राजनीतिक नेतृत्वले आकाश-पाताल देखाएर आफ्नो उल्लु सिधा गरिरहेका हुन्छन् अपवादबाहेक । तर, जनता तिनै उल्लु कुराहरूमा विश्वास गर्न विवश छन् । कति बढाएर बुझ्ने र कति खुम्च्याएर अनुभव गर्ने भन्ने द्विविधामा नागरिक अलमल्लमा पर्ने गर्छन् । अहिले दुई स्थानमा उपनिर्वाचन भइरहेको छ । आशन्न उपनिर्वाचन उम्मेदवारबाहेक कसैका लागि जीवनमरणको प्रश्न होइन । केहीलाई आफ्नो निजी प्रतिष्ठाको सोपानको आकार बढाउनु छ भने कतिपयलाई केही काम गरेजस्तो पार्नु आवश्यक छ । उपनिर्वाचनको परिणामले सरकारी गठबन्धनमा कुनै फरक पार्ने छैन । सुदूरपश्चिम प्रदेश बझाङको एकस्थान प्रदेश सरकार तलमाथि गराउने सामथ्र्य राख्दैन भने इलामले पनि संघीय गठबन्धनमा कुनै परिवर्तन गर्न सक्दैन । तर, अनेक आश्वासन, माग र आग्रहको भण्डार खुलिरहेको छ ।
दुवै स्थानमा त्रिकोणात्मक प्रतिस्पर्धा रहेको विश्वास गर्ने र मान्नेहरू धेरै छन् । आमनागरिकमा व्याप्त निरासा धुने प्रयास ती प्रत्येक कोणबाट भइरहेको छ । यतिखेर निरासा पखाल्ने अभियानअन्तर्गत पहिलो मुद्दाका रूपमा भ्रष्टाचारको विषय केन्द्रमा छ । यसपछि संघीयताले पारेको आर्थिक दबाब जनताले अनुभव गरिरहेको विषयको उठान भइरहेको छ । श्रमबजारको खोजी होस् कि रोजगारीको हरेकका अनुहारले यो प्रश्नलाई उठाइरहेको देखिन्छ । त्यो भन्दा पनि सर्प, विच्छी र भ्यागुता जस्तो सन्तुलनको महलबाट निःसृत अपान वायुको दुर्गन्धले आक्रान्त नेपाली नागरिक किंकर्तव्य भएको अवस्था छ ।
निर्वाचन क्षेत्रमा पुगेर सबै दलका नेताहरूले अमूक दलले गरेको भ्रष्टाचार वा व्यभिचारको धुलो टकटकाइ रहेका छन् । तर, ठोस रूपमा त्यसविरुद्ध उत्रने कार्ययोजना वा प्रस्ताव कसैसँग छैन । हत्या गर्ने व्यक्ति न्यायाधीश हुने र मारिएको लासलाई जरिवाना तिराउने, भ्रष्टाचारमा लिप्तहरू शासनको मुख्य–मुख्य पदमा बस्ने र निमुखा र निरीहहरूलाई अभियुक्त बनाउने, निर्णय गर्नेलाई उन्मुक्ति दिने र फाइल बोकेर टेवुलमा पुर्याउनेलाई कारबाहीको कठघरामा पु¥याउनेहरूका नारा निर्वाचन क्षेत्रमा अझ आक्रामक भएका छन् । तर, हिजोका दिनमा सबै पार्टीका प्रथम नेतालाई तत्काल थुन्नुपर्छ भन्ने व्यक्ति तिनै नेताको घुँडामुनि आश्रय लिएर सत्ताको चास्नीमा लुटपुट गरेको दृश्य अस्वाभाविक भए पनि उनीहरू कसैलाई अप्ठ्येरो लागेको छैन ।
यतिखेर गठबन्धनको मुख्य नायक वा मियो नेपाल कम्युनिष्ट पार्टी एमाले गठबन्धनको अर्को सहयोगीसँग खनिएको छ । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी समाजवादी निरन्तर सरकारको आलोचनामा व्यस्त छ । सबै चरित्रको भारी बोकेर सत्ताको शिखरमा विराजमान पुष्पकमल दाहाल भने सन्तुलनका नाममा र सत्ताका नाममा सबै खाले दुर्गन्धहरूको कन्टेनर बोकिरहनु भएको छ । सत्ताको साँचो आफू भएको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विवादको सगरमाथामा पुगेका छन् । एकातिर गठबन्धन छ अर्कातिर एकअर्काविरुद्ध इलाम र बझाङको उपनिर्वाचनमा प्रतिस्पर्धा चलिरहेको देखिन्छ । केन्द्रमा सत्ता साझेदारहरूकै बीचमा चलेको यो प्रतिस्पर्धामा एकले अर्कोको आलोचना भइरहेको छ । चुनावमा यसरी जनताका सामु पुगेर प्रतिस्पर्धीलाई तल पार्ने हर प्रकारका प्रयास हुन्छन् र तदनुरूप तर्कहरू हुने गर्छन् । तर, सत्तामा बसेका दलहरूकै बीचमा एकअर्कालाई खुइल्याउने कुरा भने नेपाली राजनीतिकर्मीहरूको पृथक भाष्यको परिणाम हो भनेर मान्नुपर्ने हुन्छ ।
यद्यपि, निर्वाचनले दिने केही संकेत हुन्छन् नै । अहिले नेपालीहरूको एउटा आश्चर्य लाग्दो वर्ग समाजमा देखिँदैछ । त्यो वर्गमा खासगरी विदेशको श्रम बजारमा रोजगार भएकाहरूको संख्या अत्यधिक छ । प्रभावहीन निर्वाचन भए पनि नयाँ पार्टी र नयाँ अनुहारका पक्षमा आफूलाई उभ्याउँदा निकै गौरवबोध गरिरहेको छ । पुराना स्थापित दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसँगै ०४७ देखि जोडिन पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी र ०६४ देखि सहकार्यमा उत्रिएको नेकपा माओवादीलाई पुराना पार्टी र पुराना व्यक्ति भन्ने भाष्य गज्जवसँग स्थापित भएको छ । लोकतन्त्रको जरोकिलो थाहा नभएका, संघर्ष र परिवर्तनको आदि र अन्त्यको भेउ नपाएका तर लोकरिझ्याइँमा सफल नयाँ दलको उन्नति देख्न चाहने वर्ग सशक्त भएको देखिन्छ । पुराना दलको अकर्मण्यता, पाखण्ड, विवेकहीनता जे भए पनि उनीहरूले नै यो देशमा आजको परिवर्तनको रथ यहाँसम्म ल्याएका हुन् । त्यसरी अनेक कष्टकासाथ परिवर्तनको रथलाई यस दिनसम्म तान्नेहरूको अपमान गर्नेहरूले परिवर्तनलाई बचाउनेछन् र विकृतिविहीन समाज प्रदान गर्नेछन् भन्ने विश्वासको कुनै आधार छैन । अपराधकर्मका विरुद्ध अपराधहरूको भारी बोक्नेहरू जतिसुकै नयाँ भए पनि तिनीहरूले समाजलाई दिने परिणाम भनेको अर्को अपराधको पोको नै हो । डढेलो निभाउने प्रयोजनार्थ सलाई कोरेर परालको अर्को थुप्रोमा आगो बाल्नुको अर्थ अर्को ठाउँमा पनि डढेलो सल्काउनु नै हुन्छ । यतिखेर नेपाली समाजको एउटा वर्ग डढेलो निभाउने प्रयोजनका लागि अर्को डढेलोको आहृवान गर्दैछ । इलाम र बझाङको निर्वाचनको धार हेर्दा त्यही अनुभव हुँदैछ ।
प्रभावहीन मानिए पनि बझाङ र इलामको उपनिर्वाचन परिणामले स्थापित पुराना राजनीतिक दलहरूलाई भने पूर्वसंकेत दिनेछ । अब अर्को महानिर्वाचन आउन करिब तीन वर्ष आठ महिना बाँकी छ । विगतको निर्वाचन र यसमा सिद्धान्तविहीन गठबन्धनले स्थापना गरेको मान्यता कति हानिकारक थियो भन्ने यथार्थता चुनावी परिणामको एक पक्ष हुनेछ । त्यो पक्षको रूप स्पष्ट नहोला । तर पनि क्रमशः गैरजिम्मेदार अराजकताको राजमार्ग निर्माण हुँदै अर्को निर्वाचनसम्म निकै फराक हुनेनुमान गर्न सकिन्छ । उपनिर्वाचनमा नेताहरूका अभिव्यक्तिको कुनै शृंखला छैन । खास मुद्दा देखिँदैन । जेजति मुद्दाहरू भए पनि तिनको अर्थवत्ता पुष्टि हुने दिशामा छैन । लोकतन्त्रमा राजनीतिक दलहरूका लागि जनता भनेका जनार्दन नै हुन् । उनीहरूले यदि हत्यारालाई नै न्यायाधीश बनाउँछन् भने, भ्रष्टनायकलाई नै राज्यको तालासाँचो जिम्मा लगाउँछन् भने, व्यभिचारीलाई नै समाजको जिम्मा दिन्छन् भने पनि विकल्प हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा हो विश्वास । जसमाथि जनताले भर गर्छन् र विश्वास प्रकट गर्छन् लोकतन्त्रको गाडी त्यही बाटो भएर हिँड्न बाध्य हुन्छ । नेताहरूका गफमा होइन जनताको विश्वासमा लोकतन्त्र चल्ने हो । दुर्भाग्यवस नेताहरूका गफले जनताविपरीत मार्गको यात्री हुन लागेको देखिँदैछ । बझाङको सन्देश जे भए पनि इलामले दिने सन्देश त्योभन्दा खास फरक हुने देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच