काठमाडौं । दुग्ध किसानको अर्बौं भुक्तानी बाँकी रहेको भन्दै भुक्तानीका लागि सरकार तथा डेरी उद्योगविरुद्ध दुग्ध किसानले आन्दोलनको घोषणा गरेका छन् । किसानले बिक्री गरेको दूधको करिब छ अर्ब रुपैयाँ बराबर रकम भुक्तानी नभएको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले पनि सरकारको ध्यानाकर्षण गराएको छ । विगत छ महिनादेखि किसानले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को रहेको र विगत केही समयदेखि डिडिसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा विदेशी धुलो दूध ल्याउने कार्य भइरहेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालका दुग्ध उत्पादक तथा पशुपालक किसानले देशको कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा करिब नौ प्रतिशत योगदान छ । ३० लाख किसान परिवार सहभागी रहेको र राष्ट्रिय अर्थतन्त्रमा करिब छ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्र शहरका पैसा गाउँ पुर्याउने, ग्रामीण क्षेत्रमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने र ग्रामीण जनसमुदायको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने उत्पादनको एक सशक्त क्षेत्र हो ।’ महासंघले डिडिसी र विभिन्न निजी डेरीबाट किसानको अर्बाैं भुक्तानी नगर्ने लज्जास्पद कार्यको घोर निन्दा तथा भत्र्सना गर्दै किसानलाई उनीहरूले प्राप्त गर्नुपर्ने रकम अबिलम्ब भुक्तानी गराउन माग गरेको छ ।
किसानले बिक्री गरेको दूधको करिब छ अर्ब रुपैयाँ बराबर रकम भुक्तानी नभएको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले देशमा भइरहेको धुलो दूधको निर्वाध आयात तथा सीमा क्षेत्रमा भइरहेको कम गुणस्तरको र नक्कली दूधको तस्करी रोक्न, किसानको बक्यौता भुक्तानी दिलाउन, दुग्ध किसानको हित हुने गरी अनुदान, सहुलियत ब्याजदरको कृषि ऋण र अन्य सरकारी सेवा सुविधा प्रदान गरी स्वदेशी दूधको उत्पादन तथा खपत वृद्धि गर्न आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले संस्थान डुबाएर बेहाल बनाउने असक्षम तथा किसानमारा पदाधिकारी र संलग्न कर्मचारीलाई तत्काल बर्खास्त गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
त्यसैगरी केन्द्रीय दुग्ध सहकारी संघले पनि विज्ञप्ति जारी गर्दै किसानको रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले दबाब सिर्जना गर्न आन्दोलन घोषणासमेत गरेको छ । संघले किसानले भोगिरहेको मिल्क होलिडेको अवस्था तत्काल अन्त्य गर्न भनेको छ । नेपालभन्दा भारतमा प्रतिलिटर १५ रुपैयाँ सस्तोमा पाइने गुणस्तरहीन दूध र दुग्धजन्य पदार्थको आयातमा पूर्ण रोक लगाउन पनि संघले माग गरेको छ । संघद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सरकारी र निजी उद्योगसँग स्टकमा रहेको पाउडर दूध र मख्खन स्वदेशमा खपत हुन नसकेकाले कूटनीतिक पहल गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने व्यवस्था मिलाउन अनुरोध छ । दूध उत्पादन लागत बढेकाले अनुदान उपलब्ध गराउन तथा पशु आहारा, औषधिलगायतको मूल्य नियन्त्रण गर्न पनि संघले माग गरेको छ । दुग्ध किसानका समस्या समाधानका लागि सरकारलाई दबाब दिन संघले मंसिर २८ गते पुल्चोकस्थित मन्त्री क्वाटरअगाडि ब्यानरसहित विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने माइतीघरमा धर्ना कार्यक्रम तय गरेको संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
डिडिसीका महाप्रबन्धक सञ्जीवकुमार झाले किसानबाट दूध खरिदबापत डिडिसीले कात्तिकसम्म ७५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको दाबी गर्नुभएको छ । बजारमा दूध र दुग्धजन्य पदार्थ माग निकै घटेकाले किसानलाई भुक्तानी गर्न असहज भएको उहाँको भनाइ छ । बिक्री नभएका कारण संकलितमध्ये दैनिक ५० देखि ६० हजार लिटर दूध पाउडरमा परिणत गर्दै आएको डिडिसीले जनाएको छ । यसअघि उत्पादित ६८ करोड रुपैयाँको पाँच सय टनभन्दा बढी पाउडर दूध र तीन सय ८० टन बटर बिक्री नभएर स्टकमा रहेको झाको भनाइ छ । अहिले थप परिमाणमा उत्पादन भइरहेको पाउडर र बटर भण्डारण गर्नसमेत समस्या भएको झाले बताउनुभयो । अहिले बिहे तथा व्रतबन्धको सिजनमा समेत बजार माग १४ प्रतिशतले घटेको डिडिसीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच