क्याम्पस संचालनका लागि १२ करोड संकलन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । पछिल्लो समय गाउँमा होस् या सहरमा सामुदायिक क्याम्पसहरु धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी तथा आर्थिक स्रोतको अभावमा सामुदायिक क्याम्पस संचालनमा समस्या छ । समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थीसमेत टिकाउनै मुस्किल छ । आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन भइरहेका छन् । विद्यार्थीलाई गाउँकै क्याम्पसमा आकर्षित गर्न र क्याम्पसको अवस्था सुधार गर्न गलकोटमा महायज्ञाबाट १२ करोड रुपैयाँ संकलन गरिएको छ ।

वि.सं. २०६१ सालमा धनधान्याञ्चल महायज्ञ संचालन गरेर स्थापना गरेको बागलुङको गलकोट बुहुमुखी क्याम्पसलाई समय सापेक्ष स्तरवृद्धि गर्न फागुन ६ देखि १३ गतेसम्म धान्याञ्चल लगाएर १२ करोड संकलन गरिएको हो । १९ वर्ष अगाडि धान्याञ्चल लगाएर एक करोड ७५ लाख संकलन गरी स्थापना गरिएको गलकोट बहुमुखी क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन धान्याञ्चल लगाइएको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले बताउनुभयो ।

क्याम्पस स्थपान गर्दा धन्याञ्चलको रकमबाट जग्गा खरिद गरेर भवन निर्माणपछि क्याम्पस सञ्चालन गरिएको उहाँको भनाइ छ । उक्त संकलन गरिएको रकम सकिएपछि आर्थिक अभावका कारण बन्द हुन थालेको क्याम्पसलाई वि.सं. २०७३ सालदेखि गलकोट नगरपालिकाले वार्षिक १० लाख उपलबध गराउदै आएको क्याम्पस प्रमुख भण्डारीले बताउनुहुन्छ । महायज्ञमा धेरै दाताहरुले भेटी चढाउनुका साथै मन फुकाएर सहयोग गरेको उहाँको भनाइ छ । महायज्ञबाट संकलन भएको रकमले क्याम्पसको जग्गा व्यवस्थापन गरि संरचना निर्माण गरेर गरिब विपन्न विद्यार्थी तथा पढ्नबाट वञ्चित भएकाहरुलाई आवासीय सुविधा दिएर पढाउने र विशेष छात्रवृत्तिको व्यवस्था गर्ने क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।

“क्याम्पस सञ्चालनका लागि आर्थिक समस्या पर्‍यो, धान्याञ्चल महायज्ञ लगाएर संकलन गरेको रकमले स्थापना गरेको क्याम्पस अहिले पुन आर्थिक संकटमा परेपछि विद्यार्थीको आकर्षण पनि कम हुँदै गयो, त्यसले गर्दा अहिले महायज्ञ संचालन गरेर क्याम्पसलाई आर्थिक रुपमा मजबुत बनाउने र विद्यार्थी आकर्षित गर्ने गरि शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य छ” भण्डारीले भन्नुभयो “अब कोही पनि विद्यार्थी आर्थिक अवस्था कमजोर रहेका पढ्नबाट वञ्चित नहोस् भन्ने हिसाबले महायज्ञ संचालन गर्‍यो सहयोग राम्रै प्राप्त भयो ।”

क्याम्पसमा हाल व्यवस्थापन र शिक्षाशास्त्र संकायमा अध्यापन भइरहेको छ । क्याम्पसलाई स्तरवृद्धि गरी बढ्दो विद्यार्थी पलायनलाई घटाउनका लागि बिएससी एजी, बिआइटी, बिएचएम, बिबिए सहित स्नातकोत्तर अध्यापन गराउने लक्ष्यसहित शैक्षिक ज्ञान महायज्ञ आयोजना गरिएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । उहाँले महायज्ञबाट २० करोड रकम संकलन गर्ने लक्ष्य राखे पनि आर्थिक मन्दिका कारण १२ करोड मात्रै संकलन गर्न सकिएको बताउनुभयो । अब क्याम्पसलाई प्रबिधिमैत्री बनाउनुका साथै बाहिर गएर पढ्ने विद्यार्थी यही आकर्षित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो - “हामीहरुले देश विदेशबाट २० करोड रुपैयाँ संकलन गर्न सक्छौ भन्ने लागेको थियो, अहिले सबै तिर आर्थिक मन्दी भयो, विदेशबाट पनि सोचे अनुसारको सहयोग प्राप्त हुन सकेन, यद्यपी धेरै सहयोगी मनहरुले महायज्ञमा आएर सहयोग गर्नुभयो, अब नयाँ विषयमा अध्यापन गराउन टेवा पुग्ने छ ।” हाल क्याम्पसमा २९० विद्यार्थी अध्ययनरत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?