हिजो सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीपानी वितरणको शुभारम्भ गर्नुभयो । यसरी राजधानीमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको पाँचौं पटक हो । यसअघि चार पटक यसरी नै पानी वितरण गरिएको भए पनि त्यसले स्थायित्व पाउन सकेको थिएन । कहिले राजनीतिक कारणले ढिलासुस्ती हुने गरेको थियो भने कहिले प्राकृतिक कारणले समेत त्यसैमा प्रहार गरेपछि पानी वितरणको कार्य पटक-पटक अवरुद्ध हुँदै आएको थियो । वास्तवमा यो योजना एउटा ठूलो र महत्वाकांक्षी योजनामध्येको एक हो । काठमाडौं उपत्यकामा परम्परागत पानीका स्रोतहरू मासिँदै गएका र बसोवास गर्ने मानिसहरूको संख्या अत्यधिक वृद्धि भएपछि यहाँ पानी अपुग हुन थालेको थियो । पानीविना मानिसको जीवन चल्नै सक्दैन । त्यसकारण पानीलाई जीवन हो भन्ने गरिन्छ ।
काठमाडौं उपत्यकामा पानीको कमी भइरहेको समयमा २०४६ सालको अन्त्यमा प्रजातन्त्रको पुनस्र्थापना हुनपुगेको थियो । त्यही बेला मेलम्ची पानीको आयोजनाको चर्चा भयो । यस अर्थमा प्रजातन्त्रसँग यस योजनाको नाता जोडिन पुग्यो । प्रजातन्त्र आउनासाथ सबैभन्दा पहिले यही योजनाको घोषणा हुन पुगेकाले यसको सम्बन्ध प्रजातन्त्र र प्रजातान्त्रिक राजनेताहरूसँग जोडिन पुग्यो । पहिलो चरणमा निःस्वार्थ रूपमा प्रवेश पायो र थालनी गरियो । सन्त राजनेता कृष्णप्रसाद भट्टराईसँग यसको सम्बन्ध स्थापना हुन पुग्यो । किनकि उहाँले नै यस योजनाबारे सबैभन्दा पहिले घोषणा गर्नुभएको थियो ।
खुलामञ्चको विशाल आमसभाबीच उहाँले भन्नुभएको थियो : अब प्रजातन्त्र आएको छ, देश विकास पनि हुनसक्छ । विदेशीहरूले हामीलाई सहयोग गर्न चाहिरहेका छन् । मेलम्ची खानेपानी योजनाको त घोषणा भइसकेको छ । त्यहाँको पानी यहाँ आएपछि खानेपानीको अभाव हुनेछैन । पिउनमात्रै होइन सडक पखाल्नसमेत पुग्छ । उहाँको यो भनाई कतिको स्मृतिमा छ थाहा छैन तर उहाँको यो आग्रह र जानकारी कार्यान्वयन गर्ने विषय भने अनेक पटक अवरुद्ध हुँदै आएको छ । यथार्थमा जहिले पूरा भए पनि यस योजनाको जस उहाँलाई नै दिनुपर्छ तर अरूका कमजोरी खोज्ने छिद्रान्वेसीहरूले यस योजनाको ढिलासुस्तीसँग उहाँको नाम जोडेर जसको सट्टा अपजसमात्रै उहाँमाथि थोपर्ने गरेका छन् । भट्टराई त सत्तामा धेरै समय बस्नै पाउनुभएन उहाँलाई असफल बनाएर आफू सधैं सत्तामा रहिरहेकाहरूले यस योजनालाई सकेसम्म लम्ब्याउने काम गरे र पटक-पटक दोहन गरेर आफ्नो र आफ्नाहरूको पक्षपोषण गरिरहे ।
यसमा कुनै एउटा दलमात्रै दोषी र अर्को चाहिँ पानीमाथिको ओभानो छ भन्ने होइन । जो जे-जसरी सत्तामा पुगे तिनले आफ्नो क्षमताले त्यस योजनालाई जति सक्यो त्यत्ति दोहन गर्ने काम गरिनै रहेका छन् । बीच-बीचमा विभिन्न देशका ठेकदार काम छोडेर पलायन भए । पटक-पटक काम अवरुद्ध भइरहृयो । समय लम्बिनाले निर्माण लागत बढ्न पुग्यो । हुँदाहुँदै मेलम्ची खानेपानी आयोजना असम्भव सपनामा परिणत हुँदै गएको अवस्थामा केही वर्ष पहिले त्यहाँको पानी बागमती नदीमा खसाल्ने काम भयो । सुन्दरी जलजलाशयबाट उपत्यकामा खानेपानी वितरण गरिरहेको पानीमै मिसाएर उपत्यकावासीलाई वितरण गर्ने काम सीमित रूपमा भएको थियो ।
यस पानीको आपूर्तिका लागि पाइप बिछ्याउने काम पनि उपत्यकाको अधिकांश ठाउँमा भएको थियो र केही ठाउँमा काम भइरहेको छ । जता-जता पानीको बढी अभाव छ त्यतातिर आपूर्ति गर्दै गरिएको अवस्थामा राजनीतिक मार खेपिरहेको मेलम्ची खानेपानी योजनाले प्राकृतिक प्रहारसमेत भोग्नु पर्यो । विशाल बाढीपहिरोले योजनास्थलमा पुनर्निर्माण गर्नै नसक्ने गरी क्षति पुर्याएको भनिए तापनि मर्मतसंभारपछि पुनः पानी वितरण गर्न सुरु गरिएकोमा मुहानमा थुप्रिएको गेग्य्रान हटाउन वितरण हुँदै आएको पानी गत सात महिनादेखि बन्द गरिएको थियो । हाल पानी वितरणको कार्यलाई पुनः निरन्तरता दिइएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाट पानी वितरण कार्यको शुभारम्भ गरेपछि केही उपत्यकावासीका घरमा पुग्न थालेको छ । पहिले सबैतिर पानी पुर्याउन सम्भव नभएकाले उपलब्धता र उपभोक्ताको आवश्यकताका आधारमा क्रमशः पानी पुर्याउने प्रयास गर्ने भनिएको छ । बानेश्वर, मीनभवन क्षेत्र पानी वितरणको प्राथमिकतामा परेको छ र त्यसपछिमात्र अन्य क्षेत्रमा पठाउने भनिएको छ । प्रयासका लागि सरकार धन्यवादको पात्र त छँदैछ तर राष्ट्रमा विभिन्न विकास निर्माणका काम गर्नु, जनताका आधारभूत आवश्यकताको पहिचान गरी परिपूर्तिको प्रयास गर्नु सरकारको दायित्व हो र सरकारले त्यही दायित्व पूरा गरेको छ । तथापि यसलाई एउटा ठूलो उपलब्धिका रूपमै लिँदै गर्दा के बिर्सनु हुँदैन भने मेलम्ची पानी वितरणको यो पाँचौं शुभारम्भ हो । यसको स्थायित्वमा आशंका हुनु स्वाभाविक हुनजान्छ । शुभारम्भका साथसाथै सरकारले यसको स्थायित्वतर्फ सोच्नु आवश्यक छ । अन्यथा वीरबलको खिचडी कथासँग मेलम्ची पनि जोडिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच