रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणास्थलमा ३९औं दिन पनि अनशन जारी

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 9 mins

राजविराज । सप्तरीको राजविराज १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनशन ३९ औं दिनसम्म पनि जारी छ ।

स्थानीयवासीले गत आश्विन २६ गतेबाट सुरु भएको अनशन सोमबार ३९ औं दिनमा प्रवेश गर्दा समेत तीनै तहका सरकार बेखबर देखिएका छन् ।

प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुचारु गर्नुपर्ने लगायतको विभिन्न माग राखी सुरु भएको अनशन महिनौँ जारी रहँदा समेत तीनै तहका सरकारको ध्यानाकर्षण हुन नसकेको स्थानीयले बताएका छन् ।

अनशनमा विभिन्न राजनीतिक पार्टी, संघसंस्था लगायतका उच्च ओहोदाका व्यक्तिहरू सहित आम समुदायको समर्थन पाएपनि सरकारले भने बेवास्ता गरेको अनशनकारीहरूले बताएका छन् ।

आफूहरूले उठाएको माग प्रति स्थानीय, प्रदेश, संघ तीनै तहका सरकारले चासो नदिएको उनीहरूको गुनासो छ । अनशन बसेको ३९ औं दिन हुँदा समेत तीनै तहको सरकार बेखबर जस्तै देखिएको उनीहरूले दुखेसो पोखे ।

माग सम्बोधन नभएसम्म अनशनलाई निरन्तरता दिने तथा सरकारी कार्यालयहरूमा तालाबन्दी, आम हडताल सहितका थप सशक्त आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।

संघका स्वास्थ्य मन्त्रीले प्रतिष्ठान निर्माण गर्ने ग्यारेन्टीसहित प्रतिबद्धता व्यक्त नगरेसम्म अनशन निरन्तर जारी राख्ने अनशनमा सहभागीहरूले बताएका छन् ।

स्थानीयले उठाएको प्रतिष्ठान निर्माणको माग जायज भएको भन्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवम् जनमत पार्टीका अध्यक्ष डा । सिके राउत, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुर, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, पुर्व मन्त्री उमेश कुमार यादव, नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् पूर्व सांसद रेशमलाल चौधरी, एमाले नेत्री अष्टलक्ष्मी शाक्य, प्रदेश सांसद एवम् मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवलगायतका उच्च पदस्थ व्यक्तिहरूले समर्थन जनाउदै अनशनकारीलाई माग सम्बोधन गर्ने थुप्रै आश्वासन बाँडे पनि हालसम्म काम चाहिँ नभएको संघर्ष समितिका संयोजक राम कुमार दासले बताएका छन् ।

उनीहरूले आश्वासन बाँडे पनि कसैले पनि सदन मार्फत सरकारको ध्यानाकर्षण नगराएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

स्थानीयले थालेको अनशनको समर्थनमा राजविराजमा सप्तरी युथ नेपालले ऐक्यबद्धता ¥याली प्रदर्शन समेत गरे । राजविराज नगरपालिका १० स्थित बिरौलमा जारी अनशनमा नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्वका पत्रकारहरू, काँग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वहरू, वकिल ,शिक्षक विभिन्न पेशागत सङ्गठनका पदाधिकारीहरूले समेत रिले अनशनमा सहभागी हुँदै समर्थन जनाउदै आएका छन् भने सरकारी स्तरबाट कुनै प्रकारको चासो दिइएको देखिदैन ।

पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागअघि सार्दै असोज २६ गते शुक्रवार देखि सुरु गरेको रिले अनशन जारी राखेको स्थानीयले बताएका छन् ।

पाँच वर्ष भित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि सरकारले शिलान्यास गरेको २ वर्ष नाघि सक्दा पनि निर्माण नै सुरु नगरेको भन्दै आक्रोशित स्थानीहरू अनशन बसेका छन् ।

प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन, संघर्ष समितका संयोजक दासले भन्नुभयाे, प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी मुद्दा बनेको प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा रहेको र कसैले चासो नदेखाए पछि आन्दोलनमा उत्रिनु बाध्य भएका छौं ।

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौल स्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । तर २६ महिना बितिसक्दा पनि भवनको त कुरै भएन, एउटा इँटा सम्म नहालिएको स्थानीयको भनाई छ ।

प्रतिष्ठानको गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर सञ्चालनमा ल्याइएको पूर्वाधार तयारी विकास समितिको कार्यालय अहिले बोर्डमा मात्र सीमित भएको छ । समितका अध्यक्ष डा.रोहित पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेपछि अर्को अध्यक्ष नियुक्त गरिएको छैन ।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?