महिलामा पिसाब संक्रमणः केही महत्वपूर्ण पक्षहरू

A A- A+

✍️ प्रा.डा. अर्जुनदेव भट्ट

महिलामा हुने पिसाब संक्रमण सीमित रूपदेखि जटिल ज्यान नै लिनसक्ने अवस्थासम्म देखापर्ने हुन्छ । यो रोग २० देखि २४ वर्षसम्मका महिलामा सबैभन्दा बढी हुने गर्दछ । यसको मुख्य कारण रोग प्रतिरक्षा शक्ति कम भएको शरीरको भागमा खतरनाक कीटाणुको आक्रमण हुनु नै हो विषालु कीटाणु र महिलाको शक्तिहीन पोषक तन्तुहरूको अन्तरक्रियाको फलस्वरूप पिसाबको संक्रमण देखापर्दछ ।

कीटाणुहरू थुप्रिएको ठाउँमा ज्यादै नै चाम्रो किसिमले टाँसिएर रहन सक्दछन् । बलियो तन्तुमा संक्रमण हुन ज्यादै विषालु कीटाणुहरू हुनुपर्छ भने कमजोर तन्तुमा संक्रमण गर्न कम विषालु कीटाणु पनि सक्षम हुन्छन् । मसिनो भुवाको सहयोगले ज्यादै चाम्रोसँग टाँसिएर तन्तुमा रहन सक्ने कीटाणुहरू ज्यादै विषालु हुन्छन् ।

मूत्रनली र योनिको मुखको भागमा कीटाणु टाँसिएर रहने र विस्तारै मूत्रथैलीभित्र प्रवेश गर्ने गर्दछन् । फलस्वरूप मूत्रथैलीको र अन्ततोगत्वा सम्पूर्ण शरीरको रक्षा गर्न रगतमा भएका श्वेत कोषहरू कीटाणु भएको अन्तरप्रवाह हुन पुग्दछन् । रक्त श्वेतकोष र कीटाणु भएको ठाउँतिर संघर्षस्थलमा शोथ हुन्छ र पिसाब थैलीका थुप्रै कोषहरू नष्ट हुन्छन् ।

कीटाणु टाँसिएर बन्ने तहले पिसाब थैलीको कोषलाई औषधिबाट पनि रक्षा गर्न सधैँ सम्भव हुँदैन । कीटाणुहरू मूत्रथैली कोषभित्र छिरेर त्यहाँ आफ्नो वृद्धि गर्ने सुरक्षित ठाउँ स्थापित गर्न सक्दछन् । महिलाको मोटो आन्द्रा र योनिबाहेक पिसाब थैलीको कोषभित्र नै कीटाणु सञ्चित वा जम्मा भएर रहन सक्दछन् । त्यसैले एकपल्ट पिसाब संक्रमण ठीक भए पनि फेरि केही समयमा मूत्रसंक्रमण दोहोरिने वा नयाँ रूपमा देखापर्ने सम्भावना भइरहन्छ ।

महिलामा मूत्रसंक्रमण बढी हुनाका कारणहरू
मूत्रनली ज्यादै छोटो हुनुले कीटाणुलाई पिसाबको थैलीभित्र पुग्न थोरै मात्र व्यवधान झेल्नुपर्ने हुन्छ । योनिको मुखनेर प्रायः कीटाणुहरूको बस्ती हुने भएकाले सजिलै मूत्रथैलीमा भित्रिन सक्दछन् । त्यसैगरी छोटो दूरीका कारण मलद्वारबाट पनि मूत्रथैलीभित्र कीटाणुहरू सहजै प्रवेश गर्न सक्दछन् । खास गरेर दिसा गरेपछि धुँदा वा पुछ्दा योनितिर पर्ने गरी सफा गर्ने गरेमा पनि कीटाणुहरू मूत्रनलीमा सहजै प्रवेश गर्दछन् ।

योनिमा कीटाणुको बाक्लो बस्ती आनुवंशिक तत्वहरूमा पनि निर्भर हुने गर्दछ । बारम्बार पिसाब संक्रमण हुने महिलाहरूमा एक प्रकारको आनुवंशिक तत्व बढीमात्रामा पाइने गरेको छ । रक्तसमूहका आधारमा पनि कुनै समूह पिसाब संक्रमणबाट बढी पीडामा पर्ने र अरू कम असरमा पर्ने पाइएको छ ।

योनिमा सामान्य अवस्थामा हुने रक्षक कीटाणुलाई खलबल्याउने कुनै पनि औषधि वा परिवार नियोजनका साधनले पनि पिसाब संक्रमणलाई बढावा दिन्छन् । यो महिलामा हुने पिसाबको संक्रमण बिरामी र चिकित्सक सबैका निमित्त एउटा ठूलो चुनौती हो ।

यौनकार्यले पनि योनिमा हुन सक्ने कीटाणुको बस्ती र पिसाब संक्रमणको बारम्बारतामा भरपर्ने गर्दछ । यौनसम्बन्धको समयमा योनि र मूत्रनलीबाट कीटाणुहरू मूत्रथैलीमा प्रवेश गर्नसक्ने सम्भावना ज्यादै बढ्दछ । त्यस्तै, महिलाले प्रयोग गर्ने अस्थायी परिवार नियोजनका साधनले योनिमा हुने सूक्ष्म वातावरणलाई खलबल्याउने हुँदा त्यसको प्रयोगबाट मोटो आन्द्रामा हुने कीटाणु ई. कोलीलाई योनिमा प्रवेश गरेर बस्ती बसाउन बढी उपयुक्त वातावरण तयार हुन्छ ।

महिनावारी सुक्ने वा शल्यक्रिया गरेर महिनावारी हुनबाट वञ्चित महिला वा हर्मोनमा कमी हुन गएका महिलाहरूमा योनि सुक्खा हुनाले यौनसम्बन्ध गर्दा बढी सूक्ष्म घाउचोट हुने र फलस्वरूप चोट पुगेको ठाउँमा कीटाणुको बस्ती बस्ने र मूत्रसंक्रमण धेरै हुने गर्दछ । साथै औषधिको सेवनमा पनि विचार नपुर्‍याएर जथाभावी गर्दा योनिको सूक्ष्म वातावरण खल्बलिएर रोग उत्पन्न गर्ने कीटाणुको बस्ती बढ्ने हुन्छ । त्यतिमात्र नभई यौनसम्बन्धपछि कीटनाशक औषधि वा रसायन पदार्थ प्रयोग गरेर योनि सफा गर्ने गर्दा पनि योनिको वातावरणमा खलबल आएर पिसाब संक्रमण गर्नसक्ने कीटाणुहरूलाई प्रोत्साहन मिल्ने गर्दछ ।

पिसाब संक्रमणको निदान
पिसाब फेर्दा पोल्ने, दुख्ने, टट्याउने, पिसाब थोपा-थोपा गरेरमात्र निस्कने, जति बसे पनि पिसाब पूरा निख्रेको आनन्द उपलब्ध नहुने र छिटो–छिटो पिसाब फेर्न गइराख्नुपर्नेजस्ता लक्षणले पिसाबमा संक्रमण भएको प्रष्ट्याउँछ । यस्तो हुँदा ज्वरांश वा जाडो भएर ज्वरो आउने, तल्लो पेट दुख्ने, कोखा दुख्ने, कमजोरी हुने र बेचैनीको अनुभव हुन्छ । यदि यस्तो अवस्थामा योनिबाट पीप र फोहोर पानी खस्ने भएको खण्डमा त्यो अवस्थामा मूत्रसंक्रमणभन्दा योनि, पाठेघर र स्त्री अंगकै संक्रमणसँग बढी सम्बन्धित हो भनी बुझ्नुपर्दछ ।

पिसाब फेर्दा दुख्ने र पिसाबमा रगत जाने पनि धेरै महिलाहरूले अनुभव गर्दछन् । यो लक्षण ज्वरोसँगै वा बिनाज्वरो पनि देखापर्न सक्दछ । पिसाब गन्हाउने वा फोहोर र धमिलो पनि हुन सक्दछ । यस्तो अवस्था मधुमेह हुने महिलामा पिसाब संक्रमण हुँदा बढी देखापर्दछ । यस्तो बखत पिसाब जाँच, रगतको परीक्षण, अल्ट्रासाउण्ड, एक्स-रे र सिटीस्क्यानजस्ता जाँचहरूले रोग निदान र उपचारमा सहयोग पुर्‍याउँदछन् । यौन सहभागीको पिसाब र वीर्य जाँच पनि गराउनै पर्दछ ।

महिलामा पिसाब संक्रमणको उपचार
उपचारको मुख्य उद्देश्य पिसाबबाट कीटाणु निराकरण गराउनु हो । यो अवस्था प्रतिजीवाणु (एन्टिबायोटिक)को प्रयोगबाट छिट्टै उपलब्ध गर्न सकिन्छ । कुन प्रकारका कीटाणुलाई कस्तो प्रतिजीवाणु औषधि बढी उपयुक्त हुन्छ ? त्यसको राम्रो ज्ञान राखेरमात्र औषधिको प्रयोग गर्नुपर्दछ । संक्रमण कुन कीटाणुबाट भएको हो र उक्त कीटाणु कुन प्रतिजीवाणुले निराकरण गर्नसक्छ ? भन्ने कुरा निक्र्योल हुन प्रयोगशालाबाट जाँच हुनु र सोहीअनुसार औषधि उपचार हुनु सफल उपचारको महत्वपूर्ण पक्ष हो ।

पिसाब संक्रमणको कीटाणुमात्र होइन, मूत्रप्रणालीको कुन ठाउँमा (मिर्गाैला वा पिसाब थैली) कीटाणुको बस्ती छ र तिनीहरूले संक्रमणको केन्द्र कहाँ बनाएका छन् ? त्यसमा पनि कुन प्रतिजीवाणुको प्रयोग गर्ने ? भन्ने कुरामा भर पर्दछ ।

महिलामा पिसाब संक्रमणको उपचार गर्दा यो रोग जटिल अवस्थामा छ वा छैन भनेर सधैँ छुट्याएरमात्र उपचार हुनुपर्दछ । यस्तो अवस्थाको संक्रमण भनेको मधुमेहका बिरामी, गर्भवती महिला, पत्थरी, मूत्रवेगको अवरोध भएका र ढाडमा चोट लागेर त्यसभित्र रहेको मस्तिष्कलाई आघात परेका बिरामीहरूमा देखिने पिसाब संक्रमण हो ।

जटिल अवस्थाको पिसाब संक्रमणमा दुख्ने लक्षणबाहेक बान्ता हुने, बिरामीलाई विषाक्त र अति कमजोर देखापर्ने, जाडो भएर ज्वरो आउने र प्रतिजीवाणुको प्रयोग गर्दागर्दै पनि केही घण्टाभित्रै फाइदा महसुस नहुने भए उपचार प्रायः २-३ हप्ता गर्नैपर्ने हुन्छ । यस्ता बिरामीको उपचार सुरुका दुई–तीन दिन नशाभित्र प्रतिजीवाणु औषधि दिएर त्यसपछि अवस्थामा धेरै सुधार (विषाक्त नदेखिनु, ज्वरो नहुनु, धेरै कमजोरी नहुनु इत्यादि) भएपछि मात्र बाँकी उपचार मुखबाट औषधि सेवन गरी गर्नुपर्दछ । तर, अलि फाइदा देख्नासाथ छोटो समयमा तीन हप्ताभन्दा कम उपचार गरेर छोड्दा रोग फेरि बल्झने सम्भावना प्रशस्त हुन्छ ।

मूत्रप्रणालीमा कहीँ पत्थरी भए, पिसाब निष्कासन नली साँघुरिएको भए, पिसाब फेर्दा मूत्रथैलीबाट मूत्रनली हुँदै पिसाब मिर्गाैलातिर फर्किने गरेको भए वा अरू कुनै पनि प्रकारको पिसाबमा अवरोध भए त्यसको उपचार शल्यविधिबाट समयमै गरिहाल्नुपर्दछ । त्यस्तै, मूत्रथैलीले आफ्नो ठाउँबाट तल झरेर पिसाब निष्कासन नलीलाई मोड्ने भएकाले पिसाब गर्दा बल गर्नुपर्ने, पिसाब ननिख्रने र पिसाब संक्रमण हुने भएको हुँदा यस्तो रोग देखापरे शल्यक्रिया गराउनुपर्दछ । तर, मूत्रथैलीमा जाने नशाहरूको कमजोरी वा पूरै खराबी भएर थैलीमा थुप्रै पिसाब हुँदा पनि पिसाब नच्याप्ने, पिसाब निष्कासन गरेपछि थैली ननिख्रने भएमा बिरामी आफैंले पिसाब निष्कासन नलीमा रबरको नली हालेर पिसाब निखार्न सिक्नुपर्दछ । यो तरिका प्रयोग गरेर हाल नेपालमै पनि सयौं महिलाहरू पिसाब संक्रमणबाट मुक्त वा कम पीडाको अवस्थामा छन् ।

यौनकार्य गरेपछि पिसाब संक्रमण अनुभव गर्ने महिलाहरूले यौनसम्बन्ध भएपछि एक मात्रामात्र उपयुक्त प्रतिजीवाणु औषधि सेवन गरेर संक्रमणबाट मुक्त हुन सकिन्छ । यस्तो खालको रोगनिरोधक उपाय अपनाएर आफूलाई स्वस्थ राख्नु भनेको भविष्यमा हुनसक्ने ठूलो पिसाब संक्रमणबाट बच्ने एउटा ज्यादै सरल उपाय हो । त्यसका अलावा यौनकार्य गर्नुअघि र लगत्तै पछि पिसाब निष्कासन गरेर मूत्रथैलीलाई खाली गराउनै पर्दछ ।

यौनसम्बन्धको समयमा योनि सुक्खा भएर पीडा अनुभव गर्नेले चिकित्सकको रायअनुसार उपयुक्त औषधि उपचार र योनिमा लगाउने चिप्लो पदार्थको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ ।

यौनसम्बन्धका समयमा योनि सुक्खा भएर पीडा अनुभव गर्नेले चिकित्सकको रायअनुसार उपयुक्त औषधि उपचार र योनिमा लगाउने चिप्लो पदार्थको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ ।

महिलामा देखापर्ने पिसाब संक्रमणको उपचारपछि रोगका लक्षणहरू पूरै हराउनुपर्छ र पिसाबको जाँच गर्दा कीटाणुहरू हुनुहुँदैन । पिसाब संक्रमणबाट छिटो र तिनै कीटाणुबाट पुनराक्रान्त हुनुनपरोस् भन्नका खातिर पिसाब जाँच गराएर उपचारपछि पिसाबमा कीटाणु छैनन् भन्ने कुरामा यकिन हुनै पर्दछ । नयाँ कीटाणुबाट लामो समयपछि फेरि पनि पिसाब संक्रमण हुनसक्छ जसलाई पुनः संक्रमण भनिन्छ । तर, फेरि-फेरि हुने पिसाब संक्रमण पुरानै कीटाणु बाँकी रहेर वा अरू नै नयाँ कीटाणु सरेर भएको पनि हुन सक्दछ ।

निचोड
महिलामा देखिने पिसाब संक्रमण आमरोग हो । यो अवस्थाले सामान्य पिसाब पोल्ने, छिटो-छिटो पिसाब फेर्नुपर्नेदेखि ज्यादै जटिलरूपमा जाडो भएर ज्वरो आउने, औधी कमजोर पार्ने, विषाक्त पार्ने, बान्ता आउने र ज्यानसमेत लिन सक्दछ ।

महिलाहरूको पिसाब संक्रमण शरीरको बनावटको विशेषता, नारी हर्मोनको कमी, गर्भधारणको अवस्था, पिसाबमा कुनै पनि प्रकारको अवरोध, मधुमेहजस्ता अरू रोगबाट समेत प्रभावित हुन्छ भने यौनसम्बन्धबाट संक्रमणलाई मूत्रथैली प्रवेशमा बढी सहज पर्न सक्दछ र केही आनुवंशिक तत्वहरूले पनि महिलामा पिसाब संक्रमणलाई साथ दिन सक्दछ ।

योनिमा सामान्य अवस्थामा हुने रक्षक कीटाणुलाई खलबल्याउने कुनै पनि औषधि वा परिवार नियोजनका साधनले पनि पिसाब संक्रमणलाई बढावा दिन्छन् । यो महिलामा हुने पिसाबको संक्रमण बिरामी र चिकित्सक सबैका निमित्त एउटा ठूलो चुनौती हो । (वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?