काठमाडौं । दिगो पूर्वाधारमा साझेदारी भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने ४६औँ इफाप्का सम्मेलनको तयारी पूरा भएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीको छाता संस्था इफाप्काको ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । इफाप्का अध्यक्षसमेत रहनुभएका महासंघ अध्यक्ष रवि सिंहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभएको हो । मंसिर ५ गतेदेखि सुरु हुने सम्मेलन ९ गतेसम्म चल्नेछ भने सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने बताइएको छ । इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ ।
सम्मेलनमा विदेशका दुई सय ४२ सहित पाँच सयभन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष सिंहले बताउनुभयो । सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको महासंघले जनाएको छ । हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६औँ इफाप्का सम्मेलन महत्वपूर्ण हुने महासंघ अध्यक्ष सिंहले दाबी गर्नुभएको छ । जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाहृय पर्यटनको विस्तारका लागिसमेत सम्मेलन फलदायी हुने उहाँको भनाइ छ । काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा हुने सिंहले बताउनुभएको छ । सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि रजिष्ट्रेसन मंसिर ४ देखि ६ गतेसम्म तोकिएको छ ।
महासंघका अनुसार ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्युटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ । मंसिर ६ मा जनरल एसेम्बलीसहित विभिन्न कमिटी बैठक आयोजना हुनेछ । सोही दिन सम्मेलनका केही सहभागी वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जिक्युटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिडर्स कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।
महासंघका अनुसार मंसिर ७ गोकर्ण गल्फ मैदानमा एफक्यान(इफाप्का गल्फ प्रतियोगिता गरिने र मंसिर ८ गते नयाँ कार्यसमिति चयन गरी उक्त कार्यसमितिको एक्जिक्युटिभ बोर्ड मिटिङ र केही सहभागीका लागि भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण कार्यक्रम राखिएको छ । पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार एवं इफाप्का महासचिव वीरेन्द्रराज पाण्डे, महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, प्रवक्ता शिवहरि घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच