छठ पर्वको आज दोस्रो दिन : खरनाको तयारीमा व्रतालु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । हिजो शुक्रबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् ।

यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

यसैबीच, छठीमाताको पूजाका लागि सर्लाहीमा छठीघाट (पूजास्थल) निर्माण कार्य पूरा भएको छ । जिल्लाभर पोखरी, खोला, नदी र नहर किनारमा सरसफाई गरी छठीघाट तयार पारिएको हो । छठीघाटमा बाँस गाडेर शीत छेक्न टेन्ट लगाइएको छ । कतिपय स्थानमा कृत्रिम पोखरी निर्माण गरेर छठीघाट तयार पारिएको स्थानीयले बताएका छन् ।

व्रतालुले छठका लागि आवश्यक पर्ने सरसामग्री किनिसकेका छन् । बजारमा छठका लागि प्रयोग हुने बाँसबाट बनेका विभिन्न सामग्री, माटाका भाँडासहित केरा, पानी भएको नरिवल, पान, भान्टा, मुला, अदुवा, उखुलगायत फलफूल र हरियो तरकारीको व्यापार बढेको छ ।

छठीमातालाई चढाइने विभिन्न परिकार समेत तयार पारिएको व्रतालुले बताएका छन् । अहिले छठ पर्व मनाउनका लागि रोजगारी तथा अध्ययनको सिलसिलामा सङ्घीय राजधानी काठमाडौंसहित विभिन्न स्थानमा पुगेकाहरु घर गाउँ फर्किएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?