
प्रारम्भिक जानकारी :
‘हाम्मा माइती आया, कलाकार हुन् यी, अब त पाल पाउन्या हौँ, ओखती पनि पाउन्या हौँ’ बझाङ मस्टा गाउँपालिकाकी पिन्टु दमाईको बोली आइरहेको थियो । पिन्टुको बोली झैँ रूपा, धौलीहरू पनि पालको आशामा रिलू गाउँमा जम्मा भएका थिए । मस्टा गाउँपालिका वडा-६ रिलूमा घर भएका उनीहरूको माइती तलकोट गाउँपालिकामा पर्दछ । तलकोट यस पंक्तिकारको गाउँभएकाले पिन्टुहरू माइती आएको देखेर खुशी देखिन्थे ।
गत असोज १६ र १७ गते दिनमा आएको भूकम्पका कारण बझाङ जिल्लाका केही पालिकाबाहेक प्रायः सबै गाउँपालिका र जयपृथ्वी नगरपालिकाका केही वडाका घरमा क्षति पु¥यायो । प्रायः सबैजसो घर चर्केर बस्न लायक छैनन् । उनीहरू घर छोडेर बाहिर पालमुनि बसिरहेका छन् । गाउँमा भन्दा सदरमुकाममा आधुनिक घरहरू निर्मित छन् । पिल्लरवाला ती घरहरूमा पनि नराम्रो क्षति भएको देखिन्छ । गाउँमा माटोका जोडाइका घर भएकाले नचर्केका कुनै घर देखिन्न । डर मानीमानी मानिस जाडो छल्न घरभित्र बस्न बाध्य छन् । ४१ वटा पराकम्पन गएको प्रत्यक्ष अनुभव गरियो ।
खाद्यान्न बाली, कुनै बाहिर कुनै घरभित्र थन्क्याएका देखिन्थे किसानले । भूकम्प दिनमा आएकाले मानवीय क्षति भने भएन । जुन सुखद् पक्ष हो । त्यसको ठीकविपरीत कात्तिक १७ गते राति ११ः४३ बजे आएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५४ जनाले ज्यान गुमाए । त्यति नै मात्रामा चौपायाहरू मरे, घरहरू भत्किए । गाउँमा भयावह स्थिति देखियो । अचम्म त के भने बझाङमा पनि पहिलो दिन असोज १६ गते ६.४ रेक्टर स्केलकै भूकम्प गएको थियो । त्यहाँ नराम्ररी घर चर्किए तर, ढलेको देखिएन । त्यसको ठीकविपरीत जाजरकोट र रुकुम पश्चिममा भने मानवीय क्षतिका अलवा धेरै घर जगैदेखि भत्किएका छन् । बझाङमा १२ हजार घर बस्न लायक छैनन् ।
राहत सामग्री बोकेर काठमाडौंबाट प्रस्थान :
असोज १६ र १७ गते भूकम्प जन्मभूमिमा गएको खबरले राहत सामग्री लिएर असोज २० गते बझाङका लागि प्रस्थान गरे । काठमाडौंबाट हेल्प नेपाल नामक संस्थाका प्रबन्धक अरुण सिंह बस्न्यात र उहाँको टिमले केही राहत सामग्री र नगदी रकमसहित भूकम्प प्रभावित जिल्ला बझाङ पुगेको थिए । धनगढीबाट ६ सय थान पालहरू ओखती बोकेर गाडी बझाङ पुग्यो । ती सामग्री सम्बन्धित ठाउँमा पु¥याउनु थियो । दशैँको बेला भएकाले भाडादर चर्को थियो ।
सुखद् पक्ष के भने हाल प्रत्येक गाउँपालिकामा गाडीको सुविधा छ । सडक पिच छैनन्, कच्ची सडक छन्, जोखिम मोलेर यात्रा गर्नुपर्छ । घुम्ती, उकाला, ओराला सडकहरू पार गर्न स्थानीय ड्राइभर सिपालु रहेछन् । सदरमुकाम चैनपुरमा प्रजिअको मातहतमा पीडितलाई एकद्वार प्रणाली अपनाएको थियो । काम राम्रो भए तापनि यो कदममा ढिला सुस्ती थियो । पीडितलाई यथाशीघ्र सामग्री चाहिएको थियो तर सो सम्भव त्यहाँ थिएन ।
गाडीमा जोखिम मोल्दै यात्रा :
स्थानीयहरू कच्ची सडक यात्रा गर्न अभ्यस्त भइसकेका थिए तर मलाई सो बानी परिनसकेका कारण यात्रा कठिन भयो । राहतका सामग्री बोकेर साविकको भातेखोला गाउँपालिका राहत सामग्रीसहित पंक्तिकार प्रवेश गरे । भातेखोला हामीहरूको गुरुहरूको बस्ती हो । जहाँ २०३७ सालताका तत्कालीन जिल्ला पञ्चायतका सभापति बन्न सफल नवराज जोशीको जन्म भएको थियो ।
प्रकृति अत्यन्त रमरणीय छ । खेतमा धानका बाला हाँसिरहेका देखिन्थे । पहेंलै देखिन्थे खेतहरू । धान काट्नेहरूको पनि पंक्ति देखिन्थ्यो । बिहानको कलिलो घामको बर्को सबैले ओढेका थिए । वडा-४ मा केही राहतका सामग्री बुझाएर हामी उकालो लाग्यौं । जति उकालो चढ्दै छौं, बझाङका अग्ला डाँडाहरू मुस्कुराउँदै थिएँ । धुवाँ, धुलो नहुँदा त्यो भूमि हेर्न लायक देखिन्थ्यो । कुल देवता, ढणारको मन्दिर नजिक पुगेर प्रणाम ग¥यौं । भगवान मष्टा देवताप्रति अगाध आस्था रहिआएको छ हाम्रो । उकालो चढ्दै गर्दा हामी लेकाली भागमा पुग्यौं । चिसो अनुभव भयो । हिमनदी सेती पुगे झैँ अब ओरालो झर्नुपर्छ । लेकाली सल्लाहरू देखेर गीत गाउँन मन लाग्यो तर यात्रा जोखिमपूर्ण थियो । बरू गाडीमा लोकगीत बजिरहेका थिए । हाम्रो गाडी ओरालो झर्दै छ ।
आरडी, भक्तराज जोशी साथै हुँदा बाटो काट्न सहज भयो । पारि रिलु गाउँवस्ती प्रष्टै देखिन्थ्यो । चिटिक्क परेका घरहरू, धान पाकेर सुहाएका खेतबारीहरू देखेर लाग्यो नेपाल भूस्वर्ग भूमि हो । देउडा गीतले सुदूरपश्चिम स्वर्गसरी त्यसै भनिएको होइन । यही प्रकृतिले नै हो मलाई प्रतिष्ठित देउडा लोकगायक बनाएको । खोलो त¥यौँ, चिसो पलाउँदै थियो । माथि मालिकाको धुराबाट बग्दै आएको सो खोलालाई बेंसीतिर जिन्नाडी गाड भनिन्छ । अब रिलू भूमिमा पुग्न उकालो चढ्नुपर्छ । गाडी गुरु सिपालु छन्, आफ्नो गतिमा गाडी गुडाउन । हाम्रो गाडी देखेर भूकम्प पीडितहरूको अनुहार उज्यालिए झैँ लाग्थ्यो । हामीले द्वारी गाउँका पीडितलाई सामग्री वितरण गर्नु छ ।
डाँडै ओरालो झरेर जाँदा डर पो लाग्यो । राम राम जप्दै अघि बढ्यौं । निकै कठिन छ यात्रा । द्वारी गाउँका मानिसहरू वडामा जम्मा भएका थिएँ । दिनको एक बज्यो । पीडितलाई राहत बाड्यौं । हामीले पेटमा खाने कुरा केही नि बौंड्न सकेनौं । भोक लागिरहेको छ । पुराना मेरा विद्यार्थी शिवु बुढा विगत ३८ वर्षदेखि रिलू निमाविमा प्रअका रूपमा सेवा गरिरहेछन् । शिवुको जन्म भारतको केरलामा भए तापनि भारतीय मूलकी आमा रिलूमा आएर बसेकी छन् पतिदेवसँग । दिनको २ बजे पुनः उही गन्तव्यमा फर्कियौं । फर्किँदा बिदाइका हातहरू सबैले हल्लाए । केही धामीसँग भेट हुँदा खुशी लाग्यो । गाउँमा गीत गाउँदै राहत वितरण गर्दै रिलू बस्तीको सुनौलो सौन्दर्य कैद गर्दै आँखामा पाल, ओखतीलगायत सामग्रीवितरण गर्यौं । टाढा टाढाबाट पीडितहरू राहत पाउने आशामा आएका रहेछन् । काखे बच्चा बोकेका छन् कसैले, कुनै भने बच्चा पाउनेवाला छन् । पुरुषको संख्या पनि उत्तिकै बड्दो छ । मनमा पीडा बोकेका भए पनि अनुहार उज्याला छन् । उनीहरू गीत सुन्न आतुर छन् ।
लेकपानी बर्षन लाग्यो दाउरा बाल तारु
मन् अरे मन्दिर जसो जोवन राख्यै फारु । ओ वाज, झुम्र्यौली वाज ।
मनका पीडा पन्छाएर सबैले दंग पर्दै गीत सुने, पीर मर्का एकछिन् भए पनि बिर्से । धेरै चोटी रिलू, ठगुन्ना, दय गएकोले सबैका अनुहार म सम्झिरहन्छु । वडा नं. ४, ५, ६ र ७ का नरनारीहरू पीडा लुकाएर इमानदार भई राहत वितरणमा कार्यलयका कर्मचारीलाई सहयोग गरिरहेको देखिन्थे । हिमालको काखैमा रहेको गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरा पिताको शोकमा बसेका थिए । संयोग उनको गाउँमा भने भूकम्पको धक्काको महसुस भएन । भोक र थकाइले शरीर शिथिल भइरहेछ । रात बिताउन सदरमुकाम पुग्नुछ । आएको कच्ची सडक पुनः नाप्नु छ । रातीको यात्रा आफैंमा जोखिम रहृयो । बिजुलीले सिँगारिएको देखिन्थ्यो चैनपुर अग्ला डाँडाहरूबाट हेर्दा । राति १०ः४५ बजे सदरमुकाममा पुग्यौं ।
तलकोट गाउँपालिका कार्यालयबाट राहत सामग्री लुटपाट :
गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ मा धेरै नै नोक्सानी भएको रहेछ । एक किसिमले हाहाकार नै मच्चिएको रहेछ । नेपाल रेडक्रसले हिमनदी सेतीको किनारामा नै राहत सामग्री वितरण गरेकोले ती वडाका पीडितहरू रुष्ट बनेका रहेछन् । नदीमा पुल नहुनु अर्को समस्या देखा प¥यो । पंक्तिकारले भने महँगो भाडा तिरेर पनि भरियाद्वारा बोकाउन लगाए । राहत लिएर आउँदै छ रे भन्ने खबर गाउँभरि फैलिएको रहेछ । त्यहाँ पु¥याएका राहत सामग्री गाउँपालिकाको कार्यालयभित्र थन्क्याउन लगाए ।
बुझेको भरपाई लिएँ । भोलिपल्ट पीडितहरू धेरै जम्मा भएका थिए । अघिल्लो दिनमा ५०/६० पाल र अन्य सामग्रीमात्र वितरण गरे । थप सामग्रीका लागि पंक्तिकार सदरमुकामतिर पुनः लाग्नुपर्ने भयो । कर्मचारी र जनप्रतिनिधिकै सामू ८० थान पाल ओखतीलगायत सामग्री लुटेको खबर बाटोमै थाहा पाएँ । काम विशेषले धनगढी गएका पालिकाका अध्यक्ष कलक रोकायाबीच बाटोमै आउँदै थिए । उनलाई घटनाबारे जानकारी गराएँ बेथितिको चरम रूप आफ्नै गाउँमा देखेर आफैंलाई शरम लाग्यो । धेरैजसो पीडित पक्षले सामग्री नपाएको अवस्थामा दुःख लाग्नुबाहेक दोस्रो विकल्प तत्काल त्यहाँ थिएन । सदरमुकामबाट ल्याइएको थप पालहरू पुनः तलकोटका पीडितलाई वितरण गरे ।
जयपृथ्वी नगरपालिकामा पनि हाहाकार :
नगरपालिकाका प्रमुख चेतराज बजाल र हिरण्य छत्यालले सबै पीडितहरूको लागत संकलन गर्न लगाएका रहेछन् । झण्डै पाँच हजार घरहरू नगरपालिकाका विभिन्न वडामा क्षतिग्रस्त रहेछन् । दलित बस्ती उच्च जोखिममा रहेको सबै जनप्रतिनिधि बताइरहेका थिए । बालमन्दिर भवन जगैदेखि चिरा परेको प्रअ टेकबहादुर सिंह बताउँदै थिए । लाखौं रकम खर्चेर प्रेमबहादुर कडालको हालै निर्मित पाँचतले पक्की घर पूर्णरूपमा क्षति भएको देखियो । देवल, गोलाई, धामीलेक, पिठालेक, मयाना, दमदुर, भोपुर, बामनगाउँ, काप्रीकोट, रुइनाबगर बढी प्रभावित रहेछन् भूकम्पबाट ।
खप्तड छान्ना र थलारा गाउँपालिकाका बासिन्दाको पीडा :
दुई वर्षपहिले कात्तिकको पहिलो हप्ता गएको बाढी र पहिरोको घाउको पीडा विशेक हुन नपाउँदै अन्नको भण्डार मानिएका यी दुई गाउँपालिकाका बासिन्दालाई भूकम्पका कारण अझ बढी शोकमा पारेछ । त्यसबेला तत्कालीन प्रम शेरबहादुर देउवाको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । अहिले प्रम प्रचण्डको टोली जिल्लामा पुग्यो । आशा त मरेको छैन सरकारकाप्रति जनताको । तर, कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण सरकारको पूरै ध्यान त्यतातिर मोडियो । हुन पनि मानवीय क्षति धेरै भयो त्यहाँ । बझाङको दाजोमा यी जिल्लामा भौतिक क्षति बढी भयो ।
छान्ना खोलामा दुई वर्ष पहिले आएको बाढीले समथल धान फल्ने मलिला फाँटहरू बगरमा परिणत भएको देखिन्थ्यो । साथै पहिरोको जोखिम थलारामा जस्तै खप्तड छान्नामा पनि देखियो । पहिरोका कारण त्यसबेला थलारामा १७ जना र बाढीका कारण खप्तड छान्नामा ८ जना बगाएको थियो । कैयौं चौपाया खोलाले बगायो । त्यो मार्मिक घटना स्थानीयवासी सुन्न नि चाहन्नन् भन्छन् खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया र समाजसेवी डम्बर रोकाया । गाउँपालिकामा राहत बुझाएर फर्किने क्रममा छान्ना खोलामा हामी चढेको गाडी दुई घण्टासम्म फस्यो । नेपाल पत्रकार महासंघ बझाङ शाखाका पूर्वसभापति जगदीश रोकाया र ड्राइभरले पारि तार्न निक्कै कोसिस गरे तापनि पार लागेन । अर्को गाडीको ड्राइभरले फलामको डण्डीले तानेपछि गाडी बल्ल पार भयो । बालबाल ज्यान बच्यो ।
दौलीचौर सुरर्मा साइपाल गापामा पाल पाउँदाको खुशी :
यसो त भूकम्पपीडितले राहत सामग्री पाउँदा खुशी हुने र नपाउँदा दुःखित हुनु स्वभाविक नै हो । तथापि हेल्पनेपाल नेटवर्क संस्थाले पठाएका सामग्री अरूले भन्दा छिटो दुर्गम गाउँका पीडितले पाउँदा खुशी व्यक्त गरेँ । सुरुमा दौलीचौर गाउँपालिकाका अध्यक्ष खड्गबहादुर बोहरा र साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले समुचित रूपमा ती पाल र अन्य राहतका सामग्री प्राप्त गर्दा पीडितहरू खुशी व्यक्त गर्दै थिए । छबीस पाथीभरा गाउँपालिकाका समाजसेवी पाण्डव विष्ट र मष्टा गाउँपालिका–४ का वडा अध्यक्ष उत्तम जोशीको पीडित पक्षको बोली एउटै थियो । उनीहरू भन्दै थिएँ-एकद्वार प्रणालीले भूकम्पपीडितलाई राहत वितरण गर्न ढिला सुस्ती गर्ने हुँदा जाडोमा बालबालिका, सुत्केरी महिला र रोगीहरूको भलाइका लागि हेल्प नेपाल नामक संस्थाले सामग्रीहरू गाउँमा आफैँ पुगी वितरण गरिदिनु सुखद् पक्ष हो ।
अन्त्यमा :
ससाना बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाहरूका लागि पालमा रात बिताउन कठिन भइरहेछ । बझाङ, बाजुरा, जाजरकोट हिमाली जिल्ला भएकाले जाडोमा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण सरकारले गरिदेओस् । भूकम्परहित घरहरू निर्माणका लागि आवश्यक कदम चालेको खण्डमा सरकार जनताप्रति उत्तरदायी छ भन्ने देखाउँछ । राजनीतिक दलका नेता, कार्यकर्ताभन्दा एकद्वार प्रणालीअन्तर्गत सीडीओ कार्यालयमार्फत पीडितहरूलाई उचित राहतको प्रबन्ध मिलाउनु सान्दर्भिक रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच