काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको हो । यसअघि मंसिर १३ देखि १५ गतेका लागि महासमिति बैठक तय गरिएको थियो । महासमिति बैठक कार्यक्रम गर्न हल नपाएपछि बैठक दुई साता पर धकेलिएको बताइएको छ । यसअघि काठमाडौंमा गर्ने भनिएको सो बैठक अब ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सभाहलमा हुनेछ ।
यसअघि तोकिएको मितिमा कांग्रेसले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा कार्यक्रम गर्ने तयारी थियो । तर, त्यहाँ खाली नभएपछि कांग्रेसले कार्यक्रमको मिति नै सारेको हो । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारणवश महासमिति बैठक दुई साता पर धकेलिएको जानकारी दिँदै भन्नुभयो, ‘भूकम्पका कारण हामीले तिहारअघिका सबै कार्यक्रम स्थगित गरेका छौँ । त्यसकारण महासमिति सदस्यहरू चयनको प्रक्रियामा पनि असर पर्ने देखिएको छ । अन्य प्राविधिक कारणहरूले पनि महासमिति बैठक सार्नुपर्ने स्थिति बन्यो । अब मंसिर २९ र ३० गते तथा पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय भएको छ । ललितपुरको गोदावरीस्थित सभाहलमा महासमिति बैठक हुनेछ ।’ महासमिति बैठकमा कांग्रेसका महासमिति सदस्यहरू सहभागी हुन्छन् । देशभरि १६५ निर्वाचन क्षेत्रबाट ११/११ जना र केन्द्रीय कार्यसमितिका सदस्यहरूसहित बैठकमा करिब २५ सय जनाको सहभागिता हुने कांग्रेसले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प गएको र जनधनको ठूलो क्षति भएको भन्दै कांग्रेसले तिहारसम्म सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रूपमा लिँदै प्रभावितलाई उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, कांग्रेसले राहत सामग्री उपलब्ध गराउन र स्वास्थ्य उपचार गर्नका लागि पार्टीका तर्फबाट सदस्यले जम्मा गरेको कोषबाट पचास लाख दिने पनि गरेको छ । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले त्यसलाई अनुमोदन गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘यो रकम पर्याप्त होइन, अझै थप रकम पु¥याउनका लागि पार्टी संगठन भित्रका पदाधिकारी साथी, जनप्रतिनिधिलाई पार्टीको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने भनेका छौँ । यही निर्णयअनुसार कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गर्नुभयो ।’
यसैबीच, नेपाली कांग्रेसका सांसदहरूले १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय भएको छ । भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि संघीय संसद्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सो बराबरको रकम दिने निर्णय भएको हो । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
महामन्त्रीद्वयको संयोजकत्वमा सहजीकरण समिति
नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितहरूको व्यवस्थापन सहजीकरणका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ । यी समग्र विषय र भूकम्प गएका क्षेत्र अवलोकनसहित कामहरू गर्न महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन र सहजीकरण समिति बनाउने निर्णय भएको छ ।’ महामन्त्रीद्वय चाँडै त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
नेविसंघद्वारा भूकम्पपीडितका लागि आर्थिक सहयोग संकलन
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग गर्न आन्तरिक रूपमा आर्थिक सहयोग संकलन गरिरहेको छ । नेविसंघले संगठनका केन्द्रीय सदस्यबाट जनही एक हजार रुपैयाँका दरले सहयोग संकलन गरेको हो । नेविसंघ केन्द्रीय समितिमा सात सय ११ जना सदस्य छन् । सात लाख ११ हजार रुपैयाँ सहयोग संकलन गर्न लागिएको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिनुभयो । साथै, भूकम्पपीडित घाइतेको उपचारमा सहयोग गर्न नेविसंघले शिक्षण अस्पताल महाराजगञ्जमा शनिबारदेखि रक्तदान कार्यक्रम निरन्तर चलाइरहेको छ ।
राप्रपाका सांसदहरूको एक महिनाको तलब भूकम्प पीडितलाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टीको तर्फबाट २५ लाख रुपैयाँ पनि सोही कोषमा जम्मा गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट र रुकुम (पश्चिम)मा जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले जाजरकोटमा सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) र रुकुम (पश्चिम) मा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ । जसका लागि प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जानुहुने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा शाहीसँग र रुकुम पश्चिम जिल्लाको हकमा सहायक महामन्त्री शाहसँग समन्वय गरी उद्धार कार्यमा सहयोग पुर्याउन सकिने व्यवस्था गरिएको राप्रपाले जनाएको छ । राप्रपाले जरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ गते शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । यसैबीच, पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहनुभएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका सबै भ्रातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका कार्यकर्ताहरूलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।
पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गरेको राप्रपाले जनाएको छ । भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रम ०८० मंसिर १५ गतेसम्मका लागि स्थगित गरेको छ । बैठकले उद्धार, खोजतलासका कार्य गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच