काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको पक्षमा लागेको देखेर भ्रष्टाचारीहरू आत्तिएको टिप्पणी गर्नुभएको छ । आइतबार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१ मैकोटमा ‘मइँ छिउ सगराँत उत्सव-२०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा सरकार लागेको दाबी गर्दै भन्नुभयो, ‘सरकार विरोधीहरूले आफू फस्ने ठानेर सरकार र गठबन्धन भत्काउन अनेकन कोसिस गरिरहेका छन् । हाम्रो कामलाई मन नपराउनेहरू सलबलाउने कोसिस गरिरहेका छन् । तर, यो सरकार निडर भएर अघि बढ्छ । पाँच वर्षसम्म यो गठबन्धन रहन्छ ।’
समाजवादको आधार तयार गर्नका लागि सरकार र गठबन्धन दलहरू लागिरहेको भन्दै उहाँले नागरिकता विधेयक र मिटरब्याजीका विरुद्धमा कानुन नै ल्याएर जनतालाई न्याय दिलाएको दाबी गर्नुभयो । यस्तै, उहाँले नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो ।
विदेशमा गएका लाखौँ नेपाली युवाको हक अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ थियो । रुकुम पूर्वको विकास र जहाँको जनजीविकालाई सहज बनाउने आफू प्रतिबद्ध रहेको दाहोर्याउँदै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन मध्यपहाडी राजमार्ग र शहीद मार्गको निर्माणमा भइरहेको ढिलाइमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन । दलाल पुँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन । तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन ।’ भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देशविरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएको समेत प्रधानमन्त्रीको भनाइ थियो ।
जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्ने
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरूपमा आफ्नो कुरा राखिने प्रधानमन्त्रीले जानकारी दिनुभयो । जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कम मात्रै रकम पाएकाले त्यसमा उल्लेख्य रूपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटक-पटक अनुरोध गरेको समेत स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मेरो आग्रहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेर्नुभएको छ । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय हो ।’
माओवादी-नेसपा एकताबारे छलफल
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न सकारात्मक छलफल भएको छ । आइतबार दुई पार्टीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पार्टी एकता संयोजन समितिमार्फत पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नामलगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ । वार्ता टोली संयोजक श्रेष्ठले भन्नुभयो, ‘दुवै पार्टीको वार्ता टोलीबीच भएको छलफलमा माओवादी केन्द्र नाम हटाएर एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने गरी सहमतिनजिक पुगिएको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत पार्टीको नाम झण्डा, वैचारिकता तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ ।’
छलफलमा सहभागी माओवादी केन्द्रको तर्फबाट वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले आवश्यकताअनुसार एकता संयोजन समिति गठन गर्न सहमति भएको जानकारी दिनुभयो । यसैगरी, उहाँले विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र शब्द हटाउन तयार भए पनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको बताउनुभयो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै पोखरेलले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक प्रतिक्रिया दिँदै भन्नुभयो, ‘दुवै पार्टीको वार्ता टोली बैठकले पार्टीको नाम, झण्डा, वैचारिक तथा नीतिगत दस्तावेज लेखनका लागि अन्तिम रूप दिन एकता संयोजन समिति बनाउन सुझाव दिने सहमति भएको छ । नेकपा हाम्रो बटम लाइन हो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिन्छ ।’
यद्यपि, नेकपा शब्द कायमै राख्ने विषयमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने असहमति जनाउनुभएको छ । माओवादी केन्द्रसँग एकताकै विषयमा पार्टीभित्र विवाद भएपछि भट्टराईले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादवलगायत नेताहरू पूर्व-सहमतिअनुसार पार्टी एकताका पक्षमा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच