काठमाडौं । पछिल्लो समय मुलुकका अधिकांश आर्थिक सूचकांकमा उत्साहजनक सुधार देखिएको छ । शोधनान्तर बचत उच्चदरमा बढेको छ भने मूल्यवृद्धि पनि घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को कात्तिकसम्मको तथ्यांकअनुसार शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ भने चार महिनामा रेमिट्यान्स आय २६.४ प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २०.४ प्रतिशतले बढेको थियो । मूल्यवृद्धि पनि ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.०८ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । कात्तिकमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.००, तराई ४.४२, पहाड ६.०७ र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उल्लेखित क्षेत्रको मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत थियो ।
शोधनान्तर बचत एक खर्ब ४७ अर्ब
समीक्षा अवधिमा शोधनान्तर एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले मात्रै बचतमा थियो । त्यस्तै, २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेर २०८० कात्तिकमा झण्डै १७ खर्ब अर्थात् १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।
रेमिट्यान्स २६.४ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले बढेर तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार चारसय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार आठसय ४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९६ हजार सातसय ३५ र ८७ हजार चारसय २८ रहेको थियो ।
नेपालीको भ्रमणमा विदेशियो ६२ अर्ब
चार महिना खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ७८ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४७.२ प्रतिशतले बढेर २५ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय ६५.० प्रतिशतले बढेर झण्डै ६२ खर्ब अर्थात् ६१ अर्ब ९२ करोड पुगेको छ । जसमध्ये शिक्षातर्पmको व्यय ३८ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो ।
चार महिनामा पाँच खर्ब बढीको आयात
आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले घटेर ५० अर्ब ५७ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १४.५ प्रतिशतले घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ र ४.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टीकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिन लगायतको घटेको छ । चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले घटेको थियो । भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेट लगायतको आयात घटेको छ । चार महिनामा कुल वस्तु व्यापारघाटा ३.३ प्रतिशतले घटेर चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच