कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका पुग्नुभएका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई गाउँको विकासका लागि बजेट विनियोजन गर्न स्थानीयले माग गरेका छन् । स्थानीय सरकारका प्रतिनिधिबाहेक अन्य सांसद र मन्त्रीहरू विरलै पुग्ने नरहरिनाथ गाउँपालिकामा पुगेर मन्त्री सिंहले स्थानीयसँग भलाकुसारी पनि गर्नुभयो । स्थानीयका समस्या क्रमशः सुन्ने र समाधान गर्न पहल गर्ने आश्वासन पनि दिनुभयो । स्थानीयले आफ्ना समस्या राखे, गुनासो गरे । गाउँमै प्रदेश सरकार पुगेको महसुस पनि गरे ।
पहिलोपटक मन्त्री गाउँमा पुगेपछि स्थानीयले गाउँको विकासका लागि प्रदेश सरकारले आवश्यकताअनुसार बजेट विनियोजन गर्न नसकेको गुनासो गरे । ‘मन्त्रीज्यूलाई हामीले पहिलोपटक गाउँमा भेट्न पाएका छौँ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्तोष महताराले भन्नुभयो, ‘यहाँका समस्याहरूबारे जानकारी लिएर समस्या समाधानका लागि मन्त्रीज्यूले पहल गर्नुहुनेछ ।’
नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिकाका सभापति रामबहादुर बटालाले सुनथराली विमानस्थल सञ्चालनका लागि पहल गर्न, पालिकाका सबै वडामा सडक सञ्जाल पु¥याउन, खानेपानी, सडक, विद्युत्, सिंँचाइ, शिक्षा र स्वास्थ्यका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्तिको व्यवस्था गरिदिन माग गर्नुभयो । ‘गाउँमा थुप्रै समस्याहरू छन्,’ उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले यहाँको भुगोलअनुसार योजनामा बजेटका लागि आग्रह गर्दछौँ ।’ कतिपय बस्तीमा खानेपानी समस्या रहेको, अधिकांश वडाहरू विद्युत्को उज्यालोबाट वञ्चित रहेका, सिंँचाइको अभावलगायतका समस्या रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र कुमालगाउँमा मन्त्री सिंहलाई स्थानीयले पहिले फूलमाला लगाएर भव्य स्वागत गरे । त्यसपछि सोधे, ‘लालीघाटदेखि पालिका केन्द्रसम्म जोड्ने सडकको अवस्था कहिले सुधार हुन्छ ? गाउँपालिकाका प्रायः सबै वडामा सोलारको उज्यालोमात्र छ, त्यो पनि मज्जाले घाम लाग्दामात्रै राती बल्छ,’ स्थानीय देवीराज उपाध्यायले भन्नुभयो, ‘बिजुली नहुँदा समस्यै समस्या छ, घाम नलागेपछि सोलार चार्ज नहुँदा यहाँको टेलिफोन सेवासमेत अवरुद्ध हुन्छ ।’ राजनीतिक दलका नेताहरू चुनावका समयमा गाउँमा आएर विभिन्न आश्वासनहरू बाँड्ने भए पनि चुनाव जितेर गएपछि गाउँमा नफर्किएको स्थानीयको गुनासो छ ।
स्थानीयको भव्य स्वागतसँगै गुनासो सुनेपछि मन्त्री सिंहले आफ्नो कार्यकालमा स्थानीय आवश्यकताअनुसार योजना र कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । सबै आवश्यकता एकैपटक पूरा गर्न नसकिने भए पनि प्राथमिकताका आधारमा क्रमशः पूरा गरिने उहाँको भनाइ छ । ‘कर्णालीका सबै ठाउँमा उस्तै खाले समस्या छन्,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको सीमित स्रोत साधनबाट एकैपटक पूरा गर्न सम्भव छैन, क्रमशः विकासले गति लिनेछ ।’
गाउँको विकासका लागि प्रदेश र केन्द्रबाट योजना बनाउन नहुने भन्दै आफू स्थानीय आवश्यकता बुझ्न गाउँ आएको उहाँले बताउनुभयो । ‘सुर्खेत र काठमाडांैबाट निर्माण भएका योजनाले गाउँका समस्या सम्बोधन गर्न सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘गाउँको वास्तविकता बुझ्न गाउँबाटै योजना छनोट गरिनुपर्दछ ।’ मन्त्री सिंहले सडकको स्तरोन्नति, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको समेत कार्यक्रममा बताउनुभयो ।
व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै उहाँले अब जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले योजना बनाउने जानकारी दिनुभयो । कर्णालीको विकासका लागि स्थानीय उत्पादनमा वृद्धि गरी त्यसको बजारीकरण गर्नुपर्नेमा मन्त्री सिंहको जोड छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच