

नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम रहेको छ । दुई धार्मिकस्थललाई जोड्ने महत्त्वपूर्ण मानिएको पुल सञ्चालनमा आउने हो भने पर्यटकको थप आगमन बढ्ने त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले बताउनुभयो । पुल सञ्चालनमा आए वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने उहाँको भनाइ छ  । दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पुर्याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उहाँको भनाइ छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?