दुई विधेयक दफावार छलफलका लागि समितिमा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई उक्त सभाबाट पारित भएर सन्देशसहित राष्ट्रियसभामा आएको थियो ।

राष्ट्रियसभाको यही भदौ २१ को बैठकले सो विधेयकलाई दफावार छलफल गरी प्रतिवेदन पेस गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिको यही भदौ २४, २६, २७ र २८ गते बसेको बैठकमा विधेयकमाथि छलफल भएको सभापति डा भुसालले जानकारी गराउनुभयो ।

समितिले कृषि तथा पशुपक्षी विकासमन्त्री, मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका पदाधिकारी लगायतसँग विधेयकका सम्बन्धमा छलफल गरेको थियो । विधेयकका विभिन्न दफामा समूहगत र व्यक्तिगत गरी कूल २६ सांसदले ८६ बुँदामा संशोधन प्रस्ताव राख्नुभएको थियो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७९’, ‘तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक, २०७९’, ‘स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’, ‘प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’, ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र ‘योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

सङ्घीय संसद्का दुवै सदनबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले विभिन्न मितिमा प्रमाणीकरण गर्नुभएको थियो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेकोे विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते अपराह्न २ः५९ बजे बस्नेछ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?