प्रोष्टेट संलग्न रोगका विविध पक्ष र निदान

✍️ डा. अर्जुनदेव भट्ट
पुरुष आयु वृद्धि र मूत्र अवरोध
मानव शरीरमा ५० भन्दा बढी प्रकारका ग्रन्थि हुन्छन् । तिनीहरूमध्ये एक हो-पुरुष शरीरमा मात्र हुने प्रोष्टेट ग्रन्थि । पुरुषको आयु वृद्धि आजको सुखद् यथार्थ हो र यही सन्दर्भमा प्रोष्टेट ग्रन्थिको विशेषता हेर्नुपर्ने हुन्छ । ४० वर्षपछि प्रोष्टेट ग्रन्थि वृद्धि हुँदै जान्छ र मूत्रनलीमा अवरोध उत्पन्न गर्दछ ।

ग्रन्थि वृद्धि भएको खण्डमा पिसाब फेर्दा अन्त्यमा धारा सानो भएको अनुभव हुन्छ । थोपा-थोपा वा तुरुक्क गरेर अन्त्यको पिसाब निस्कनु अथवा पिसाब फेरिसकेपछि पूरा सन्तुष्टि अनुभव नगर्नु प्रोष्टेट ग्रन्थिसँगै संलग्न अन्य लक्षण पनि हुन सक्दछन् । लामो समयसम्म ग्रन्थि बढ्दै गए खास गरेर त्यसको बीचको भाग बढेर मूत्रथैली घाँटीमै अवरोधजस्तो भएर रहेको खण्डमा पिसाब फेर्न निकै कन्नुपर्ने, पिसाब लागे पनि तुरुन्छ पिसाब नआउने र एकछिन कुरेपछि मात्र पिसाब खुल्ने हुन्छ ।

ग्रन्थिका मुख्य भागहरू र तिनीहरूको विशेषता
प्रोष्टेट ग्रन्थिको सबैभन्दा बाहिर रहेको ७५ प्रतिशत ठाउँ ओगट्ने भागमा मुख्यतया क्यान्सर उत्पन्न हुने गर्दछ । नेपालमा पनि हाल दिन-प्रतिदिन थ्रुपै पुरुषहरूमा प्रोष्टेट क्यान्सर पहिचान हुँदै आएको छ । प्रोष्टेट ग्रन्थिको मध्य भागले २० प्रतिशत ठाउँ लिन्छ । आश्चर्यलाग्दो प्रक्रिया के हुने गर्दछ भने प्रोष्टेटका यी दुई ठूला भागलाई करिब ३० वर्षको उमेरपछि सबैभन्दा सानो अन्तर्कालीन भाग, जो पाँच प्रतिशत मात्र ठाउँ लिन्छ, त्यो बढेर प्रोष्टेट ग्रन्थिको ९५ प्रतिशतसम्म ठाउँ ओगट्छ । यो सिलसिलामा ती ठूला भाग थिचिएर छेउतिर आफ्नै प्रकारको बोक्राको रूप धारण गर्न पुग्छन् । यो सबैभन्दा सानो अन्तर्कालीन भाग बढ्ने पक्रियामा मूत्रनलीबीचको प्वाल पनि साँघुरिँदै जान्छ, फलस्वरूप मूत्रप्रवाहमा यसले अवरोध उत्पन्न गर्दछ ।

आम मानिसमा मात्र होइन कि, धेरैजसो चिकित्सकहरूमा पनि प्रोष्टेट ग्रन्थिको वृद्धि धेरै तौल भएपछिमात्र खतरनाक अवस्थामा पुग्छ भन्ने भ्रम विद्यमान छ । प्रोष्टेट ग्रन्थि १० देखि २० ग्रामसम्मको हुनु नियमित प्रत्रिया मानिन्छ । त्योभन्दा बढी तौल हुँदै गए त्यसको वृद्धि भएको भन्ने गरिन्छ ।

मूत्रनलीको बाहिरी सतहमा भएको ग्रन्थिहरूको वृद्धि भएका खण्डमा पिसाब निष्काशनमा नराम्रो असर पर्ने पक्रिया झनै टड्कारो रूपमा देखापर्दछ । यी ग्रन्थि वृद्धि भएमा प्रोष्टेट ग्रन्थिको मध्य भागले पिसाबको निष्काशनमा पुरुषलाई सबैभन्दा ठूलो समस्या उत्पन्न गराउँछ ।
ग्रन्थिको मध्य भाग बढ्दै गएपछि समूचा ग्रन्थिको तौल जति भए पनि, पिसाबथैलीको घाँटीलाई नै यसले बिर्कोको रूपमा थिन्च सक्ने भएकाले मूत्रप्रवाहमा कल्पना गरेभन्दा बढी नराम्रो असर गर्दछ । फलस्वरूप सुरुमा मूत्रथैलीको मांसपेशी बढी मोटाउने र थैलीमा थुप्रै साना-ठूला खाल्टाहरू बन्ने गर्दछन् । अन्तमा मांसपेशी शक्तिहीन भएर मूत्रनलीको सम्पूर्ण पिसाब निष्काशन गर्न नसक्ने हुन्छ ।

पेटको अल्ट्रासोनोग्राफी गर्दा मूत्रथैलीबाट निख्रन नसकेको पिसाब बाँकी रहेको प्रमाण अभिलेख गर्न सकिन्छ । यस्तो प्रक्रिया लामो समयसम्म रहँदा (खास गरेर ग्रन्थिको बीचको भाग र छेउतिरका भाग बढेर थैलीभित्र प्रवेश गरेको हुन्छ) पिसाब निस्कन निकै गाह्रो हुने र मूत्रथैलीबाट पिसाब दुवै मृगौलातर्फ फर्केर मूत्रवाहिनी नली र मृगौला फुल्ने हुनसक्छ । यस्तो अवस्था आएको खण्डमा बिरामीले पिसाब च्यापेको प्रायः त्यति महसुस गर्दैनन् । तर, मूत्राशय तन्केर शक्तिहीन थैलोमा परिणत हुन्छ । त्यस्ता बिरामी राति सुतको बेलामा ओछ्यानमै अन्जानमा वा थाहै नपाई पिसाब चुहाउने गर्दछन् ।

रगत परीक्षण गरेर हेरेको खण्डमा उनीहरूको मृगौलाको काम गर्ने क्षमता पनि घट्दै गरेको प्रमाण मिल्दछ । यस्ता बिरामीको मूत्रसञ्चालन सक्दो छिटो व्यवस्थित तुल्याएर मृगौला बिग्रनबाट बचाउनु प्रमुख दायित्व हुन्छ ।

मूत्रसञ्चालन दृष्टिमा खतरनाक प्रोष्टेट ग्रन्थि
आममानिसमा मात्र होइन कि, धेरैजसो चिकित्सकहरूमा पनि प्रोष्टेट ग्रन्थिको वृद्धि धेरै तौल भएपछि मात्र खतरनाक अवस्थामा पुग्छ भन्ने भ्रम विद्यमान छ । प्रोष्टेट ग्रन्थि १० देखि २० ग्रामसम्मको हुनु नियमित प्रत्रिया मानिन्छ । त्योभन्दा बढी तौल हुँदै गए त्यसको वृद्धि भएको भन्ने गरिन्छ ।

कति तौल भएको प्रोष्टेट ग्रन्थिले मूत्रसञ्चालनमा कुन प्रकारको हानि, नोक्सानी निम्त्याउन सक्छ, त्यो व्यवहारमा कसैले भन्न सक्दैन । कति तौल भएपछि पिसाब रोक्न सक्छ ? कति तौल भयो भने मूत्रथैलीमा संक्रमण हुन्छ ? कुन तौलमा पत्थरी बन्न सक्छ ? कुन तौलसँग मूत्र रक्तस्राव हुन्छ ? इत्यादि प्रश्नको उत्तर कसैले भविष्यवाणी वा पूर्वानुमान गर्ने कुरो होइन । ग्रन्थिको तौल यति ग्राम भयो भने यस्तो गर्छ भन्न मिल्दै मिल्दैन ।

ग्रन्थिको वृद्धि कुन ठाउँ भएको छ, ग्रन्थि बढेर मूत्रथैलीको घाँटीभित्र छिरेको छ वा छैन र त्यसले मूत्रनलीबाट मूत्रप्रवाहमा कत्तिको अवरोध गरेको छ ? त्यसको विस्तृत लेखा हुनुपर्दछ । मूत्रथैलीको मांसपेशी र स्नायुको अवस्था कस्तो छ ? त्यसले पनि मूत्रवेग र मूत्रसञ्चालनको गति निर्धारणमा ठूलो असर गर्दछ ।

मूत्रथैलीको मांसपेशी कमजोर र स्नायु शिथिल अवस्थामा भए ग्रन्थिले मूत्रनलीलाई खासै नछेकेको भए पनि मूत्रसञ्चालन राम्रो हुन सक्दैन । शरीरमा त्यस्तो अवस्था पनि हुन सक्छ जहाँ ग्रन्थि बढ्नुको सट्टा सुकेर प्रोष्टेट ग्रन्थिले घेरेर राखेको मूत्रनलीको भागलाई साँघुरो पार्छ र मूत्रथैलीको मांसपेशी र स्नायुलाई शिथिल बनाउँछ । त्यस्तो अवस्थामा मूत्रप्रवाह ज्यादै कमजोर हुने र पिसाब फेरिसकेपछि थैलीमा थुप्रै पिसाब बाँकी रहन्छ ।

प्रोष्टेट ग्रन्थिको अरू भाग खासै वृद्धि नभए पनि मूत्रनलीको बाहिरी सतहमा भएका ग्रन्थि वृद्धि भई मध्य भागको उत्पति भए मूत्रनिष्काशनमा ठूलो अवरोध उत्पन्न गराउँछ । यो अवस्थामा समूचा ग्रन्थिको तौल २५ वा ३० ग्राम मात्र छ भनेर ढुक्क भएर औषधोपचार गरेर बस्नु उपयुक्त हुँदैन । खास गरेर प्रोष्टेट ग्रन्थि पिसाबथैलीको घाँटीभित्र सेन्टीमिटरभन्दा बढी छिरेको अल्ट्रासोनोग्राफीबाट अभिलेख आए र मूत्रथैलीमा १०० मिलिमिटरभन्दा बढी ननिख्रेको पिसाब देखापरे, पिसाबको बेग UFM Qmax 10ml-s भन्दा कमजोर भएको बिरामीलाई शल्यउपचारको प्राथमिकतामा राख्नुपर्दछ ।

शल्यउपचार
प्रोष्टेट ग्रन्थिको मध्य भाग बढेर मूत्र अवरोध देखापरेमा त्यसको एकमात्र प्रभावकारी उपचार भनेको शल्यक्रिया हो । औषधोपचारबाट यस्तो ग्रन्थिलाई मूत्रसञ्चालनमा अवरोध गर्नबाट रोक्न सकिन्छ कि सकिन्न भनेर गरिएका अन्तर्राष्ट्रिय अनुसन्धानले खासै उपलब्धि दिन नसक्ने पुष्टि गरिसकेका छन् । त्यसैले औषधोपचारमा अल्झनु भनेको शल्यउपचारलाई आधारहीन रूपमा ढिला गर्नु हो । यस्तो ढिलाइले मूत्रथैलीको मांसपेशी बढी कमजोर हुने गर्दछ ।

ननिख्रेको पिसाबको मात्रा बढ्दै गएको खण्डमा दुवै मूत्रनली र मृगौलाको कार्यक्षमता ह्रास हुँदै जान्छ । बिरामीले यस्तो अवस्थामा शल्यउपचार नगर्नु भनेको टार्न नसकिने कष्टलाई जानी-जानी ग्रहण गर्नु हो । प्रोष्टेट ग्रन्थिको शल्यउपचार परम्परागत तरिकाले चिरेर वा आधुनिक औजारको सहयोगबाट विद्युत् वा लेजर ऊर्जाको प्रयोगबाट बाहिर छालामा कतै घाउ नपारेर नै गर्न सकिन्छ ।

कुनै प्रकारको शल्यक्रिया गर्ने ? त्यसको निर्णय लिन आधुनिक औजार र ऊर्जाको उपलब्धतामा मात्र होइन कि शल्यचिकित्सकको प्रशिक्षण र अनुभवको आधारमा पनि भरपर्ने हुन्छ । यो निर्णय लिने सिलसिलामा बिरामी र उसका सहगामी तथा नातेदारहरूसँग परामर्श गरेर प्रत्येक उपलब्ध शल्यविधिका फाइदा-बेफाइदा बारे सूचनाप्रवाह गर्नुपर्दछ । त्यसपछिमात्र सबै सूचनाको आधारमा दुवैतर्फलाई मान्य हुनेगरी निर्णय लिनुपर्छ ।

माथि उल्लिखित प्रोष्टेट ग्रन्थिका शल्यविधिहरूमध्ये कुनै पनि उपाय आफैँमा नराम्रा वा अपनाउन नमिल्ने छैनन् । यी सबै विधिमा आफ्नै विशेषता छन् र औधी राम्रा पक्ष पनि छन् । त्यति हुँदाहुँदै पनि प्रत्येक शल्यविधिमा केही कमजोर पक्ष पनि विद्यमान छन् । यो यथार्थलाई हामीले आत्मसात् गर्नै पर्दछ । मुख्य कुरो के हो भने शल्यचिकित्सकले शल्यविधिको छनोटमा सहयोग पुर्‍याउन सूचनाप्रवाह गर्दा प्रत्येक व्यक्तिको व्यक्तिको निम्ति अलग्गै त्यस्तो निश्चित रणनीति अपनाउनुपर्ने हुन्छ, जुन बिरामीको निम्ति सबै दृष्टिकोणले उत्तम हुन सकोस् ।

प्रोष्टेट ग्रन्थिको मध्य भाग बढेर मूत्र अवरोध देखापरेमा त्यसको एकमात्र प्रभावकारी उपचार भनेको शल्यक्रिया हो । औषधोपचारबाट यस्तो ग्रन्थिलाई मूत्रसञ्चालनमा अवरोध गर्नबाट रोक्न सकिन्छ कि सकिन्न भनेर गरिएका अन्तर्राष्ट्रिय अनुसन्धानले खासै उपलब्धि दिन नसक्ने पुष्टि गरिसकेका छन् । त्यसैले औषधोपचारमा अल्झनु भनेको शल्यउपचारलाई आधारहीन रूपमा ढिला गर्नु हो । यस्तो ढिलाइले मूत्रथैलीको मांसपेशी बढी कमजोर हुने गर्दछ ।

पछिल्ला दश वर्षमा हाम्रो देशमा थुप्रै निपूर्ण शल्यचिकित्सक तयार भइसकेका छन् । यही अनुपातमा युरोसर्जनको संख्या पनि बढिरहेको छ । तर पनि हाम्रो न्यूनतम शल्यचिकित्सक आवश्यकता पूर्ण गर्न भने अझै थुप्रै चिकित्सकलाई शल्यचिकित्सक र युरोसर्जन हुन लगानी मौका प्रदान गर्नुपर्नेछ । इच्छुक, निरन्तर खट्न सक्ने र खट्न रुचाउने, आफ्नो देश र पेसाप्रति इमानदार र लगनशील, भर्खरका कर्मठ चिकित्सिकमध्ये धेरैलाई ठूलो लगानी लगाएर भए पनि मौका दिएर विशेषज्ञ बनाउनु आजको चिकित्सक समुदाय, निजी उपचारगृह र स्वास्थ्य मन्त्रालयको दायित्व हो ।

चिकित्सकको साथै यस्ता बिरामीलाई सेवा दिने र शल्यक्रियामा सहभागी हुने नर्सहरूको दक्ष जनशक्तिबारे उचित ध्यान दिनु अनिवार्य हुन्छ । त्यसो गर्न सकेमा प्रत्येक प्रान्तीय केन्द्रमा प्रोष्टेट ग्रन्थिको शल्यक्रिया निपूर्ण तरिकाले व्यवस्थित गर्न सकिने छ ।

दक्ष युरोशल्य जनशक्तिको न्यूनतम तयारी र उनीहरूको निम्ति नभई नहुने आधुनिक उपकरणको औचित्यपरक व्यवस्था इच्छाशक्ति भए सजिलै गर्न सकिने कुरो हो । पुरुष आयुवृद्धिको साथै बढ्दै गएको प्रोष्टेट ग्रन्थिबाट हुनसक्ने मूत्र अवरोधको समस्या न्यूनीकरण गर्न नयाँ सोच लिएर अगाडि बढनु नितान्त आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?