कवि रविन्द्र आशिष शैली लामो समयदेखि कवितायात्रामा हिँडिरहेका छन् । कवितायात्रामा हिँड्दै गर्दा उनले धेरै गीत, गजल र मुक्तक पनि लेखे । सामूहिक कवितासङ्ग्रहरूमा धेरै पटक उनका धेरैवटा कविताहरू समावेश भए । कवितायात्राको लामो दूरी पार गरिसकेपछि उनको पहिलो एकल कवितासङ्ग्रह प्रकाशित भएको छ ‘हिँडिरहेका आँखाहरू’ । यो सङ्ग्रहलाई सिर्जना अभियान समाज भक्तपुरले प्रकाशित गरेको छ ।
‘हिँडिरहेका आँखाहरू’ मा विविध समय र सन्दर्भमा लेखिएका ५७ वटा छोटा तथा मझौला कविताहरू सङ्गृहीत छन् । कविता विभिन्न बिम्ब-प्रतीक, उपमा र अलङ्कारको प्रयोग गरेर लेखिनुपर्छ भन्ने मान्यता स्थापित छ । अनि कवितामा कवितातत्व नभई कविता हुनै सक्दैन भन्ने मान्यता पनि छ । वास्तवमा सिर्जनालाई कविता बनाउने विषय नै कवितातत्व हो । खासगरी कल्पना, भाव, विचार आदिलाई कविताको आन्तरिक तत्व मानिएको छ भने रीति, गुण, अलङ्कार आदिलाई बाहृय तत्व मानिएको छ । यी सबै तत्वले युक्त सिर्जनालाई कविता भन्ने गरिएको छ ।
कविताका आन्तरिक तत्वलाई बाहृय तत्वले सिँगारेपछि कविता अझ सुन्दर बन्ने गर्दछ । कवितालाई सिँगार्ने क्रममा कोही कोही कविहरूले आफ्नो कल्पना, बौद्धिकता र बिम्ब-प्रतीक आदिको भरपुर प्रयोग गरेर कवितालाई दुरुह पनि बनाउने गर्दछन् भने धेरैजसोले सरल भाषाशैलीमा बोधगम्य तरिकाले कवितामा आफ्नो कल्पना, भावना र विचार अभिव्यक्त गर्ने गर्दछन् । यसरी सरल भाषाशैलीमा बोधगम्य तरिकाले आफ्नो कल्पना, भावना र विचार अभिव्यक्त गर्ने कविमध्येका एक हुन् रविन्द्र आशीष शैली पनि ।
कवि रविन्द्रले कविता लेखनमा अनुभूति र भावनाको सुन्दर संयोजन गर्न थप प्रयत्न गर्नुपर्ने आवश्यकता छ । यस सङ्ग्रहका धेरैजसो कविताहरूमा भावना, विचार र अनुभूतिको प्रचुरता भइकन पनि तिनको सुन्दर संयोजन गर्ने शिल्प-कलाको भने कमी देखिएको छ ।
कवि रविन्द्र्र आशीष शैलीका कविता सरल छन् र बोधगम्य छन् । कुनै कुनै कवितामा बिम्ब-प्रतीक र उपमाको प्रयोग गरिए पनि ती सरल र बोधगम्य नै छन् । आफ्ना कल्पना, भावना र विचारको माध्यमबाट समाजमा विद्यमान बेथिति र विसङ्गतिमाथि प्रहार गर्नुपर्दा यसरी बिम्ब–प्रतीक र उपमाको प्रयोग गर्ने गरेका छन् कवि रविन्द्रले । जीवनलाई हेर्ने दृष्टिकोण, समाजप्रतिको बुझाइ, राजनीतिप्रतिको धारणा, मानवीय संवेदनामा भइरहेको स्खलनप्रतिको चिन्ता आदि रविन्द्रका कवितामा प्रकट भएको पाइन्छ । धेरै कविताहरू अति सरल भाषाशैलीमा लेखिएको हुँदा विषयको गाम्भीर्यता हुँदाहुँदै पनि त्यस्ता कविताहरू जोडदार र बुलन्द हुनबाट चुकेका छन् ।
शब्दहरूको ऐनामा आफूलाई प्रस्तुत गरेको मान्यता बोकेका कवि रविन्द्र्रका धेरै कवितामा व्यक्ति र समाजको अनुहार प्रतिबिम्बित भएको पाइन्छ र तिनको प्रवृत्ति प्रतिबिम्बित भएको पाइन्छ । कवि रविन्द्र्रका युगीन चेतना बोकेका कविताहरूमा प्रखर व्यङ्ग्यचेत पाउन सकिन्छ । ‘नयाँ रामायण र वाल्मीकि’ शीर्षकको कवितामा कविले वर्तमान समयलाई यसरी हेरेका छन् :
... अहिले यहाँ
मैले न रामलाई देखेँ
न लक्ष्मणलाई भेट्टाएँ
भरतलाई त झन् भेट्टाउनु कता हो कता...
... दायाँ हातामा कलम समाएर
हस्याङ फस्याङ
माइतीघर मण्डलामा पुगेर
नयाँ रामायण लेख्ने
असफल प्रयासमा
देखिरहेछु वाल्मीकिलाई ।
‘भोक र सडक’, ‘कठघरामा उभिएर’, ‘नयाँ रामायण र वाल्मीकि’ कवितामा युगीन चेतना छ भने ‘झोला’, ‘कागज ब्युँझन्छ’, ‘चुनाव र रामे’, ‘ऐना र पोखरी’, ‘हिँडिरहेका आँखाहरू’, ‘अलकत्राको दाग’ आदि कवितामा बिम्बको सुन्दर प्रयोग भएको छ । निकै सरल लाग्ने कविताहरूले पनि गम्भीर विषयलाई उठान गरेका छन् । असन्तुष्टि, आक्रोश र विद्रोहका आवाज बोलेका छन् ।
उनको कवितामा समाजलाई उठाउने, देशलाई जगाउने र आममान्छेलाई मान्छे बनाउने आवाज पनि छन् । गलत बाटोमा हिँडेका मान्छे र समाजलाई उनी ऐना देखाएर यथार्थ बुझाउने प्रयास पनि गर्छन् आफ्ना कवितामा । निन्द्राबाट ब्युँझाउन झक्झक्याउने काम पनि गर्छन् । अनि मनमा पर्खाल उठ्यो भने आफैँ होचिनुपर्छ भन्दै आफूलाई अग्लाउनु छ भने मनमा कहिल्यै पर्खाल उठाउनु हुँदैन भन्ने सुझाव पनि दिन्छन् । ‘पर्खाल र मान्छे’ शीर्षकको कवितामा यस्तै भाव छ ।
देशमा व्यवस्था बदलियो तर अवस्था बदलिएन । पात्र बदलिए तर प्रवृत्ति बदलिएन । यस्तै प्रवृत्तिले निराश भएका कवि भोट खसाल्नुलाई आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो लाग्छ भन्छन् । जिन्दगी नदीजस्तै हुनुपर्छ भन्छन् जुन निरन्तर बगिरहन्छ, कसैको परवाह नगरी । जिन्दगीको परिभाषा पनि दिन खोज्छन् र जिन्दगी फूल जस्तो हुनुपर्छ भन्छन् । मनको परिभाषा पनि दिन खोज्छन् र भन्छन्, ‘नजिकलाई टाढा र टाढालाई नजिक बनाउनेमात्र मन पो रहेछ । यसैले मलाई लाग्छ मन एउटा अदृश्य बाइनाकुलर हो ।’
कुनै स्थान विशेषको सुन्दरता र शालीनताबाट मोहित भएर पनि कविता लेखेका छन् कवि रविन्द्र्रले । ‘दोलखा’, ‘हेटौँडा आजभोलि’, ‘सुन्दर चित्लाङ’ कवितामा ती ठाउँको सुन्दरता र प्रियताको वर्णन गरेका छन् । अत्यन्तै सरल भाषामा लेखिएका कविताहरू बोधगम्य छन् । हार्दिकता र कोमलताले भरिएका छन् कविताहरू । कुनै राजनीतिक नारा र उग्रता छैन कवितामा तर देशको विसङ्गत राजनीतिप्रति असन्तुष्टि छ, गुनासो छ, आक्रोश छ र विद्रोह पनि छ । कवितामा बिम्बको प्रयोग र व्यङ्ग्यको प्रहारबाट मान्छेलाई झकझक्याउने र ब्युँझाउने प्रवृत्तिका कविताले पाठकलाई पठनको आनन्द प्रदान गर्नेछन् । पुस्तकमा कलाकार दिव्या बज्राचार्यको सुन्दर आवरण कला निकै आकर्षक छ ।
अन्त्यमा, भावना र अनुभूति हुँदैमा कवि हुन सकिँदैन । त्यसलाई संयोजन गर्ने शिल्प–कला पनि हुनुपर्छ । पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ‘अनुभूति र भावनाको सुन्दर संयोजन नै कविता हो । कवितामा हुने यही स्वरूपले हामीलाई जीवनको चेतनाबोध गराउँछ ।’ यस उक्तिलाई मनन गर्दै कवि रविन्द्रले कविता लेखनमा अनुभूति र भावनाको सुन्दर संयोजन गर्न थप प्रयत्न गर्नुपर्ने आवश्यकता छ । यस सङ्ग्रहका धेरैजसो कविताहरूमा भावना, विचार र अनुभूतिको प्रचुरता भइकन पनि तिनको सुन्दर संयोजन गर्ने शिल्प-कलाको भने कमी देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच