✍️डा. माधव अधिकारी
ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिकस्थल लिगलिगकोट गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा–२ मा अवस्थित छ । यो स्थल समुद्री सतहदेखि चौध सय सैतीस मिटर उचाइमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३९ कोटहरू छन् त्यसमध्ये लिगलिगकोट एक हो । कोटमार्गको अजिरकोट, लिगलिगकोट, सिरानचोककोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । आजभन्दा ४६४ वर्षअघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षका लागि राजा हुने परम्परा थियो । यहाँ राजा हुने प्रक्रिया विश्वकै नौलो र ऐतिहासिक थियो । यसलाई विश्वको पहिलो नमुना लोकतान्त्रिक शासन व्यवस्थाका रूपमा लिन सकिन्छ । यस्तो ऐतिहासिक शासन व्यवस्था द्रव्य शाहको उदयपश्चात अन्त भएको पाइन्छ ।
लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ मगर भाषामा प्रष्ट, सफा, छ्याङ्ग देखिनु हो साथै रमाईलो दश्यवलोकन देखिनु पनि हो । युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङ शब्द अपभ्रंश भएर बनेको जानकारहरूको भनाइ छ । यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाँबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुँदा, यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्नथालिएको हुनसक्ने इतिहासकार तथा स्थानीय बासिन्दाको भनाइ छ ।
खस राज्य स्थापना हुनुअघि लिगलिगलगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधिनमा थियो, त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाटै भएको पाइन्छ । मस्र्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ, खोप्लाङलगायत नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरूको भनाइ छ ।
द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए । राजा यशोब्रहृम शाहका कान्छा छोराको रूपमा जन्मिए पनि आफ्नो चतुर्याइँका कारण यिनी राजा बन्न सफल भए । नेपाल एकीकरणको सुरुवातकर्ता मानिएका द्रव्य शाह लिगलिगकोट, बारपाकलगायत राज्यहरू विजयी गरेको पाइन्छ ।
प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्लपछि, तत्कालीन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीनपटक हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । विसं १६०३ मा मुकुन्द सेनको राजगाज त्यागपछि उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए । त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बारपाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरूमध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो जुन दौडबाट राजा छान्ने परम्परा थियो ।
प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मूल दरबारबाट करिब १३.८ किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षका लागि लिगलिगकोटको राजा हुने प्रचलन थियो । जसनुसार प्रायः मगरहरू राजा हुने गर्थे । सोही परम्परानुसार विजया दशमीको दिनको उक्त दौडको तयारीको क्रममा जुटेका मगरहरू भुसुण्डेखोलाको शिवालय मन्दिरमा भेला भई खानपिन गरी मसलमा तेल लगाई मालिस गरी रहेका अवसर छोपी खड्का मगर राजाका भाइभारदारले लमजुङबाट द्रव्य शाहलाई छोप्राक गाउँमा ल्याई राखी हर्मी भञ्ज्याङ आँपपिपल हुँदै लिगलिगकोट गद्दीमा राखी कटुवालद्वारा उर्दी गर्न लगाई विजय भएको घोषणा गरेको किम्वदन्ती छ ।
द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए । राजा यशोब्रहृम शाहका कान्छा छोराको रूपमा जन्मिए पनि आफ्नो चतुर्याईंका कारण यिनी राजा बन्न सफल भए । नेपाल एकीकरणको सुरुवातकर्ता मानिएका द्रव्य शाह लिगलिगकोट, बारपाक लगायतका राज्यहरू विजयी गरेको पाइन्छ । यशोब्रहृम शाहपछि जेठा छोरा नरहरि शाह लमजुङको गद्दीमा बसे । कान्छा छोरा द्रव्य शाह ज्यादै महत्वाकांक्षी भएकाले आफू पनि राजा बन्न चाहन्थे । त्यस समय लमजुङ र गोरखाबीचमा घलेहरूले शासन गरिएको लिगलिगकोट नामक सानो राज्य थियो । लिगलिगकोटको राजा छान्ने परम्परानुसार प्रत्येक वर्ष विजयादशमीको दिन दौडको आयोजना गरिन्थ्यो र दौड सुरु भएपछि लिगलिगकोटमा सबैभन्दा पहिले पुग्ने व्यक्तिलाई त्यसै दिनदेखि एक वर्षका लागि राजा मानिन्थ्यो । अर्को विजयादशमीको दिन पुनः दौड गराई नयाँ राजाको छनोट गरिन्थ्यो ।
यही परम्परा अनुसार विसं १६१५ को विजयादशमीको दिन सम्पूर्ण लिगलिगे भाइभारदार तथा प्रजाहरू राजा छान्न दौड प्रतियोगितामा व्यस्त रहेको मौका परेर लमजुंगका द्रव्य शाहले लिगलिगकोटमाथि अचानक आक्रमण गरे । लिगलिगेहरूले द्रव्य शाहलाई परास्त गर्न नसकेकाले द्रव्य शाह सजिलै लिगलिगकोटको राजा बने । गोरखा राज्यमा मतवाली खड्का मगर थरका राजा मानसिंह खड्का मगरले राज्य गर्दथे तर उनलाई प्रजाहरूले मन पराउँदैनथे । गोरखाका शक्तिशाली भारदारहरू पनि राजासँग सन्तुष्ट थिएनन् । उनीहरू खड्का राजाको सट्टामा अन्य योग्य व्यक्तिलाई राजा बनाउन चाहन्थे भने द्रव्य शाह पनि गोरखाका राजा बन्न ज्यादै प्रयत्नशील थिए । यस्तो परिस्थितिमा दुवै पक्षको स्वार्थ मिलेका हुनाले गोरखामाथी आक्रमण गरी त्यहाँका राजालाई पराजित गर्ने सरसल्लाह गर्न थाले ।
द्रव्य शाहले सर्वप्रथम गोरखाका जनताहरूलाई आफ्नो समर्थक बनाएपछि विसं १६१६ को भदौमा आफ्ना सहयोगीका साथ लिगलिगकोटबाट गोरखामाथि आक्रमण गरे । लगातार १५ दिनसम्म युद्ध भयो तर द्रव्य शाहले विजय प्राप्त गर्न सकेनन् तर उनी निराश भने भएनन् । अर्कोपटक पुनः आक्रमण गर्न गोर्खाली भारदार तथा प्रजाहरूले द्रव्य शाहलाई तल्लो कोटमा लुकाई खड्का राजालाई आत्मसमर्पण गराउने प्रयास गरे तर सफल भएनन् । त्यसै राति आक्रमणका लागि उपयुक्त साइत जुरेको हुनाले द्रव्य शाहको समूहले अचानक आक्रमण गर्यो । द्रव्य शाहको हातबाट खड्का राजा मारिएकाले गोरखा राज्यमाथि विजय प्राप्त भयो । यसरी द्रव्य शाहले गोरखा राज्य स्थापना गरेको इतिहास छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीयस्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ ।
द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इष्र्या भयो । उनले ‘भाइ द्रव्य शाहले मेरै सरदारको रूपमा गोरखा विजय गरेकाले गोरखामाथि लमजुङकै अधिकार हुन्छ’ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्नेलगायत योजना बनाई पटक पटक प्रयास गर्यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । दुई भाइबीच झगडा भएपछि दुवै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ ।
यसै सिलसिलामा गोरखा जिल्लामा ३९ वटा कोटमध्ये एक महत्वपूर्ण लिगलिगकोट हो । विसं १६१५ अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षका लागि राजा हुने परम्परा भएको पाइन्छ । लिगलिगकोटमा राजा हुने प्रक्रिया विश्वकै नौलो र ऐतिहासिक थियो । यसलाई विश्वको पहिलो नमूना लोकतान्त्रिक शासन व्यवस्थाको रूपमा लिन सकिन्छ । यस्तो ऐतिहासिक शासन व्यवस्था द्रव्य शाहको उदयसँगै बन्द भयो र शाह वंशको बिदाइपश्चात ४९२ वर्षपछि २०६७ सालपछि पुनः सुरु भएको पाइन्छ ।
सो अनुसार बडादशैँ नौरथामध्ये पञ्चमीको दिन चेपेघाटबाट लिगलिगकोट सम्म १३.८ कि.मिको दूरी दौड गरी सो दौडमा जसले प्रथम स्थान प्राप्त गर्छ, उसलाई त्यसबेलाको विशेष पहिरन (गादा) लगाई, बरमाला, नगद पुरस्कार, पदकले सुशोभित गरी श्रीपेच लगाई नगर तथा लिगलिगकोट घुमाई सो दिनदेखि भोलिपल्ट बिहानसम्मको राजा बनाई लिगलिगकोट दरबारमा राख्ने प्रचलन छ । २०७७, २०७८ सालमा कोभिडको कारणले र २०७९ सालमा अन्य कारणले सो कार्य हुन नसकेको र पुनः २०८० मासो प्रथाले निरन्तरता पाई सम्पन्न भएको पाइन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीयस्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस लिगलिगकोटलगायत देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने संभावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियानुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच