स्वास्थ्य संवेदनामाथि विचार पुर्‍याऔं

हिमालय टाइम्स
Read Time = 6 mins

उपत्यकाको विभिन्न ठाउँमा हैजाका जीवाणु फेला परेको समाचार सार्वजनिक भएसँगै स्वास्थ्य क्षेत्रमा अर्को चुनौती थपिएको छ । स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । मानिस स्वस्थ छैन भने ऊबाट कुनै रचनात्मकताको अपेक्षा गर्न सकिँदैन । नागरिकहरू स्वस्थ भएका खण्डमा मात्र राष्ट्रले सकारात्मक बाटो लिन सक्छ । नारिकहरूलाई स्वस्थ राख्नु राज्यको दायित्वमा पर्छ । यही दायित्व पूरा गर्ने क्रममा देशले ठूलो धनराशि स्वास्थ्य क्षेत्रमा खर्च गर्दै आएको हुन्छ । अस्पताल, औषधालय तथा औषधि उत्पादन केन्द्रहरू स्थापना र सञ्चालन गरेको हुन्छ । वर्षेनी बजेट भाषणमा स्वास्थ्य क्षेत्रका लागि बजेटको ठूलो हिस्सा छुट्याएको हुन्छ ।
हालका दिनमा राजधानी काठमाडौंमै हैजाका बिरामी फेला परेको समाचारले एक पटक गम्भीर भएर सोच्नुपर्ने भएको छ । हैजा एक प्रकारको महामारी हो । यो एक प्रकारको झाडाबान्ता नै हो तर सामान्य झाडा पखाला अन्य विभिन्न कारणबाट हुने भए तापनि हैजा भने हैजाका जीवाणुकै कारणले हुने महामारी हो । हालका दिन यसलाई पाँच÷छ दशक पहिलेको जस्तो महामारीका रूपमा लिइँदैन तैपनि अहिले यो सामान्य रोग भने होइन भन्ने सामान्यताका दृष्टिकोणबाट हेर्ने गरिएको छ । अहिलेभन्दा चार÷पाँच दशक पहिले अहिलेको जस्तो स्वाथ्योपचारको पहुँच नभएका बेला गाउँघर हैजाले आक्रान्त हुने गरेका थिए । कतिपय घरपरिवारका सम्पूर्ण मानिस हैजाबाट संक्रमित भएकाबेला रेखदेख गर्ने मानिसको अभाव खड्किन्थ्यो । छरछिमेकी आउन डराउँथे ।

जनचेतनाको कमीले यस्तो अवस्थामा पानी खानसमेत बन्देज गरिन्थ्यो र धेरै मानिसको अकाल मृत्यु हुने गथ्र्यो । कतिपय मानिसलाई हैजाबाट प्रभावित भएका बेला अरूले ती बिरामीको सेवासमेत गर्न डराउँथे । हालैको कोरोना संक्रमणभन्दा हावाबाट सर्ने भएका कारण यसलाई अझै खतरनाक मानिएको थियो । सडेगलेको खानेकुरा खाने गर्नाले हैजा लाग्छ र यस्ता बिरामीको दिसालगायत जीवाणु हावाबाट पनि अरूमा सर्ने भएकाले हैजा छिटै संक्रमण हुने महामारी मानिन्छ । पहिले देखापरेका प्लेग, बिफर जस्ता केही महामारी अहिले निर्मूल भइसकेका छन् भने केही नियन्त्रणमा छन् । विभिन्न खालका फ्यु, टिबी, सार्स, औलो, एड्सलगायत मानिसका लागि खतरनाक मानिए तापनि नियन्त्रणमा छन् ।

हैजा निर्मूल नभए तापनि यसरी मानिसको नियन्त्रणमा रहेको माहामारी मानिन्छ । यदि नियन्त्रणबाट बाहिर आयो भने फेरि नियन्त्रण गर्न मुस्किल पर्दछ, बेलैमा सतर्कता अपनाउन जरुरी छ । राजधानीमै यस प्रकारको समस्या देखिनुले सचेत रहन बाध्य पारको छ । उपत्यका बाहिरको अवस्था र सम्भावनाको आकलन गर्न हामीलाई बाध्य बनाउँछ । दुर्गम स्थान, स्वस्थ खानेकुरा र सफा पिउने पानीको अभाव वा कमी भएका ठाउँ तथा सरसफाइको कमी हुने ठाउँहरूमा भने रोगव्याधीको सम्भावना अझै बढी रहन्छ । औषधोपचार गर्न भने तिनै ठाउँहरूमा असजिलो हुन्छ । त्यस्ता ठाउँमा स्वास्थ्यकर्मीको अभाव हुनु ती ठाउँका लागि अभिशाप मानिन्छ ।

देशको एक ठाउँमा कुनै घातक महामारी देखा पर्नासाथ सबैतिर समान रूपमा सतर्कता अपनाउन जरुरी हुन्छ । अझै राजधानीमै यस्तो रोगका बिरामी देखिनाले यसलाई सामान्य मानेर बेवास्ता गर्नु हुँदैन । सरकारले यथाशीघ्र राम्रो उपचार प्रबन्ध मिलाउनुपर्छ र त्यसका लागि कुनै प्रकारको कमीकमजोरी हुन दिनु हुँदैन । यस्तो अवस्थामा नागरिकले सरकारलाई मात्र जिम्मेवारी र दोष थोपर्नु हुँदैन । नागरिकले आफ्नोतर्फबाट सचेतता अपनाउनुपर्ने हुन्छ । आफ्नो स्वाथ्यको ख्याल गर्नु नागरिकको कर्तव्य हो । सरसफाइमा ध्यान दिनुका साथै खानपानमा समेत ध्यान दिनुपर्ने हुन्छ । जसले गर्दा रोग लागेपछि उपचार गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ सघाउ पुग्छ । यसतर्फ विचार पुर्‍याउनु बुद्धिमत्तापूर्ण हुनजान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?