
म्याग्दी । अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक पर्यटकीय स्थल म्याग्दीको घोडेपानी–पुनहिलको पर्यटन व्यवसाय पुनः लयमा फर्किदै गएको छ ।
सन् २०२० मा कोभिड काल सुरुभएपछि सुस्ताएको यहाँको पर्यटन व्यवसाय तीन वर्ष पछि सन् २०२३ को अक्टुवरदेखि लयमा फर्किएको स्थानीय व्यवसायीहरुले बताएका छन् । यतिबेला घोडेपानी र पुनहिल आन्तरिक तथा वाह्य पर्यटकले भरिएको छ । पछिल्लो चार महिनाको अवधिमा यहाँ १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
पर्यटक प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १० गतेसम्म १२ हजार ३६१ विदेशी पर्यटकले घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
पर्यटक प्रहरीले विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । कात्तिक महिनामा सबैभन्दा बढी विदेशी पर्यटकले घोडेपानीको भ्रमण गरेका छन् ।
साउन महिनामा ९७६, भदौमा ९९३, असोजमा तीन हजार १११, कात्तिकमा पाँच हजार ३७९ र मङ्सिरको १० गतेसम्म एक हजार ५०२ जना पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक तारा बुढामगरले जानकारी दिए । पर्यटकीय याम सुरु भएदेखि असोज र कात्तिक महिनामा दुई हजार पाँच सयदेखि तीन हजारसम्म आन्तरिक पर्यटकहरू भ्रमणमा आएका छन् ।
विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको घोडेपानीका पर्यटन व्यावसायी डमबहादुर गर्बुजाले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘कोरोना महामारीपछि गत वर्ष पर्यटकको उत्साहजनक आगमन भयो । यस वर्ष केही कम देखिए पनि बिस्तारै बढ्ने अपेक्षा गरेका छौँ ।’
सडक यातायातको विस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएपछि विदेशी पर्यटकहरू यस क्षेत्रमा आउन नमान्ने गरेको मल्टी एडभेन्चर काठमाडौँका पथप्रदर्शक डाइला शेर्पाले बताउनु भयो । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । घोडेपानी पर्यटकको महत्वपूर्ण बासस्थानमा पर्छ । यहाँ साना ठूला गरी २६ वटा होटल सञ्चालनमा छन् ।
पुनहिल प्रवेश गर्न नेपालीले ५० र विदेशीले १५० रुपियाँ प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्ने हुन्छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े मनासलु हिमालको अवलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण परिक्रमापछि तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै चार वटा नाकाबाट पर्यटक घोडेपानीमा भित्रिने गरेका छन् । घोडेपानीमा बास बस्ने पर्यटकहरू एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्छन् ।
हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन् ।
पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुस भएको कास्कीको पोखराका सुमन गिरिले बताउनु भयो ।
घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच