‘मेरो अतीत मेरो अनुभव’ प्रसिद्ध शिक्षासेवी रमेशप्रसाद गौतमको संस्मरणात्मक लेखहरूको सङ्ग्रह हो । उहाँ विभिन्न सामुदायिक विद्यालयको अध्यापक, प्रधानअध्यापक तथा क्याम्पसहरूको लेक्चरल भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ काठमाडौंको रैथाने भएर पनि मूलबस्तीभन्दा अलिक परको गाउँको मानिस हुनुहुन्छ र मिहिनेत गरेर पढी त्यस स्तरसम्म पुग्नुभएको हो । आफ्नो अध्यापनको लामो समयमा उहाँले विभिन्न प्रकारको उतारचढावको सामना गर्नुपरेको थियो । उहाँको अध्यापनको उत्तरार्धतिर नेपालको राजनीति अनेकौं मोडतर्फ जेलिँदै गइरहेको थियो । यही बेलामा दरबार हत्याकाण्ड भयो र ज्ञानेन्द्र शाह राजा बन्न पुग्नुभयो ।
त्यस बेला अर्कातिर माओवादीको सशस्त्र विद्रोह पनि चरम अवस्थामा थियो । उहाँलाई ज्ञानेन्द्रको समयमा मन्त्रीको प्रस्ताव आएको थियो तर उहाँ त्यसतर्फ आकर्षित हुनुभएन, आफूले अध्यापन गरिरहेको विद्यालयको प्रधानाध्यापक भएरै बस्नुभयो । यो उहाँको प्रजातन्त्रप्रतिको प्रतिबद्धता थियो । यो त एउटा दृष्टान्तमात्रै हो । उहाँका यस्ता अनेकौं अनुभव र जीवन भोगाइ यस पुस्तकमा समेटिएका छन् । यो पुस्तकमा समेटिएका प्रायः सबैजसो लेख हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेका हुन् । यस पुस्तकको प्रकाशक पनि नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स नै हो ।
यस पुस्तकबाट गौतम लेखकमात्र नभएर साहित्यकार र सम्पादकसमेत हुनुहुन्छ भन्ने जानकारी पाइन्छ । साहित्यतर्फ उहाँले केही नाटक र कविताहरू लेख्नुभएको सन्दर्भ यहाँ छ भने उहाँले रचना गर्नुभएका कविता त यसै पुस्तकमा समावेश भएका छन् । लेखका शीर्षक पनि धेरै लामा छैनन् ।
पुस्तक २०७९ साल चैतमा छापिएको छ र पहिलो संस्करणका रूपमा १००० प्रति छापिएको छ । पुस्तकको सर्वाधिकार लेखक गौतममै रहेको छ । पुस्तक डिएमआई साइजमा छ । यसमा पहेंलो तौलयुक्त कागजको प्रयोग भएको छ । छपाइको स्तर राम्रो छ तर कतै कतै अशुद्धि भने भेटिन्छन् । यस पुस्तकमा भूमिका खण्डमा १७, पाठ्य खण्डमा १९९ र तस्वीर खण्डमा १० गरी जमा २२६ पृष्ठ छन् । पुस्तकको मूल्य ५५० रूपैयाँ रहेको छ । पुस्तक मल्टि ग्राफिक प्रेस प्रा.लि.बाफल, काठमाडौंमा मुद्रण भएको छ ।
पुस्तकको आवरणमा लेखक गौतमको पूर्णपृष्ठको फोटो राखिएको छ । माथि पुस्तकको शीर्षक पहेंला ठूला अक्षरमा ‘मेरो अतीत मेरो अनुभव’ भनेर रहेको छ भने तल लेखकको नाम साना सेता अक्षरमा ‘रमेशप्रसाद गौतम’ भनेर उल्लेख भएको छ । पृष्ठ आवरणमा फोटोसहित लेखकको समग्र परिचय दिइएको छ । यहाँ उहाँको जन्ममिति, जन्मस्थान, सेवा, संलग्नता, प्रकाशित कृति, उहाँले पाउनुभएका मानसम्मान र पुरस्कार र भ्रमण गरेका राष्ट्रहरूको नाम उल्लेख भएको छ ।
यस पृष्ठबाट उहाँले अध्यापन गर्नुभएका दर्जनौं शैक्षिक संस्थाको जानकारी पाइन्छ भने उहाँका एक दर्जनको संख्यामा पुस्तक प्रकाशित भइसकेको जानकारी पाइन्छ । यसैगरी उहाँले एक दर्जनभन्दा बढी पदक तथा पुरस्कार पाउनुभएको र एक दर्जनको संख्यामा विभिन्न देशहरूको भ्रमण गर्नुभएको जानकारी पनि पृष्ठ आवरणमै उल्लेख भएको छ । यस पृष्ठको तल प्रकाशक संस्था नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्सको लोगोसहित नाम उल्लेख भएको छ ।
पुस्तकको आवरणको भित्रपट्टि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माको शुभकामना रहेको छ । भित्र लेखकका पितामाता तथा ससुरा र सासूप्रति पुस्तक समर्पण गरिएको छ । त्यसपछि दमननाथ ढुङ्गानाको ‘शुभकामना’, प्रा.पुरुषोत्तम दाहालको ‘रमेशजीको अनुभवी पाठशाला’ र लेखक गौतमको ‘लेखकीय’ रहेका छन् । भूमिका खण्डका यी सामग्रीपछि विषयसूची छ । पुस्तकमा उहाँका ९० वटाभन्दा बढी लेख छन् । दैनिक पत्रिकामा प्रकाशित लेख भएका कारण यी लेखहरू संस्मरणात्मक भइकन पनि लामा छैनन् । अनुभवले खारिएका छोटाछोटा लेख भएकाले पढ्न झन्झिटिला छैनन्, रोचक छन् ।
पाठ्य सामग्रीसँग सन्दर्भ मिल्ने खालका फोटासमेत बीचबीचमा राख्नाले पुस्तक आकर्षक बन्न पुगेको छ । यस पुस्तकबाट गौतम लेखकमात्र नभएर साहित्यकार र सम्पादकसमेत हुनुहुन्छ भन्ने जानकारी पाइन्छ । साहित्यतर्फ उहाँले केही नाटक र कविताहरू लेख्नुभएको सन्दर्भ यहाँ छ भने उहाँले रचना गर्नुभएका कविता त यसै पुस्तकमा समावेश भएका छन् । लेखका शीर्षक धेरै लामा छैनन् । मझौला आकारका छन् र लेखहरू छोटाछोटा छन् । जानकारीमूलक लेखले गर्दा तत्कालीन शिक्षा, शैक्षिक अवस्था, उहाँको समग्र जीवन जस्ताका विषयमा जानकारी हुने भएकाले उहाँबारे शोध गर्नेहरूका लागि यो पुस्तक उपयोगी हुने कुरा निर्विवाद छ । पुस्तकका लागि उहाँलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना । यसैगरी अन्य पुस्तकका लागि उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच