विसं २०८० हामीबाट बिदा भइसकेको छ । नयाँ वर्ष २०८१ को पदार्पण पनि भइसकेको छ । समयको क्रमसँगै यसरी समयको चक्र घुमिरहने प्रक्रिया प्राकृतिक नियम हो, नौलो कुरा भनिरहनु पर्दैन । वैशाख १ गतेलाई विसं अनुसार नयाँ वर्ष मान्ने गरिएको छ । वसन्त ऋतुमा पर्ने भएकाले प्रकृतिमा आमूल परिवर्तन हुन्छ । बोटबिरुवा वनस्पतिहरूमा नयाँ पालुवा पलाउँछन् । वनभरि फूल फुल्छन् र फल फल्छन् । चराचुरुंगीहरूको तान अरू समयमा भन्दा बढी गुञ्जयमान हुन्छन् । यी नियमित प्रक्रियासँगै मानिसमा पनि नयाँ सोच नयाँ उमंग र नयाँ योजना बन्छन्, बनाइन्छन् तर ती सबै पूरा हुन सक्दैनन् ।
साधन र स्रोतको कमीले पूरा हुन नसक्नु एउटा पाटो हो भने मानिसको निचमार्ने स्वभाव, बद्नियत अर्को पाटो हो । सबै मानिसमा यस्तै स्वभाव हुन्छ भन्ने छैन । मानिस जिज्ञासु हुन्छ, केही गर्न चाहन्छ र प्रयास जारी राख्छ । नयाँ वर्ष २०८१ सँगसँगै यस्ता केही प्रयासको प्रतिबद्धता व्यक्त गरिएको छ । अग्रगमन मानिसको स्वभाव हो । यही क्रममा यो २०८१ सालमा काठमाडौंको केन्द्रमा अवस्थित क्षेत्रहरू चौबीसै घण्टा सञ्चालन हुने भएका छन् । ठमेल र दारबारमार्ग सबैभन्दा बढी व्यावसायिक क्षेत्र हुन् भने पर्यटकहरूको आवागमन भइरहने स्थान हुन् ।
यी क्षेत्रहरूमा दिवा समयभन्दा रात्रिकालीन व्यवसाय बढी चल्ने गर्छन् । पर्यटकीय क्षेत्र भएकाले विदेशी मुद्रा आर्जनसमेत हुन्छ । चौबीसै घण्टा सञ्चालन हुनु आवश्यक छ भन्ने सोचका साथ यस वर्षको सुरुवातदेखि प्रयास भएको छ । होटल, पसल, रेष्टुरेन्ट, दोहोरी साँझ, क्लब, डिस्कोलगायत मनोरञ्जनात्मक व्यवसाय सञ्चालन हुनुले राष्ट्रको अर्थतन्त्रलाई टेवा पुग्ने सम्भावना नरहने होइन तर यसका लागि अनेक दृष्किोणबाट हेरिनु आवश्यक छ । राति सञ्चालन हुने र चौबीसै घण्टा यो क्षेत्र खुला रहनाले यसका सकारात्मक सोचसँगै विकृति पनि नआउलान् भन्ने छैन । विकृतीजन्य कार्य निरुत्साही हुन सक्नुपर्छ । ठमेल र दरबारमार्ग लागू औषधको कारोबार र दुव्र्यसनमा लागेका व्यक्तिहरूको चहलपहल हुने क्षेत्रका रूपमा चिनिँदै आएका छन् ।
कानुन निषेधित यौनव्यवसाय पनि हुनेगरेको भन्ने लाञ्छनाबाट यी क्षेत्र मुक्त थिएनन् । अब पनि यस्ता गलत कार्यले यी क्षेत्रमा प्रश्रय पाउनु हुँदैन । नेपाल सरकारको गृहमन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा काठमाडौं महानगरपालिकाको समन्वयमा हाल यो प्रयास भएको हो । यो प्रयास कत्तिको सफल हुन्छ त्यो हेर्न केही समय कुर्नैपर्छ तर यी निकायहरूको समन्वय भएकाले यो प्रयास अवश्यै सफल हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । यसपहिले काठमाडौं महानगरभित्र चौबीसै घण्टा रात्रिसेवामा बसहरू चलाउने भनिएको थियो र केहीसमय सञ्चालन पनि गरियो तर त्यस्ता बस सेवा सुचारु हुन सकेनन् ।
केही समय सञ्चालनमा आएर ती सेवाहरू बन्द हुनपुगे । सेवा दिने प्रयास गर्नु र अर्थतन्त्र चलायमान बनाउनुका साथै यसका माध्यमबाट राष्ट्रलाई समृद्ध बनाउन खोज्नु निश्चिय सकारात्मक हो । तर, यससँग जोडिएर आउने नकारात्मक पक्षलाई बेवास्ता गर्नुहुँदैन । नेपाल प्रहरी, नेपाली सेना र साझाका पेट्रोल पम्पहरू पनि चौबीसै घण्टा सञ्चालनमा आउने भनिएको छ । ती प्रयास सफल बनून् । यस्ता प्रयास सफल बन्दै गए रात्रिकालीन व्यवसायका लागि अन्य क्षेत्र विस्तार गर्दै लान सकिनेछ । पर्यटकीय क्षेत्र भनेर चिनिएका ललितपुर जिल्लाका झम्सिखेल, मानभवन, जावलाखेल, थसिलेख, कुसुन्तीलगायत क्षेत्रहरूमा यस्ता प्रयास गर्दा अनुपयुक्त मानिने छैन । काठमाडौंको ज्याठा क्षेत्र पहिलेदेखिकै व्यावसायिक क्षेत्र मानिन्छ ।
यी क्षेत्रहरू सञ्चालनमा आउन सके यस प्रयासलाई उपयुक्त मान्नपर्छ तर यसका लागि प्रशासन, प्रहरी, नगरपालिका, सरकार सबैको सक्रिय सहभागिता र समन्वय भइरहनुपर्छ भने सेवाग्राहीहरूले पनि यस्ता प्रयासलाई सफल बनाउन सक्रियता देखाउनुपर्छ । नयाँ वर्षमा यस्ता नयाँ प्रयास सफल बन्न सकून् । साथै सबैभन्दा स्वच्छ र पवित्र भएर नेपालको राजनीतिक धरातल सञ्चालन हुन सकोस् । राजनीतिमा देखिँदै आएका अनेकौं गलत अभ्यास यस वर्ष नदेखिऊन् । जनताले जहिल्यै पनि नेपाली राजनीतिलाई गाली गर्दै र आलोचना गर्दै गर्नुपर्ने अवस्थाको अन्त्य होस् । नेपालीको राजनीतिप्रतिको वितृष्णा हटेर जानसकोस् । २०८० सालमा देखिएका राजनीतिका गलत अभ्यास यसवर्ष नदोहोरिऊन्, हामी यही कामना गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच