वृद्ध अवस्था, शल्यक्रिया र परामर्श

हिमालय टाइम्स
Read Time = 11 mins

✍️ प्रा.डा. अर्जुनदेव भट्ट

भदौ १८ गते प्रकाशित अंकबाट क्रमशः

पोषण र त्यसको महत्व
६५ वर्ष नाघेका बिरामीहरूको पोषणको अवस्था कस्तो छ ? भन्ने कुरा शल्यक्रिया गर्नुअघि थाहा पाउनुपर्दछ । मोटोपन र दुब्लोपनले पनि शल्यक्रियाको नतिजामा असर पार्न सक्दछ । त्यसैले वृद्ध अवस्थामा शरीरको तौल आफ्नो उचाइसँग मेल खाने राख्नु र शरीरको बीच भागमा आवश्यकता भन्दा बढी बोसो एकत्रित हुन नदिनु सबैको निम्ति स्वस्थकर हुन्छ ।

मोटोपनले मुटुलाई कमजोर पार्नुका साथै हड्डीहरूलाई र खास गरेर जोर्नीहरूमा नराम्रो असर पार्दछ । मोटो पार्दछ । मोटो व्यक्तिको घाउ निको हुनुमा बढी समस्या आउन सक्छ भने मधुमेह, उच्च रक्तचाप, जोर्नी दुख्ने व्यथाजस्ता रोगहरू हुने सम्भावना धेरै बनाउँछ । ज्यादै कम तौल हुनेहरूको कुपोषणले गर्दा शरीरको संक्रमणसँग लड्न सक्ने क्षमतामा ह्रास आउँछ । उनीहरूको खानामा पनि रुचि ज्यादै कम हुनसक्दछ र फलस्वरूप उनीहरू भिटामिन, प्रोटिन, लवण र अरू शरीरलाई नभई नहुने कुरा प्रत्येक दिन कम उपलब्ध गर्दछन् ।

केही वृद्ध व्यक्तिहरूमा शारीरिक क्षीणता नै देखापर्न सक्दछ । यो यस्तो अवस्था हो, जब शरीरमा जपटल रासायनिक तत्वको टुक्रिने प्रथा ऊर्जा उत्पादन गर्दै शरीरको तौल (खास गरेर मांसपेशीको ह्रासद्वारा) कम हुँदै जान्छ । बिरामीलाई खाने रुचि विल्कुलै हुँदैन र कमजोरी चरम सीमामा पुग्दछ । यस्तो अवस्थामा शरीरमा रगतको मात्रा कम हुन्छ र शरीरको संरचना गर्न प्रयोग हुने प्रोटिन र एल्बुमिनको मात्रा रगतमा ज्यादै घटेर आउँछ ।

६५ वर्षमाथि उमेर भएका नागरिकहरूको संख्या दिनप्रतिदिन बढ्दै छ । उमेरले स्वास्थ्यमा पर्ने असरसँगै विभिन्न उपार्जित रोगहरूले सम्पूर्ण शरीरमा नराम्रो छाप पार्ने गर्दछ । अतः विभिन्न बाध्यतावश बाँकी जीवन विनाकष्टकारी र सुखी बनाउन शल्यविधि अपनाएर यो उमेरमा थुप्रै रोगहरूको उपचार गर्नुपर्ने हुन्छ ।

विडम्बना के छ भने यस्तो जटिल अवस्थाको कुपोषणयुक्त शरीरलाई छोटो समयको पोषणबाट पूर्वावस्थामा ल्याउन सकिन्न । त्यसमाथि झनै वृद्ध व्यक्तिलाई अनियन्त्रित पीडाले हैरानी गरेको छ, रक्तअल्पता विद्यमान छ र अनिद्राले रातदिन बिताउनुपर्ने अवस्था छ भने जीर्ण कुपोणले शारीरिक क्षीणताको वृद्धि गराउँछ । जीउ कमजोरी भएका तर शल्यक्रिया नगरी नहुने वृद्ध व्यक्तिहरूलाई कसरी कुपोषणबाट बचाउने ? त्यो ठूलो चुनौतीको विषय मान्नुपर्ने हुन्छ ।

हाल शल्यक्रिया भएपछि धेरै समय भोजन गर्न नहुने भन्ने सिद्धान्त हटिसकेको छ । बिरामीले रुचिनुसार प्रायः नरम खानाको रूपमा कम चिल्लो हालेर विभिन्न पौष्टिक आहार खान सक्दछन् । मुख्य कुरा खाना बिरामीलाई मनपर्ने सजिलै पच्ने र उसको शरीरलाई ऊर्जा थप्ने हुनुपर्दछ । त्यसबाहेक खाना ठूलो परिणाममा दिनको दुई–तीन पल्ट दिनुको सट्टा थोरै थोरै धेरैपटक खुवाउनु बढी फलदायी हुन्छ ।

शल्यत्रियापछिको अनुगमन
वृद्धावस्थामा शल्यक्रिया गराएपछि बिरामीहरूको अनुगमन झनै ठूलो महत्व हुन्छ । शल्यक्रिायाले बिरामीलाई कति सजिलो पा¥यो, त्यो बिरामीले आशा गरेमुताविक छ कि, त्यसमा केही नपुग भएको उसलाई अनुभव भएको छ ? त्यो प्रष्टसँग चिकित्सिकसँग छलफल गरेर बिरामी र उसका नजिकका सहयोगीहरूको निम्ति प्रोष्टोट ग्रन्थिको शल्यक्रियापछि करिब एक महिनामा एकजना ८० वर्षको वृद्ध व्यक्तिले के अनुभव गर्दछ ? भन्ने जानकारी लिनुपर्दछ ।

सामान्यतया हाल प्रोष्टेट ग्रन्थिको शल्यक्रिया ज्यादै नै उच्च प्रविधिको औजार प्रयोगबाट गरिन्छ । मूत्रनलीबाट दूरबिनयुक्त औजार प्रोष्टेट र मूत्रथैलीसम्म पु¥याएर सानोसानो टुक्रा गरेर प्रायः सम्पूर्ण बढेको र पिसाबको नलीलाई अवरोध गर्ने ग्रन्थिको भाग खुर्किने गरिन्छ । यो शल्यक्रिया कम्मरमा नदुख्ने सुई दिएर कम्मरमुनि पूरै लाटो पारेर तर बिरामीलाई चेत अवस्थामै राखी टेलिभिजनमा सम्पूर्ण शल्यक्रिया देउखाँदै गरिन्छ ।

एक महिनापछि खुर्केको ग्रन्थिको धेरै भागमा घाउ हुँदैन । तर, पनि पूर्णमात्रामा घाउ सतप्रतिशत निको हुन ४५ दिन (डेढ महिना) लाग्दछ । त्यसैले यस्तो बिरमीको दिसा ज्यादै गोटा परे वा दिसा बस्दा धेरै बल गर्नुपर्ने भए पिसाबमा रगत जान सक्दछ । त्यसैले दिसा राम्रोसँग नकनेर सजिलैसँग होस् भनेर बिरामीले प्रयत्न गर्नुपर्दछ ।

पिसाब गर्दा केही पोलेको जस्तो अनुभव भए त्यो स्वभाविक मान्नुपर्दछ । तर, पिसाब ज्यादै पोल्ने, छिनछिनमै पिसाब भइराख्ने, जाडो भएर ज्वरो आउने र कमजोरीले निकै गलाएको खण्डमा पिसाबको संक्रमण भएको शंका गर्दै पिसाब प्रयोगशालामा साधारण जाँच र संक्रमण उमारेर हेर्न लगाउनुपर्छ । जाँचको नतिजाअनुसार बिरामीलाई कुनै औषधिले राम्रो काम गर्दछ ? त्यसको अध्ययन गरी औषधि सुचारु गर्नुपर्दछ । राति दुई–तीन पल्ट पिसाब भइरहने भए त्यसलाई सामान्य लिन सकिन्छ तर घण्टा–घण्टामै राति उठनुपरे त्यसको कारणबारे अध्ययन गरेर उपचार गर्नुपर्दछ ।

प्रोष्टेट ग्रन्थि शल्यक्रियाको मुख्य उद्देश्य मूत्र अवरोध हटाएर पिसाब निस्कन सजिलो पार्नु हो । शल्यक्रिया अगावै यदि वृद्ध व्यक्तिको पिसाबको थैलीको मांसपेशीमा ज्यादै कमजोरी भएको छ भने (जो प्रायः मधुमेह हुने, कम्मर दुख्ने र ढाडबाट मूत्रथैलीमा जाने नसाहरूमा खराबी भएकाहरूमा र ज्यादै ढिलो शल्यक्रिया गराउनेहरूमा देखापर्दछ) त्यस्ता बिरामीहरूको पिसाबको धारा शल्यक्रियापछि पनि ज्यादै राम्रो नहुने गर्दछ र केही हदसम्म कनेर पिसाब निखार्न पटकपटक प्रयत्न गर्नुपर्दछ ।

निचोड
६५ वर्षमाथि उमेर भएका नागरिकहरूको संख्या दिनप्रतिदिन बढ्दै छ । उमेरले स्वास्थ्यमा पर्ने असरसँगै विभिन्न उपार्जित रोगहरू (उच्च रक्तचाप, मधुमेह, जोर्नी दुख्ने समस्या, हड्डीको रोगहरू, नसाको दुर्बलता, आँखा कानको शक्तिमा कमी, कब्जियत, स्मरणशक्तिमा ह्रास, मानसिक असन्तुलन इत्यादि)ले सम्पूर्ण शरीरमा नराम्रो छाप पार्ने गर्दछ । अतः विभिन्न बाध्यतावश बाँकी जीवन विनाकष्टकारी र सुखी बनाउन शल्यविधि अपनाएर यो उमेरमा थुप्रै रोगहरूको उपचार गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा चिकित्सा विज्ञानले गरेको चमत्कारिक विकासले गर्दा शल्यविधिको उपचारपछि ज्यादै ठूलो संख्याका बिरामीहरूले आफ्नो जीवन निकै सिजलो र सुखी भएको अनुभव गरेका छन् । तसर्थः शल्यक्रियाको त्रास, एकमुष्ट अर्थ लगानीको औचित्यता र सम्भाव्य फाइदा र अपेक्षामा ठूला असमानता नहोस् भन्न शल्यक्रियाअघि बिरामी, बिरामीका सहयोगीहरू र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरूबीच परामर्श, स्पष्ट वादविवाद र समझदारीको ठूलो आवश्यकता हुन्छ । (वरिष्ठ युरोलोजिस्ट प्रा.डा.भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

https://ehimalayatimes.com/2022/09/41490/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?