काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण भएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभीको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो । आयोजनाअन्तर्गत नै सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा वानेश्वरमा २२० केभी सबस्टेसन गत वर्षको साउनदेखि नै सञ्चालित छन् । सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५ को असारमा दुई करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत् मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ, जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।’
वसन्तपुर सबस्टेसनमा तुम्लिङटार र ताप्लेजुङको ढुंगेसाँघु सबस्टेसनबाट विद्युत् आउनेछ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फमात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङटारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा-वसन्तपुर-तुम्लिङटार प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तारमात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ ।
नेपाल सरकारको लगानी र भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिनेछ । कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोर निर्माण गरिएको हो ।
कोशी करिडोरअन्तर्गत वसन्तपुर-ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने एक सय २८ टावरमध्ये छवटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
वसन्तपुर-ढुंगेसाँघु २२० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ढुंगेसाँघु सबस्टेसन निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३/७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजना जोडिनेछन् ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारतले एक्जिम बंैकबाट दिएको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारण लाइनमार्फत् तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुर्ई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबैभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच