काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताउनुभएको छ । सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषय मौद्रिक नीतिको समीक्षामा समेटिएकाले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभएको हो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनर्संरचना र घर तथा सेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषय हामीले विगतदेखि निरन्तर उठाउँदै आएका थियौँ । अहिले आएर यसको सुनुवाइ गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवद्र्धन गर्न सहयोग गर्न सक्छ ।’
अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन नपर्ने उहाँको भनाइ थियो । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै रहेको पनि उहाँले बताउनुभयो । ढकालले भन्नुभयो, ‘अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन पर्दैनथ्यो तर यसले केही न केही सकारात्मक सन्देश चाहिँ दिनेछ भन्ने हाम्रो अपेक्षा छ ।’
राज्यका निकायबीच समन्वय अभावमा लगानीको वातावरण बन्न नसकेको र अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएकोमा त्यसलाई प्रधानमन्त्री आफंैले सकारात्मकरूपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘राज्यका सबै निकायले राम्रो काम गरिरहेको बताइरहँदा पनि अर्थतन्त्र बिग्रँदै गएको अवस्था थियो । हामी निजी क्षेत्रले यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह ग¥याँै । उहाँले सर्वपक्षीय छलफलको आयोजना गरी संवाद परिषद्लाई सक्रिय बनाउनुभयो । यसले निजी क्षेत्र र राज्यका निकायबीच समन्वय र सहकार्य सहज हुने अपेक्षा गरेका छौँ ।’ उहाँले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा लगानी सम्मेलन आयोजना गरेको भन्दै ढकालले सुदूरपश्चिम प्रदेशमा यही फागुन महिनामा आयोजना हुने लगानी तथा विकास सम्मेलन सो क्षेत्रको विकास र समृद्धिमा नयाँ खुड्किलो बन्ने बताउनुभयो । मुलुकको अर्थतन्त्रप्रति प्रधानमन्त्रीले देखाएको चासो र लिएको अग्रसरताको प्रशंसा गर्दै उहाँले सरकारी प्रक्रियाका कारण धेरै आयोजना रोकिने गरेकाले त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
ढकालले भन्नुभयो, ‘सरकारी प्रक्रियाका कारण धेरै आयोजना समस्यामा पर्ने गरेका छन् । त्यस्ता समस्यामा परेका आयोजना अघि बढाउन सकियो भने लगानी बढाउन सकिन्छ । म आफैंले पनि यस प्रदेशमा करिब पाँच अर्ब रुपैयाँ लगानीको प्रस्ताव अघि बढाएको छु । यदि सरकारी प्रक्रिया समयमै टुंग्याउन सकियो भने आगामी फागुनमा आयोजना हुने लगानी तथा विकास सम्मेलनदेखि त्यो आयोजना सुरु गर्न सकिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच