शारीरिक अवस्था र पानी

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

✍️प्रा.डा.अर्जुनदेव भट्ट

विषय प्रवेश
शरीरका निम्ति पानीको ठूलो महत्व छ, त्यसमा दुईमत छैन । तर, मानिसले कति पानी पिउनुपर्छ ? सोझै उत्तर दिन ज्यादै गाह्रो छ । शरीरबाट मिर्गाैला भएर निस्कने हानिकारक तत्वहरू प्रायः पानीमै घुलेर पिसाबका रूपमा बाहिरिन्छन् । त्यसका निमित्त सामान्य अवस्थामा डेढ लिटर पिसाब २४ घण्टामा उत्पादन गर्नुपर्ने हुन्छ तर असामान्य अवस्थामा पिसाबको मात्रा घटबढ गराएर हानिकारक तत्वहरूलाई जिउबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी शरीरको अवस्थालाई ध्यानमा राखेर सेवन गर्नुपर्छ ।

स्वस्थ अवस्थामा मिर्गाैलाले आवश्यकभन्दा थोरै वा धेरै तरल पदार्थ शरीरभित्र प्रवेश भए सजिलैसँग सन्तुलन गरेर शरीरलाई हानि हुनबाट रोक्न पिसाबको मात्रा घटबढ गरेर नियन्त्रण गर्दछ । विभिन्न रोगको अवस्थामा शरीरले पानीको मात्रा नियन्त्रण गर्न नसक्ने भएकाले तरल पदार्थ तथा पानीको अभाव वा चाहिनेभन्दा धेरै भए पनि शरीरलाई ठूलो हानि हुन सक्दछ । कुन-कुन अवस्थामा बढी वा थोरै पानी सेवन गर्नुपर्दछ ? त्यसबारे सामान्य जानकारी राख्नु उत्तम हुन्छ ।

पानीको मात्रा बढाउनुपर्ने अवस्थाहरू
बढी प्रोटिन भएको भोजन गर्नेहरूलाई शरीरमा उत्पादन भएको घातक पदार्थ सजिलोसँग दिसापिसाबबाट निष्काशन गर्न तरल पदार्थको मात्रा केही बढी नै आवश्यक पर्दछ । पानीको मात्रा बढाउँदा खुट्टाहरू वा शरीर सुन्निने गर्दैनन् । पिएजति पानी समयमै शरीरबाट निस्किरहन्छ । तर, पिसाब फेर्दा कुनै खास अवरोध हुन्छ कि हुँदैन भन्ने कुरा यकिन हुनुपर्दछ ।

शरीर फुल्ने र पिसाबको मात्रा ज्यादै थोरै हुने गरेमा प्रशस्त तरल पदार्थ सेवन गर्दा र पानी बढी पिउँदा पिसाब धेरै होला भन्दै कुर्नु उपयुक्त हुँदैन । त्यसैगरी उच्च रक्तचाप हुँदा पिसाब धेरै निकाल्ने औषधि सेवन गरेको अवस्थामा पानी बढी पिउनुपर्ने हुन्छ । सामान्यतया अधबैँसे वा बढी उमेरका बिरामीले बेलुका धेरै पानी नपिउनु राम्रो हुन्छ । होइन भनेर राति पिसाब फेर्न उठिराख्नुपर्ने हुँदा निद्रामा नराम्रो असर पर्न सक्दछ ।

मधुमेहबाट पीडित बिरामीहरू सामान्यतया धेरै पिसाब फेर्ने गर्दछन् । उनीहरूले प्रायः मुख सुकेको पनि अनुभव गर्न सक्छन् । यस्तो अवस्थामा सर्वप्रथम रगतमा चिनीको मात्रा ठीक छ वा छैन भनेर खाली पेटमा अनि खाना खाएको दुई घण्टामा जाँचेर हेर्नुपर्दछ ।

रगतमा हुनुपर्ने जतिमात्र ग्लुकोजको स्तर छ तर पानी प्यास बढी नै लाग्छ भने तरल पदार्थ तथा पानीको सेवन बढाएर हेर्नु उपयुक्त हुन्छ । यद्यपि मधुमेहका बिरामीको जिउ सुनिने गरेमा र २४ घण्टामा तीन-चारपल्टमात्र पिसाब भए पानीको मात्रा बढाउनु जोखिमपूर्ण हुन सक्छ ।

पिसाबमा माइक्रो आलबुमिन धेरै गएको देखापरे मिर्गाैलामा मधुमेहले केही खराबी गरेको प्रमाणित हुन्छ । त्यसैगरी मूत्रप्रणालीमा पत्थरी भएका बिरामीहरूले सामान्यतया पानीको मात्रा बढाउनुपर्छ । कम्तीमा २४ घण्टामा तीन लिटर पिसाब हुनेगरी अन्य तरल पदार्थ तथा पानीको सेवन गर्नुपर्दछ । मूत्रप्रणालीमा पत्थरी बन्नलाई सुरुमा कण-मणि (बालुवा) बन्नुपर्ने भएकाले तिनीहरू मिलेर साना वा ठूला पत्थरी नबनून् भन्न पिसाबको मात्रा कम्तीमा २४ घण्टामा तीन लिटरको लक्ष्य राख्नुपर्दछ ।

हिँड्डुल कम गर्ने वा आलस्य जीवन बिताउनेलाई भन्दा गतिशील जीवन व्यतीत गर्नेलाई पिसाबबाट बालुवा निकाल्न सजिलो हुन्छ ।
पिसाबको लक्ष्य उपलब्ध गर्न दुई-तीन घण्टामै थुप्रै पानी पिउने अनि घण्टौँ तरल पदार्थ सेवन नगर्ने बानी स्वास्थ्यका दृष्टिले वैज्ञानिक मानिँदैन । पत्थरी हुने बिरामीलाई सुत्नुअघि पिसाब फेरेर एक गिलास पानी पिउन सल्लाह दिइन्छ । पत्थरी वा अरू कारणले मिर्गाैलाको कार्यक्षमतामा धेरै ह्रास आएको छ भने वा मुटुको कमजोरीले शरीरबाट तरल पदार्थ निकाल्नमा गाह्रो भएर शरीर फुल्ने गरेको छ भने पानीको मात्रा पत्थरी रोगमा समेत रोक लगाउनै पर्ने हुन्छ ।

पानीको मात्रा घटाउनुपर्ने अवस्थाहरू
पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढेर वा सुकेर मूत्र निष्काशनमा अवरोध भए तथा शौच गरिसकेपछि पनि पिसाब थैलीमा पिसाब ननिख्रिएमा धेरै पानी पिउँदा मिर्गाैलालाई हानि पुग्न सक्छ । मिर्गाैला, मुटु वा कलेजोको जुनसुकै कारणबाट भए पनि शरीर फुल्ने भएमा जति पायो त्यति तरल पदार्थ तथा पानी सेवन गर्नु उपयुक्त हुँदैन । तरल पदार्थको सेवन अनुपातमा पिसाबको मात्रा निकै कम भए पानी धेरै पिउनुहुन्न ।
(वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Prashnakarta
Prashnakarta
Admin
2022-08-21 9:30 pm

याे पुस्तक कहाँ पाइन्छ हाेला ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?