एउटै पेसामा जीवनका छ दशक

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्याउली उमेर । चाउरिएका अनुहार । ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेलो त्रिपालले छाएको गोठ छेउमै भटिनुहुन्छ, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय पचास बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । जवानीमा १५ सय भेडाबाख्रा पालेको सुनाउने सिर्पालीले अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउनुहुन्छ । बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का सिर्पालीले व्यवसायिक रुपमा भेडापालन गन थालेको ६३ वर्ष भयो । नौ वर्षकै उमेरदेखि गोठालो गर्न थाल्नु भएका सिर्पाली अहिले ७२ वर्ष पूरा हुनुभयो ।

एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिई राख्ने यासदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्ष मात्रै जागरिमा रहन्छन् । तर सिर्पाली दशकौँम्म एउटै पेसामा अनवरत रुपमा लागि राख्नु भएको छ । विहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुने सिर्पाली दसैँ अगाडि मात्रै बुकीबाट झर्नु भएको थियो । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालोमा लाग्नु परेको उहाँले गुनासो गर्नुभयो । आफ्नो बाल्यकालमा अहिलेको जस्तो पढ्ने लेख्ने चलन नभएको हुँदा आफूले पढ्न नपाएको सिर्पाली बताउनुहुन्छ । अहिले तमानखोला दुर्गमनै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भिर पाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा हजारौँ पशु पाल्न सहज हुने उहाँको भनाइ छ । अझै १० वर्ष एक डेढ सय भेडा पाल्न सक्ने सिर्पाली बताउनुहुन्छ ।

गाउँमा पाका पुर्खादेखि खेतिपाती गर्ने र पुशपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अङ्गाल्दै आएको उहाँले बताउनुभयो । पछिल्लो समय नयाँ पुस्ता भेडापालनमा चसो नदिँदा परम्परागत पेसा हराउना थालेको उहाँ हुनुहुन्छ । चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो संख्या निकै न्यून भएको सिर्पालीले बताउनुभयो । समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको हुँना व्यापार व्यवसाय गर्नेहरु बढ्न थालेको रनबहादुरले बताउनुभयो ।

“सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँ ठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानु पथ्र्यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नुन, चामल बटौली (बुटवल) पुगेर ल्याउनु पथ्र्यो, आजभोली घरमै पाइन्छ,” उहाँले भन्नुभयो – “हामी सानो–सानो हुँदा गाउँ भरीका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तिमा पनि एक सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवाहरु बजार जान थाले, विदेश जान थाले त्यही भएर गोठालो गर्नेहरु पनि घटे ।”

सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठाठापी र माहु भेडाबाख्रा छन् । हुलमुलमा हराउने हुँदा ति सबैका सिङमा रातो, हरियो लगायतका रंगहरु लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेसी झर्ने गर्दा घास र दाना पुराउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उहाँ बताउनुहुन्छ । पाँच भाईबहिनी छोराछोरी यही पेसाबाटै हुर्काएको र पढाएको भन्दै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाई छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यस तर्फ चासोनै नदिएको सिर्पाली बताउनुहुन्छ ।

रनबहादुरले भेडा र गोठको सुरक्षाका लागि दुई वटा कुकुरसमेत पाल्नुभएको छ । दुई कुकुरलाई गोठको दुई पट्टी बाँध्नु भएको छ । जसले गर्दा गोठ सुरक्षित हुने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गोठ बलाङ, मान्द्रो (बाँसको चोयाबाट बनेको सामान)ले बनाउने गरेको सुनाउँदै अहिले त्रिपाल र टेन्टले छाउन थालेको सिर्पालीको भनाइ छ । स्थानीय तह, प्रदेश र केन्द्र सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ति कार्यक्रमहरुले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुन सकेको छैन । आफूलाई अनुदान भन्नेनै थाहा नभएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?