पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका-७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल-जयराम सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमा रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

अवरुद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो ।

उक्त लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् । लगातारको वर्षासँगै झरेको पहिरोले हुर्लुङ-जालपा, साप्सु-पानधारेलगायत कच्ची सडक यसअघि नै बन्द भएका थिए ।

वर्षा सुरु भएसँगै आएको भेल तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाका सबै कच्ची ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवम् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् ।

हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा सडकको व्यवस्था भएपनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?