
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा बिहीबार इफाप्काको ४६औँ सम्मेलनअन्तर्गत ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । आपसी सहकार्यबाटै आर्थिक समुन्नतिसहितको सामाजिक तथा वातावरणीय हिसाबले दिगो विकासको लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणको काम पनि सोहीअनुसार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको अझ बढी महत्व रहेको र यस विषयमा नेपाल सरकार जानकार रहेको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
इफाप्का आबद्ध मुलुकमा दिगो विकास बारेमा जनचेतना जगाउन इफाप्काले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गर्नुभयो । फोरम उद्घाटन सभापति, इफाप्काका अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दिगो विकासका लागि सरोकारवाला सबै निकायबीचको समन्वय आवश्यक भएको धारणा राख्नुभयो । महासंघका सल्लाहकार तथा इफाप्का महासचिव वीरेन्द्रराज पाण्डेले इफाप्काले विगत एक वर्षको अवधिमा गरेका फोरमहरूको निचोड प्रस्तुत गर्दै इफाप्का प्रभावकारी ढंगले अघि बढिरहेको जिकिर गर्नुभयो ।
इफाप्काका कार्यकारी निर्देशक लेभी.भी.एसप्रितुले वातावरणमैत्री पूर्वाधार निर्माणका लागि सरकारी तथा गैरसरकारी निकाय दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनी, पूर्वाधारविद् तान सेङ चुहान लगायतका वक्ताहरूले पूर्वाधारको चक्रबारे प्रकाश पार्दै दिगो विकासका लागि आपसी समन्वय आवश्यक भएको टिप्पणी गर्नुभयो ।
उद््घाटन सत्रपछिको प्यानल डिस्कसन र इमर्जिङ योङ लिर्डस् कार्यक्रममा पूर्वाधारविद्हरूले दिगो पूर्वाधारका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । सम्मेलन आज (शुक्रबार) सकिनेछ । सम्मेलनका विभिन्न फोरममा इफाप्का पदाधिकारीसहित पूर्वाधारविद् तथा सरोकारवालाबीच निर्माण उद्योगका विविध पाटोबारे घनिभूत छलफल भई काठमाडौं घोषणापत्र जारी हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । सम्मेलनकै अवधिमा निर्माण उद्योगमा योगदान गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मेलनमा विभिन्न मुलुकका २४० सहित ४५० भन्दा बढीको सहभागिता रहेको महासंघले जनाएको छ । नेपालले यसअघि सन् १९९९ मा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच