काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिएको उहाँले बताउनुभयो ।
आयोगको पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आयोगको सुझावअनुसार नै निर्वाचनको मिति तोक्ने संकेत गरेको अर्यालले बताउनुभयो । नेपालको संविधानमा राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदै छ । राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम हुने आयोगले जनाएको छ । संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एकतिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था छ । मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कुल जनसंख्यालाई आधार मानेर कायम गर्नुपर्ने हुन्छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ थियो ।
यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र पालिकाको सदस्यको चुनावमा निर्वाचित भई विभिन्न कारणबाट रिक्त हुन आएका पदको चुनावका लागिसमेत आयोगले सरकारसँग परामर्श गरिरहेको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिल्ला समन्वय समिति प्रमुख दुई, पालिका अध्यक्ष एक, उपाध्यक्ष दुई र वडाध्यक्ष रिक्त १७ पदको चुनाव पनि आगामी वैशाखभित्र सम्पन्न गर्ने आयोगको योजना रहेको छ । आयोगमा अहिले दर्ता कायम रहेका राजनीतिक दलको संख्या ११९ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच