
काठमाडौं । एनपिटिसी लिमिटेडले आगामी चार वर्षका लागि सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद दाहालको अध्यक्षता तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा नवदुर्गा पार्टी भेन्यु सुकेधारामा शुक्रबार सम्पन्न संस्थाको २९औँ वार्षिकोत्सव तथा २७औँ वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
निर्विरोध निर्वाचित सञ्चालक समितिमा हरिप्रसाद दाहाल, लेखनाथ दाहाल, तेजप्रसाद धमला, प्रतीक अधिकारी, वासुदेव भण्डारी, शोभा घिमिरे (अर्याल) र कुशसेन दाहाल रहेका छन् भने लेखा सुपरीवेक्षण समिति संयोजकमा मेघनाथ घिमिरे र सदस्यमा मोहनप्रसाद घिमिरे र सरस्वती कोइराला (खतिवडा) रहेका छन् ।
निर्वाचित पदाधिकारीलाई नेपाल सरकारका सचिव वामदेव शर्मा अधिकारीको संयोजकत्वमा अधिवक्ता कुमारप्रसाद घिमिरे र सहकारीकर्मी कृष्णप्रसाद खनाल सदस्य रहनुभएको निर्वाचन समितिले शपथ गराएको संस्थाका लेखाप्रमुख पुष्कर अर्यालले जानकारी दिनुभयो ।
साधारणसभाका अवसरमा संस्थाले समाज तथा राष्ट्रलाई योगदान गर्नुहुने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । देशका विभिन्न भागबाट उपत्यकामा रहेका र आइपुगेका अशक्त, अपांगता भएकाहरूको शिक्षा, स्वास्थ्य, आवास, भोजन जुटाएर मानवीय सेवाको उदाहरण प्रस्तुत गरिरहेको श्री ग्रामीण अपांगता समन्वय समिति चाँगुनारायणलाई २१ हजार एक सय ५१ रुपैयाँ नगदसहित एनपिटिसी पुरस्कारद्वारा सम्मान गरिएको छ ।
त्यस्तै व्यक्तित्व सम्मानअन्तर्गत सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत वरिष्ठ दन्त चिकित्सक एवं ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरे र वरिष्ठ साहित्यकार प्रा.डा. सावित्री कक्षपतीलाई सम्मान गरेको छ ।
संस्थामा आबद्ध भई कारोबार गर्नुहुने ज्येष्ठ सदस्य मीनकुमार पौडेल र सीता उपाध्याय अधिकारीलाई जनही छ हजार नगदसहित एनपिटिसी ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको छ भने संस्थामा ऋण कारोबार गर्ने मच्छिन्द्र नेपाली र वीरबहादुर डुम्जनले जनही नगद पाँच हजार एक सयसहित असल ऋणीको सम्मान पाउनुभएको छ । संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये २०७९ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई जनही पाँच हजार एक सय नगदसहित सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीमा रेशिका थापा, अनन्त पौडेल, समृद्धि सिंह, आयुष दाहाल, श्रीनभ निरौला र स्वीकृति बलायर रहेका छन् । वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालको संयोजकत्वमा गठित समितिले पुरस्कार तथा सम्मानका लागि विभिन्न विधाका संस्था तथा व्यक्ति छनोट गरेको थियो ।
सोही अवसरमा संस्थाका अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रतिवेदन, कार्यकारी सञ्चालक लेखनाथ दाहालले संस्थाको प्रगति विवरण एवं नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक मेघनाथ घिमिरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडा, वरिष्ठ पत्रकार, मानव अधिकारकर्मी एवं साहित्यकार पुरुषोत्तम दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने लोकदोहोरी गायिका मीना नेपालले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच