झापाको भद्रपुर-९ मा बुबा चक्रप्रसाद पराजुली र आमा इन्दिरा पराजुलीका एक छोरा र पाँच छोरीमध्ये दोस्रो सन्तानका रूपमा जन्मिनुभएकी देवी पराजुली प्रेमप्रसाद घिमिरेसँग विवाहपश्चात् २०५६ बाट भक्तपुरको मध्यपुर ठिमी-१ लोकन्थलीमा बस्दै आउनुभएको छ । उहाँका ‘कहिले म जितमा रोएँ’, ‘माइत रमाइलो’, ‘परदेशी नभन मलाई’ ‘दसै र वर्षमा पराइघर जाँदा’, ‘हामी नारी’, ‘जन्मभूमिभन्दा ठूलो’, ‘ए हजुर’लगायत थुप्रै गीत श्रोता/दर्शकमाझ आएका छन् । हालै सगरमाथा म्युजिक अवार्ड २०८०, उत्कृष्ट पप आधुनिक सर्वोत्कृष्ट महिला गीत रचनाकारतर्फको अवार्ड उहाँले चुम्नुभएको थियो । आफ्नै देवी पराजुली युट्युब च्यानलमार्फत् केही गीत श्रोता/दर्शकमाझ ल्याउनुभएकी उहाँका अन्य केही गीत विभिन्न माध्यमबाट आएका छन् । गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा रहनुभएकी पराजुली उपन्यास कृति पनि पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । सबै प्रकारका गीत लेख्ने बताउनुहुने उहाँ समाजमा लुकेर बसेका बेथितिहरू उजागर गर्ने किसिमको गीत जुन नारी वेदनासँग सम्बन्धित हुन्छन् त्यस्तो किसिमको गीत लेख्न भित्रैबाट उत्प्रेरित हुने बताउनुहुन्छ । राष्ट्रियता, नारी जागरण, मायापिरती साथै संस्कृतिसम्बन्धी गीतहरू श्रोता/दर्शकमाझ ल्याउनुभएकी गीतकार देवी पराजुलीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
हाल केमा व्यस्त हुनुहुन्छ ?
म निजामती कर्मचारी भएकाले १०-५ अफिस भई नै हाल्यो । बाँकी समय घरपरिवार अनि खाना बनाउने र निन्द्राको समय चोरेर गीत लेख्ने गर्दछु ।
गीतसंगीतको क्षेत्रमा कसरी आउनुभयो ?
यो मेरो सानैदेखिको रुचिको क्षेत्र हो । गीत लेखे पनि समय परिस्थितिले गर्दा बाहिर निकालेकी थिइनँ तर विगत ४–५ वर्षयता संगीतबद्ध गरेर बाहिर ल्याउन सकेँ ।
विशेषतः कस्तो प्रकारका गीत लेख्न मन पराउनुहुन्छ ?
समाजमा लुकेर बसेका बेथितिहरू उजागर गर्ने किसिमको गीत जुन नारी वेदनासँग सम्बन्धित हुन्छन् त्यस्तो किसिमको गीत लेख्न भित्रैबाट उत्प्रेरित हुन्छु । मैले सबै प्रकारका गीत लेखेकी छु । जस्तो कि राष्ट्रिय गीत, नारी जागरण गीत, मायापिरतीका गीत, संस्कृति झल्कने तीज गीतहरू ।
गीतकार भएको हुनाले साहित्यतिर रुचि हुने कुरा त भइहाल्छ । त्यसमा पनि म धेरै अगाडिबाट कविता तथा लेखरचनाहरू कागजी तथा अनलाइन पत्रपत्रिकाहरूमा लेख्दै आएकी छु । विशेषगरी नारी सचेतनाका कुरा अनि संस्कृति संरक्षणसम्बन्धी धेरै लेखहरू प्रकाशन भएका छन् । एक उपन्यास लेख्न सुरु गरेको धेरै भयो तर समय वसमा नभएको र बरु ढिला होस् राम्रो होस् भनेर पनि होला आधामात्र लेखेकी छु । गीतिसंग्रह चाँडै पाठकमाझ ल्याउने तयारीमा छु ।
अहिलेसम्म यहाँका बजारमा कति जति गीत आए होलान् ? केही गीतको नाम लिनुपर्दा ?
धेरै गीत लेखिएका भए पनि अडियो भिडियो गरेर करिब सत्र-अठारवटा गीत आएका छन् । देवी पराजुली युट्युब च्यानलमार्फत् पनि केही गीत आएका छन् । केहीको नाम लिनुपर्दा ‘कहिले म जितमा रोएँ’, ‘माइत रमाइलो’, ‘परदेशी नभन मलाई’ ‘दसै र वर्षमा पराईघर जाँदा’, जस्ता गीत मेरो आफ्नै च्यानलमार्फत् आएका छन् । ‘हामी नारी’, ‘जन्मभूमिभन्दा ठूलो’, ‘ए हजुर’ जस्ता गीतहरू अन्य च्यानलहरूमा छन् ।
प्रायः गीत राम्रा हुँदा पनि गीतकार पर्दापछाडि नै हुन्छन् नि ? कस्तो लाग्छ यो कुराले ?
यो कुराले साँच्चै नै मन दुख्छ । तर पनि लेख्न छोड्न मन लाग्दैन । सरकारी निकायले त कमसेकम केही दिन नसके पनि सम्मान त गरोस् जस्तो लाग्छ । अनि गायकगायिकाले गीत गाउनुअगाडि रचनाकारको नाम वाचन गरिदिए हुने जस्तो लाग्छ ।
गीतबाहेक साहित्यका अन्य विधामा पनि कलम चलाउनुहुन्छ होइन ?
गीतकार भएको हुनाले साहित्यतिर रुचि हुने कुरा त भइहाल्छ । त्यसमा पनि म धेरै अगाडिबाट कविता तथा लेखरचनाहरू कागजी तथा अनलाइन पत्रपत्रिकाहरूमा लेख्दै आएकी छु । विशेषगरी नारी सचेतनाका कुरा अनि संस्कृति संरक्षणसम्बन्धी धेरै लेखहरू प्रकाशन भएका छन् । एक उपन्यास लेख्न सुरु गरेको धेरै भयो तर समय वसमा नभएको र बरु ढिला होस् राम्रो होस् भनेर पनि होला आधामात्र लेखेकी छु । गीतिसंग्रह चाँडै पाठकमाझ ल्याउने तयारीमा छु ।
आफूलाई के भन्न रुचाउनुहुन्छ ?
म आफूलाई अहिलेसम्म चाहिँ गीतकार नै भन्न रुचाउँछु ।
गीतको क्षेत्रमा कत्तिको गाह्रो छ ?
लेख्न जति सजिलो छ बाहिर निकाल्न धेरै गाह्रो छ । पैसा लगानी सबैभन्दा महत्वपूर्ण कुरा रहेछ । धेरै गीत जनमानसमा निकालौँ जस्तो त लाग्छ तर पैसाको अभाव ।
गीतसंगीतमा पनि जेण्डर छुट्टिन्छ भन्ने गरिन्छ, तपाईं यसमा के भन्नुहुन्छ ?
मलाई लाग्छ महिला पुरुषभन्दा बढी संवेदनशील हुन्छन् । झन् सशक्त गीत बाहिर ल्याउन सक्छन् । तर, सबै कुराको संयोग मिल्नुपर्छ र महिलालाई पनि पुरुषसरह हर क्षेत्रमा प्राथमिकता दिनुपर्छ, आर्थिक पक्ष, सामाजिक पक्ष आदि ।
यहाँले केही गीतमा अभिनय पनि गर्नुभएको छ होइन ?
हजुर, मैले दुईवटा आफ्नै गीतमा अभिनय गरेकी छु । पैसाको कुरा जोडिएको छ यसमा पनि । अरूलाई दिने पैसा नभएपछि मैले आफैं अभिनय गरेँ तर संयोगले भिडियो राम्रो भएको जस्तो लागेको छ ।
यहाँको चाहना ?
मेरो चाहना/रुचि चाहिँ लुकेको प्रतिभाको खोजी गर्ने, लुप्त हुँदै गरेको सकारात्मक संस्कारको उजागर गर्ने, महिलाहरूमा उत्साह, जागरण ल्याउने किसिमका जीविकोपार्जन साथै खुसी दिने कार्यक्रमहरू गर्ने, गीत, कला, साहित्य क्षेत्रमा महिलालाई पनि अगाडि बढ्न उत्प्रेरित गर्ने र आफूले पनि यो क्षेत्रमा योगदान दिने हो ।
अन्त्यमा ?
यहाँले सबै प्रश्न गरिसक्नुभएको छ तर पनि के भन्दछु भने आफ्नो योगदानले, आफूभित्र लुकेको प्रतिभाले समाजमा सकारात्मक सन्देश, खुसी र साहित्यको क्षेत्रमा सहयोग पुग्छ भने उजागर गरौँ । सरकारका तर्फबाट पनि महिलाको अधिकार कागजमा मात्र सीमित होइन व्यवहारमा पनि लागू गरौँ । महिलालाई अगाडि बढाउनु छ भने घरपरिवार र समाजले महिलालाई सम्मान गर्न सिकौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच