काठमाडौं । पछिल्लो समय नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक आएका थिए भने २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए । मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बोर्डले जनाएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालले कोरोनापछि पर्यटन क्षेत्र लगभग पुरानै लयमा फर्किएको बताउनुभएको छ । तथापि गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाइ भने सन्तोषजनक नरहेको उहाँको भनाइ छ । आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षित गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीगिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन योजना रहेको उहाँले बताउनुभएको छ । नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गर्दै पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५१.३ प्रतिशत बढेर १७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड थियो । तथापि नेपाल भ्रमणमा आउनेभन्दा नेपालबाट विदेशिने संख्या ठूलो रहेकाले नेपालको पर्यटन क्षेत्र घाटामै रहँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को खुद सेवा आय २९ अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोडले घाटामा थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच