✍️ केशवराज काफ्ले
प्राविधिक शिक्षालय, जहाँ कृषि विषय पढाइ हुन्छ, त्यहाँ प्रांगारिक मलको महत्व हुन्छ । स्कुलका विद्यार्थीबाट उपलब्ध हुने पिसाब उचित ढंगबाट संकलन र मिश्रण गरी बिरुवामा प्रयोग गर्न सकेमा विद्यार्थीहरू पढेर गएपछि कृषि फार्म वा आफ्नो घरमा गई अनुशरण गरी देशमा प्रांगारिक मल आपूर्तिमा ठूलो टेवा पुग्नेछ । प्राविधिक शिक्षालय भनेको अनुसन्धान, शिक्षा र प्रसार थलो भएकाले यो प्रविधिको डेमो गर्न जरुरी देखिएको छ ।
यसको प्रयोग विधिपूर्वक गरेमा शिक्षालयमात्र नभई सार्वजनिक शौचालय, होटल रेष्टुरेण्ट आदि जहाँ मानिसको जमात भेला हुन्छ, त्यहाँ सबै ठाउँको पिसाब संकलन र प्रयोग गरी देशलाई मल अभाव टार्न ठूलो सहयोग हुनेछ । भनिन्छ, संसारमा कुनै पनि वस्तु नाश हुँदैन, केवल रूप परिवर्तन हुने हो । पिसाब विसर्जन गर्नासाथ त्यसमा पिसाबको माध्यमबाट निस्कने जीवित कोष रहेसम्म त्यसमा विभिन्न रोगजन्य वा हानिकारक जीवाणुहरू हुन सक्छन् तर समय क्रमसँगै ती जीव खान नपाएर मर्दै जान्छन् र रसायनमात्र रहन्छ, जुन बिरुवाको खाद्यतत्वका रूपमा प्रयोग गर्न सकिने जस्तै नाइट्रोजन, फसफोरस, पोटास अन्य सूक्ष्मतत्व पिसाबमा पाइने परीक्षणबाट पनि पुष्टि भएको छ । ताजा पिसाबभन्दा पुरानो पिसाबमा बिरुवाका लागि आवश्यक तत्व बढी पाइएको छ । पशुले जति पनि खानेकुरा खान्छन्, त्यसको २० प्रतिशतमात्र दूध तथा मासु बन्नमा खर्च हुन्छ भने ८० प्रतिशत तत्व पिसाब र दिसाबाट बाहिर निस्कन्छ । ८० प्रतिशतमध्ये ५२ प्रतिशतभन्दा बढी पिसाबबाट र २८ प्रतिशत गोबरबाट बाहिर निस्कन्छ । मानिसको पिसाब र दिसामा त्योभन्दा बढी पाइन्छ किनभने मानिसले पशुपन्छीभन्दा बढी तत्व भएको खानेकुरा खाएको हुन्छ । बाली बिरुवालाई चाहिने तत्व शौचालयबाट ढलमा फालिरहेका छौँ । शहरी क्षेत्रमा ढलको पानी हालेर तरकारी खेती गरेको पाइन्छ तर त्यो पानी हाल्नासाथ खाने गरेको जरे बाली मुला, गाजर, साग आदि फोहोर पानीले संक्रमित हुन सक्छ ।
दिसा र पिसाब वैज्ञानिक तवरले प्रशोधन गरी प्रयोग गर्न सकेमा बालीमा खाद्यतत्वको परिपूर्ति गर्न सकिन्छ । त्यस्तो तत्वलाई ह्रास हुन नदिई पुनः बाली बिरुवामा प्रयोग गर्न सके हामी रासायनिक मलको खोजीमा भौँतारिनुपर्दैन र रासायनिक मलकै लागि देशकोे ठूलो धनराशि बाहिर जानबाट जोगिई गाउँमै रहन्छ, आर्थिक संकटबाट मुक्त हुन केही हदसम्म सहयोग पुग्छ । मानव मूत्र संकलन, प्रशोधन र ब्राण्डिङ गरी विषादी तथा मल बिउ पसलमा रोग किरा व्यवस्थापनका लागि हानिकारक विषादी सट्टा पिसाब संकलन गरी खाद्यतत्वको मात्रासमेत उल्लेख गरी ब्राण्डिङ गरेर सबै मल तथा विषादी बिक्रेता तथा मल बिउ बिक्रेता पसलमा राख्ने व्यवस्था गर्न जरुरी छ ।
नेपालमा रासायनिक मल कारखाना स्थापना सहज छैन । जुन सरकार आए पनि मन्त्रीपद जोगाउन रासायनिक मल व्यवस्थापन नै प्रमुख रहने गरेको छ । रासायनिक मलका लागि वार्षिकरूपमा ३० अर्बभन्दा बढी अनुदान रकम राख्दा पनि पर्याप्त भएको छैन । उक्त रकमको केही हिस्सा मानव पिसाब संकलन र प्रयोगमा लगाउन सके देशलाई आर्थिक संकटबाट जोगाउन केही हदसम्म भए पनि सहयोग हुने थियो ।
शौचालय नै बन्न सक्छ मल कारखाना
हामीले सुन्ने गरेका छौँ कि विश्वका कुनै देशमा पिसाब गरेबापत पैसा पाइने वा खुला स्थानमा दिसा गर्दा दिसा गर्नासाथ अरू कोही आएर टिपेर लैजान्छन् । अहिले मूत्र संकलन गरेर बिरुवामा प्रयोग गरिँदै आएको छ, त्यसलाई अरू परिमार्जन र विकसित गरेर प्रत्येक घर, स्कुल र सार्वजनिक स्थलमा यस प्रकारको प्रविधि विकास गरी घर-घरमा, टोल-टोलमा, स्कुल-स्कुलमा, होटल तथा सार्वजनिक शौचालयमा प्रांगारिक मल उत्पादन कारखानाका रूपमा विकास गर्न सक्यो भने कृषकको बालीको उत्पादन बढी आर्थिकस्तर पनि सुदृढ हुन्छ ।
केही विकसित मुलुकमा गहुँको छ्वाली, पातपतिंगर गलाउन थुप्रोमा मानव मूत्र प्रयोग गरिएको पाइन्छ । यसका साथै नेपालका कृषकका लागि अभिसापका रूपमा रहेको वनमारा, निलो गन्धे संकलन गरी पिसाबले गलाई गुणस्तरीय कम्पोष्ट मल बनाउन सके नेपाली कृषकका लागि वरदान हुन सक्छ । पहाडी क्षेत्रमा सल्लोका पात पनि सजिलै नगल्ने भएकाले कृषकले यसलाई प्रयोग गर्न अप्ठ्यारो भएको छ भने अर्काेतर्फयसले माटोमा पार्ने नकारात्मक असर (अम्लीयपन) बढ्ने गर्छ । माटोमा चाँडो नगल्दा माटोमा बसेर बिरुवा नोक्सान गर्ने खुम्रे किरालगायतले बाली नोक्सानी गरेको अवस्थामा पिसाब र इएमको सहायताले गलाउन सके सल्लाको पात पहाडी कृषकका लागि वरदान साबित हुने थियो ।
गोबर ग्याँसमा पिसाब प्रयोग
मानव मूत्र प्रयोग गर्दा गोबर ग्याँसमा ग्याँस बढी आउने भएकाले कृषि विकास बैंकबाट सहुलियतरूपमा जडान गर्ने गोबर ग्याँसमा शौचालयको पाइप अनिवार्य जोड्नुपर्ने प्रावधान रहेको थियो । गोबर ग्याँसमा शौचालयको दिसा, पिसाब मिसाउँदा ग्याँस बढी आउने भएकाले नै यो नीति ल्याइएको थियो । गोबर ग्याँसमा एमोनिया ग्याँस उत्पादन हुन्छ, सोही ग्याँस बल्ने हो । त्यसैले प्रत्येक घरले पिसाब अलग गरी बिरुवामा प्रयोग गर्दा वा गोबर ग्याँसमा प्रयोग गर्दा पिसाबको सदुपयोगले एलपी ग्याँस वा रासायनिक मल आयातमा कमी आई देशको व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्नेछ भने अर्कातर्पm प्रांगारिक खेती विस्तारमा सहयोग पुग्नेछ ।
मानव मूत्र संकलन र प्रयोग विधि
हरेक शौचालयमा महिलाका लागि पिसाब गर्न शौचालयमा डिल र कुलेसो बनाउने र पुरुषका लागि युरिनल राख्ने वा शौचालय सफा गर्दा वा सफा गर्ने पानीमा इएम(इफेक्टिभ माइक्रो अर्गानिजम) जैविक पदार्थ प्रयोग गर्ने, जसले गर्दा पिसाब छिटो मलमा परिवर्तन हुन्छ । मंगलमा पिसाबमात्रै पठाउन पिभिसी जाली राख्ने र मंगलभन्दा पहिला एउटा सानो छ इन्च गहिरो सिमेन्टेड खाडल बनाउने । जहाँ शौचालयबाट आउन सक्ने कागज आदि त्यहीँ रोकिन्छ । सोही खाडलको थोरै माथिबाट शौचालय सफा गर्दा हर्पिकसमेत रोकिन्छ । हर्पिक बिरुवाका लागि हानिकारक हुन सक्छ, त्यस्ता पदार्थ मंगलमा जान रोक्न जालीमा कपडाले थुनेर, त्यहाँबाट एकछिन बाहिर पठाउन सकियोस् । युरिनल र कुलेसोबाट निस्केको पिसाब शौचालयबाहिर संकलनका लागि भित्री भाग एक फिट लम्बाइ, एक फिट चौडाइ र एक फिट गहिरो सिमेन्टेड मंगल बनाउने । मंगलको भित्री भागमा खोच बनाएर १४ इन्च लम्बाइ, चौडाइ भएको सानो ढकन राख्न मिल्ने बनाउने । मंगलको टपदेखि एक इन्च तलबाट एक इन्चको एचडी पाइपद्वारा मंगल भरिएपछिको पिसाब मंगलभन्दा तल राखिएका साना ५० लिटरका आवश्यकताअनुसारका संख्यामा चारवटाभन्दा बढी ड्रमहरू लाइन मिलाएर राख्ने ।
मंगलमा जोडिएको पाइपबाट हरेक ड्रममा अलग-अलग गरी पिसाब भर्न सानो स्केल तथा घरका लागि एउटा ड्रम भरिएपछि पाइप अर्कोमा सार्ने व्यवस्था गर्न आधा इन्चको तीनदेखि चार मिटरको गार्डेन पाइप जोड्ने । ठूलो स्केलमा गर्न एक इन्चको पिपिआर पाइप जोडेर सबै ड्रममा पुग्ने गरी पाइपको तलबाट एक बाई आधा इन्चको टिको सहायताले आधा इन्च पाइप जोडी पहिलो ड्रम भरिएपछि दोस्रो ड्रममा स्वचालितरूपमा जाने गरी ड्रम र पाइप जोड्न भित्र, बाहिर वासर भएको सिपिभिसी टंकी निपलको सहायताले जोड्ने । यसो गर्दा एउटा ट्ंयाकी भरिएपछि ओभर फ्लो नभई सो ट्यांकीमा पिसाब झर्न रोकिन्छ र अर्को ट्यांकीमा जाने हुन्छ । अथवा प्रत्येक ड्रममा जाने पाइपमा गेट भल्भ राखेर एउटा ड्रम भरिएपछि गेट भल्भ बन्द गरेर अर्कोमा पठाउन मिल्ने बनाउन पनि सकिन्छ । हरेक ड्रमको पिँधमा प्लाष्टिकको आधा इन्चको धाराको टुटीको जडान गर्नेे (मेटलका टुटीलाई पिसाबमा भएको एसिडले चाँडो बिगार गर्न सक्छ) र धारा खोल्दा मिश्रणको ट्यांकीमा जाने डेढ इन्चको कालो वा पिभिसी पाइपमा माथिको भागमा प्वाल बनाई टुटीबाट झरेको छिप्पिएको पिसाब सजिलै पर्ने गरी सेट गर्ने । यसरी सेट गर्दा चारवटै ड्रमको पिसाब सोही पाइपबाट मिश्रण टंकीमा जाने गरी मिलाउने ।
पिसाब गरेको केही दिनमात्र पिसाब भन्न सकिन्छ तर केही समयपछि पिसाबमा भएका मानव शरीरबाट निस्केका जीवाणु मरी केवल रसायनमात्र हुने हुँदा मलका रूपमा परिणत हुने गर्छ । बाली बिरुवामा राख्न ३० दिनको पिसाब सुरक्षित मानिन्छ ।
त्यसैगरी क्रमशः चारभन्दा बढी ड्रम राख्ने र हरेक ड्रममा पिसाबले भरिएको मिति राख्न तालिका बनाउने र कुन बालीका लागि हालिएको संकेत लेख्न मिल्ने गरी कागज टाँसेर राख्ने । जसले गर्दा ड्रममा भएको पिसाब २२ दिन, ३० दिन र ४५ दिन कति दिनको हो चिन्न सजिलो हुनेछ । यसले गर्दा कति दिनको पिसाबमा रसायन के-कति मात्रामा छ भनेर जाँच गर्न सहज हुनेछ । पिसाब बालीमा प्रयोग गर्नुअघि पिएच न्युट्रलाइज गरेर जाँचेर प्रयोग गर्ने वा माटोको पिएच व्यवस्थापन गर्ने गर्नुपर्छ । पिसाब प्रयोग १ः७ वा १ः१० कुन अनुपातको हो, सोहीअनुसार मिश्रण ट्यांकीमा पानी व्यवस्था गरी पिसाब भएको ड्रमको धाराको टुटी खोल्ने । पिसाबमा भएका जीवाणु चाँडोभन्दा चाँडो डिकम्पोज हुन र बिरुवामा फाइदाजनक जीवाणुको मात्रा बढाउन पिसाब भर्ने बेलामा प्रति ५० लिटरको ड्रममा सय एमएल डिकम्पोजर जस्तै इएम आदिको प्रयोग गर्नुपर्ने हुन्छ । मिश्रण ट्यांकीमा छाना वा पाइप सफा पानी भर्ने व्यवस्था गर्ने, पानी र पिसाब मिश्रणपछि पिँधमा जडान गरिएको एक इन्चको धाराको टुटीमा एक इन्चको पाइप जडान गर्ने र थोपा वा पाइपमार्फत् बिरुवामा आवश्यकताअनुसार सिँचाइ गर्ने । (काफ्ले निवृत्त वरिष्ठ कृषि अधिकृत हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच