काठमाडौं । कार्यकाल नसकिँदै संघीय संसद्का महासचिव भरतराज गौतमले आकस्मिक राजीनामा दिएपछि सत्ता गठबन्धन सशंकित बनेको छ । संघीय संसद्का महासचिव भरतराज गौतमको कार्यकाल बाँकी छँदै आएको आकस्मिक राजीनामा र लगत्तै नयाँ महासचिवका लागि प्रतिनिधिसभाका बहालवाला सचिव पद्मप्रसाद पाण्डेको नियुक्तिको सिफारिसले गठबन्धन सशंकित बनेको हो । गत आइतबार गौतमले महासचिव पदबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएलगत्तै सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिवमा नियुक्त गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । आशंकाका बीच हेरिएको बेला पाण्डेको सिफारिस राष्ट्रपति कार्यालयमा मुल्तबीमा परेको छ । तर, राष्ट्रपति कार्यालयले महासचिव गौतमको राजीनामा स्वीकृत नभईकन दोस्रो व्यक्तिको नाम महासचिवका लागि सिफारिस भएर आएकाले निर्णय नगरी अध्ययनका लागि राखेको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो, ‘एउटाको राजीनामा स्वीकृत नभईकन अर्को व्यक्तिलाई सिफारिस गरिएकाले रीतपूर्वक भएन भनेर नियुक्तिको विषय अध्ययनको क्रममा छ ।’
संघीय संसद् सचिवालयको प्रशासनिक नेतृत्व आफ्नो पकडमा राखिराख्न एमालेले चलाखीपूर्ण रूपमा महासचिवको हेरफेर गरेको भन्दै सत्ता गठबन्धन दलका सांसदहरूले पनि आशंका व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखकले संसद्को महासचिव फेरबदलको काम अप्रत्यासित ढंगले आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्को महासचिवको एक्कासि राजीनामा आउने र अर्को व्यक्तिलाई तत्काल सिफारिस गर्ने अप्रत्यासित जस्तो देखिएको छ । यसलाई विस्तृत रूपमा बुझ्नुपर्छ ।’
गौतमले घरायसी कारण राजीनामा दिएको बताए पनि आउँदो फागुन २० गते २० जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदा एमालेका अध्यक्ष तिमिल्सिनासहित आठ जनाको कार्यकाल सकिँदै छ । पदपूर्तिका लागि माघ ११ गते हुने चुनावबाट अहिलेको सत्ता गठबन्धन कायम रहेमा एमालेका कुनै पनि उम्मेदवारले जित्ने सम्भावना छैन । त्यस्तो अवस्थामा एमाले अनुकूलको राष्ट्रियसभा अध्यक्ष नआउने निश्चित छ । महासचिव नियुक्तिका लागि सभामुख र अध्यक्षले संयुक्त रूपमा राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
दुवै पदमा आफ्ना मान्छे भएका बेला एमालेले रणनीतिक रूपमा गौतमलाई प्रतिस्थापन गरी पाण्डेलाई सिफारिस गरेको हो । सभामुख देवराज घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेललाई सोमबार भेटेरै सिफारिस बुझाउनुभएको थियो । नायव महान्यायाधिवक्ता रहेकै अवस्थामा पाण्डे गत वैशाख १७ गते प्रतिनिधिसभाको सचिव सिफारिस हुनुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक गरेको संसद् विघटनविरुद्धको रिटको प्रतिरक्षामा पाण्डेले राम्रो भूमिका खेलेको भन्दै उहाँलाई सचिव बनाइएको थियो । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ ले महासचिवको कार्यकाल पाँच वर्ष र उमेरका हिसाबले ५८ वर्ष तोकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच