काठमाडौंमा २२० केभीको रिङ लाइन बन्ने

फाइल तस्बिर

Read Time = 6 mins

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् । भविष्यमा बढ्न सक्ने विद्युत््को सम्भावित माग सम्बोधन गर्न प्राधिकरणले सन् २०५० सम्ममा काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्धरूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० नयाँ सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको हो । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।

प्राधिकरणका अनुसार काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेसन आयोजना छिटो सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सबस्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

टेकुस्थित ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण भइरहेका छन् । दुवै सबस्टेसनमा ४५/४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर राखिनेछ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । टेकु सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि नौ नयाँ फिडर निकालिनेछ, जसले काठमाडौंको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने प्राधिकरणले जनाएको छ । उपत्यकाको विद्युत् आपूर्ति भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसन स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायतका आयोजना सञ्चालित छन् ।

सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अघि बढाइएको छ । उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोधपछि चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अघि बढाइएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् ।

सुक्खा बन्दरगाहनजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्ति प्रक्रिया अघि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ ।

चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्‍याइनेछ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदैछ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगतरूपमा चापागाउँ र हरिसिद्धिमा लाइन लगिनेछ । ललितपुर क्षेत्रमा स्युचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । स्थानीय अवरोधका कारण लप्सीफेदीको ४०० र २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन । तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनाको विद्युत् उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो । लप्सीफेदीबाट चाँगुनारायण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?