जुत्ताचप्पल उद्योगी आन्दोलित

Read Time = 4 mins

काठमाडौं । स्वदेशी जुत्ताचप्पल उद्योगीले सरकार आफैंले जुत्ताचप्पल उद्योग सञ्चालन गर्न लागेको भन्दै विरोध जनाएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको हो । नेपाली सेनाले अमेरिकी ब्राण्डको जुत्ता कारखाना सञ्चालनमा ल्याउने चर्चापछि एसोसिएसनले असन्तुष्टि प्रकट गरेको हो ।

एसोसिएसनद्वारा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले सरकार आफैंले नयाँ उद्योग खोले भएका निजी जुत्ताचप्पल उद्योग बन्द गरेर बस्नुपर्ने अवस्था आउने बताउनुभएको छ । भएका उद्योगलाई नीतिगतरूपमा संरक्षण गर्ने भएकाले कुनै पनि देशमा सरकार आफैंले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको घिमिरेको भनाइ छ । नेपाली जुत्ताचप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहे पनि सरकारको नीतिगत व्यवस्था र अन्य कारण नेपाली निजी जुत्ता उद्योग हाल ३५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुँदै आएको उहाँले जानकारी गराउनुभयो ।

एसोसिएसनले नेपालको दक्षिणी सिमानाबाट हुने चोरी, पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीलाई मार परेको भन्दै खुला सीमामा हुने चोरी, पैठारी नियन्त्रण गर्न सशक्तरूपमा लाग्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायी मर्कामा परेको भन्दै चोरी पैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउनुपर्ने एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले ३० अर्ब व्यवसायीको लगानी र चार अर्बभन्दा माथि बैंकको लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भन्सार नाकामा गस्ती बढाउनका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले सक्रियतासाथ चोरी पैठारी नियन्त्रणमा लाग्नुपर्ने उहाँको भनाइ छ । स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न पनि एसोसिएसनले माग गरेको छ ।

एसोसिएसनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको थियो । दुई करोड २५ लाख १२ हजार आठ सय ३७ जोर जुत्ताचप्पल चोरी पैठारीमार्फत् भित्रिएको थियो । एक तिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा एक हजार पाँच सयभन्दा बढी रहेको एसोसिएसनले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ मूल्य बराबरको जुत्ताचप्पल निर्यात भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?