पूर्णमदः पूर्णमिदम….

Read Time = 9 mins

✍️ अर्पण

मन उडेर यत्रतत्र फैलिएको छ । शरीरमा अनगिन्ती छट्पटी छ । रातले आफ्नो यात्राको गति बेजोडसँग कुदाएको छ तर निद्राले उसलाई भेटाउन सकिरहेको छैन । पल्टिरहेको बिस्ताराबाट उठेर बाहिर जान्छु । काठमाडौंको रात भनेको कुकुरहरूको रहेछ थाहा पाउँछु । लाग्दै छ पूरा काठमाडौंका कुकुरहरू दरबार मार्गमा भेट्ने र काठमाडौंको भिडले आफूहरूलाई दिउँसो डुल्न र घुम्नमा पुर्‍याएको बाधाको खुलेर विद्रोह गर्ने गरेका छन् । मन त एक्छिन् उनीहरूको विद्रोह सुनिदिने थियो । बोल्न पाउने अधिकार सबैको हुन्छ तर सुनिदिनुपर्ने कर्तव्य सबैको नहुन सक्छ ।

तिनीहरूका असन्तुष्टि सुनेर कसैलाई सुनाउन मन थियोे तर काठमाडौंको जाडो हुन नसकेकी प्रेमिका जस्तो छ जसले प्रत्येक पल हृदयमा छुन्छ । मलाई पनि छोयो बस्न सकिन दुःख लाग्छ उनीहरूका व्यथा सुनेर कथा बनाउन सकिन । मेरोभन्दा पल्लो कोठामा छन् कृष्ण दाइ जो मलाई एकदमै मन पर्छन् । उतै लागेँ मोबाइलमा व्यस्त छन् । मेरो छट्पटीले तिनलाई छट्पटी नबनाओस् म त्यहाँबाट निस्किएर अझ पल्लो कोठामा गएँ जहाँ झनक दाइ छन् उनी मस्त छन् आफैँमा रमाउने मान्छे हुन् सामान्य किताबहरूमा आँखा लगाएँ तर आँखा अडिन मानेनन् र फर्के आफ्नै ओछ्यानमा ।

तिमीले आफ्नो खुशी रोज्नु तिम्रो अधिकार हो र रोजिसकेपछि खुशी हुनु कर्तव्य हो । आफ्नो कर्तव्यविमुख हुनुभनेको हार्नु हो, मानवको पूर्णता असल मानवमा रहन्छ, तिमी असल मानव हुनु, मैले तिम्रो खुशीमा मेरो खुशी देख्नु नै धर्म हो ।

मनले केही लेख् भन्दैछ तर के लेखुँ ?, सुन्न नसकेका कुकुरका कथा ? कृष्णदाइका कथा ? ए उनी त आफैँ कथाकार छन् क्यारे, जसका कथामात्रै होइन कुनै शब्दको ओजन नाप्न सकिँदैन । के लेखौँ झनकका कथा ? कि मभन्दा पल्लो खाटमा पल्टिरहेको नवीनको कहानी ? सम्झन्छु मलाई त केही लेख्नै छैन । मलाई त केबल छट्पटी हटाउनु छ । मलाई त केबल म हुनुको महसुस गर्नु छ ।

म कहाँ छु ? मेरो मन कहाँ छ ? आफ्नै मनको नियन्त्रण किन छैन ? कसरी हुन्छ नियन्त्रण ? भित्र कतैबाट बाहिर आउन खोजे जस्तो गर्छ कुनै शब्द सम्झन्छु ‘योगश्चित्तवृत्तिनिरोधः’ रहेछ तर खोज्दै जाँदा मसँग त मन नै रहेनछ । हो त्यो मन अरू कसैलाई उपहार दिएको थिएँ । अहिले चाहिन्छ के थाहा । भेटेँ भने अवस्य भन्ने छु तिमीले प्रेमको ओलम्पिकदेखि विश्वकपसम्म जितिसक्यौ अब त तिमीलाई प्रेमको विश्वकपमा भाग लिन पुगेको भए मलाई मेरो मन फिर्ता देउ, नपुगेको भए पनि अब त तिमीसँग धेरै नयाँ मन छन् मलाई मेरो पुरानो मन फिर्ता देऊ ।

मलाई थाहा थिएन मनको आयु हुन्छ, सोंचेको थिएँ आत्मा जस्तै अनन्त हुन्छ । तिमीले मसँग हृदयले हृदय माग्यौ मैले दिएँ तिमीले पनि मेरो हृदयलाई आफ्नो हृदय बनायौ । म बुझ्नुपर्ने हृदयको आयु छ आत्मा जस्तो अनन्त छैन, म बुझ्नुपर्ने तिमीले आत्मा मागिनौ दुई आत्मालाई एकाकार गरिनौ जो अनन्त छ । हो आज त्यही हृदयको आयु सकिएको दिन सम्झेर भित्र कताकता मलाई छट्पटी उठिरहेको छ ।

ज्ञानका साधन स्मृति र अनुभव हुन् थाहा थियो तर थाहा थिएन स्मृतिको गहिराइ र अनुभवको व्यापकता, हुन त थाहा नहुनु पनि थाहा हुनु हो जस्तो कि केही नहुनु पनि केही हुनु हो बिर्सिनुपर्ने कुराहरू सम्झनामा आइरहन्छन्, सायद त्यही होला ‘संस्कार-मात्र-जन्यं ज्ञानं स्मृति’ भनेको तर सम्झनुपर्ने कुराहरू दिमागको वरिपरि नै पर्दैनन् जस्तो वर्ष दिन पढेका कुराहरू परीक्षामा आउँदैनन् । त्यहाँसम्म आए परीक्षा सकिएपछि आउँदैनन् लाग्छ कि उसले चिनेकै छैन, जानेकै छैन तर बिर्सिनुपर्ने कुराहरू हरेक क्षण आउँछन् । हुन त हरेक क्षण आउने क्षणिक नै हुन् तर त्यो क्षणलाई नै एउटा युग बनाएर आउने क्षणिकताको आयु पर्खिनु सिवाय अरू विकल्प नहुने रहेछ ।

हामी जे बोलिन्छ त्यो नै जीवन रहेछ अझ भनौँ शब्द नै जीवन रहेछ शब्दका जस्तै आभ्यान्तरिक र बाहृय प्रयत्नहरूले शब्दलाई जस्तै जीवनलाई सिँगार्न सकियो भने जीवनलाई जीवन भन्न मिल्नेछ शब्द जसरी मधुरता, श्रेष्ठता र व्यापकताले हृदयलाई जितेर हृदयापति हुन्छ त्यसरी नै जीवनको पनि व्यापकताको सिमाना मेटिने रहेछ । तर, अनार्थिक र असैद्धान्तिक शब्दको प्रयोग जस्तै जीवनको प्रयोग भयो भने त्यहाँ कुनै व्याकरणको सहायताको आश गर्नु अझ झन्झट र कष्टपूर्ण हुनेछ ।

व्याकरण नमिलेका तिम्रा शब्दहरू मैले बुझ्नुपर्ने थियोे अनधीकृत हुन भनेर, बुझ्नुपर्ने थियो तिमीले लगाएका प्रत्ययहरू इत्संज्ञक हुन् भोलि कुनै सूत्रले लोप गर्नेछ भनेर । अझ् बुझ्नुपर्ने कुरा थियो मैले पढ्दासम्म नबुझेको स्थानिवद् भाव, जसले तिम्रा प्रत्येक शब्दहरूको आवाजहरूको, आचरणहरूको स्थान सुरक्षित गरेर राख्नेछ र युगौँयुगसम्म पनि आफ्नो प्रभुत्व जमाइ राख्ने छ भनेर, मैले जीवन नबुझी-नबुझी पढेको रहेछु, मेरा प्रत्येक पढाइका घण्टीले किताबका वाक्यको पदकृत्य लगाएको रहेनछ त्यो त साक्षात् जीवनको पदकृत्य रहेछ । जसलाई कतै शब्दमय र कतै पदार्थमय भनिएको थियोे । र पनि तिमी मेरो महान गुरु हौ मैले बुझ्न नसकेका धेरै कुराहरू तिमीले नै बुझायौ तर दुःखको कुरा तिमीलाई बुझाउन सकिनँ ।

तिमीले आफ्नो खुशी रोज्नु तिम्रो अधिकार हो र रोजिसकेपछि खुशी हुनु कर्तव्य हो । आफ्नो कर्तव्यविमुख हुनुभनेको हार्नु हो, मानवको पूर्णता असल मानवमा रहन्छ तिमी असल मानव हुनु, ‘सर्वे भवन्तु सुखीनः’ मन्त्र जप्ने मैले तिम्रो खुशीमा मेरो खुशी देख्नु नै धर्म हो । मलाई अस्तित्वमा विश्वास लाग्छ ‘सोक्हम’ को मन्त्रमा मैले तिमीलाई नै देख्ने गरेको छु । यसको मतलब तिमी पनि म हो र म पनि तिमी हो यसर्थ तिमी मबाट पर छैनौ । तिमी जाने ठाउँ र म जाने ठाउँ एउटै हो जुन शून्यतामा परमानन्द भेटिन्छ जसलाई वेदान्तीले आत्मा र परमात्मको मिलन भन्छन् । मलाई आशा छ जसबाट हामी पूर्ण हुनेछौँ र जप्ने छौँ, पूर्णमदः पूर्णमिदम्......।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
आमाेद गाैतम
आमाेद गाैतम
2022-11-19 8:35 am

बाह् बाह् ❣️❣️❣️❣️

रिलेटेड न्युज

छुटाउनुभयो कि ?