काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म एक महिना ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी महामन्त्री गगन थापाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ । करिब २० जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारीमा कांग्रेस छ । उपनिर्वाचन हुने इलाम र पार्टीभित्र विवाद देखिएका जिल्लाहरूमा पदाधिकारी खटिनेछन् । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिले ७७ जिल्लामै प्रतिनिधि खटाउने तयारी गरेको छ । यो अभियानका क्रममा साना-ठूला सभा तथा संगठन सुदृढीकरणलगायत काम गर्ने कांग्रेसको योजना छ ।
कांग्रेसलाई जनजनमा पुर्याउन उपसभापति खड्काको निर्देशन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताउनुभएको छ । पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले पार्टीले दिने प्रशिक्षणले विगतका कमी कमजोरी सच्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खड्काले कार्यकर्तालाई आमनागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सुधार्नुपर्ने कमी कमजोरीप्रति सजग गराउने दायित्व पूरा गर्न पनि निर्देशन दिनुभयो । उहाँले कार्यकर्तालाई तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पुर्याउन, समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार तथा उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिनुभयो ।
रूखबाहेक अन्त भोट हाल्न लगाउने अपराध गर्दैनौँ भन्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न महासमिति बैठकबाट अब उप्रान्त कांग्रेस कार्यकर्ता र जनताले रूखबाहेक अरू चिन्हमा भोट हाल्नुपर्ने छैन भन्ने प्रतिबद्धता जारी हुनुपर्ने बताउनुभएको छ । शनिबार पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस गठबन्धन गरेर चुनावमा जाँदा कमजोर भएको र यसको सैद्धान्तिक आधारसमेत खस्किएको जिकिर गर्दै भन्नुभयो, ‘हामीले हाम्रा मतदातालाई रूखमा होइन हसियाँ हथौडा, कलममा भोट हाल्न लगायौँ । साइकलमा भोट हाल्न भन्यौँ । मैले यस कुरामा फरक मत राखे पनि त्यसको अर्थ छैन । म गठबन्धनमा रहेका साथीहरूलाई पनि केही दोष दिन्नँ, किनकि हामीले निर्णय गरेको हो । तर, अब महासमिति बैठकबाट हामीले भन्नुपर्छ, जे भयो भयो जितिने लोभ र हारिने डरले रूखबाहेक अरू चिन्हमा छाप लाउने अपराध अब गर्ने छैनौँ भनेर डिक्लियर गर्नुपर्छ ।’ महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला काम नगर्ने हो भने अरूलाई दोष दिएर उम्किने ठाउँ नभएकाले सरकारले गल्ती गरे प्रधानमन्त्रीलाई बालुवाटारबाट खुमलटार पठाउँछौँ भन्ने आँट पनि गर्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले कांग्रेसका आठ लाख ७० हजार क्रियाशील सदस्यभन्दा बाहिर २० लाखभन्दा बढी जनता कांग्रेसको घरलाई मन्दिर मान्नेहरू रहेको बताउनुभयो । उहाँहरूको आस्थामाथि चोट लागेको भन्दै महामन्त्री थापाले सभापति शेरबहादुर देउवादेखि गाउँसम्मका सभापतिले उनीहरूसँग हात जोडेर माफी माग्दै अब रूखबाहेक अरूलाई भोट हाल्न लगाउने गल्ती/अपराध अब नगर्ने भनेर नयाँ यात्रा सुरु गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताउनुभएको छ । बागलुङको गलकोटमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेसमेत दाबी गर्नुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘आगामी फागुनमा हुने महासमिति बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको आउने महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ । पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ ।’ कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ छ । महामन्त्री शर्माले देशलाई अब विकास मात्र नभएर गुणस्तरीय विकास चाहिएको जिकिर गर्नुभयो ।
दलको अस्तित्व नभए देशमा अर्को अराजकता आउने दाबी
महामन्त्री शर्माले मिलेर देश बनाउनुपर्ने बताउनुभएको छ । सबैले मिसन-८४ भनिरहेको बेला उहाँले कसले जित्ने/हार्नेभन्दा देशले जित्ने योजना बनाउनुपर्ने प्रष्ट पार्नुभयो । आलोचना गर्नेभन्दा काम गरेर देखाउने बेला आएको बताउँदै महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले आलोचना गरेर देश बन्दैन, मिलेर काम गर्नुपर्छ । राजनीतिक दलको अस्तित्व नभए फेरि देशमा अर्को अराजकता आउँछ ।’
सबै दलका राम्रा कामलाई एकीकृत गरेर जानसके देश बन्ने दाबी गर्नुभएका महामन्त्री शर्माले देश विकासका लागि युवा चाहिने जिकिर गर्दै भन्नुभयो, ‘काम गर्ने जोश जाँगर भएका युवा विदेश पठाउने गरी राजनीति नगरौँ, यहीँ काम गर्ने अवसर दिऔँ । शीर्ष नेतृत्वले पनि यो कुरा बुझ्नुपर्छ । कसले के नराम्रो गरेको थियो ? भन्ने छाडेर राम्रा कामको खोजी गरौँ । कांग्रेसले पनि अहिलेसम्म के गरेको छ ? समीक्षा गरेर जानुपर्ने छ ।’
गल्ती कमजोरीहरू सच्याएर अगाडि बढेमा नेपाली जनताले फेरि पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा साथ दिने उहाँको विश्वास छ । बिपी कोइरालाको नीति र कार्यक्रमलाई अझै पनि कांग्रेसले संस्थागत बनाउन नसकेको प्रति चिन्ता प्रकट गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘किसान, मजदुर र ग्रामीण जनताको भावना बुझेर योजना बनाऔँ, सोही अनुसारको विकास गरौँ । हाम्रै पालामा विकासको उत्कृष्ट नमुना देखाउन सक्छौँ ।’
राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदो : महासचिव भुसाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का महासचिव घनश्याम भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले आज दुःख पाइरहेको टिप्पणी गर्नुभएको छ । भ्रष्टाचार रहेको मुलुक कहिल्यै माथि नलाग्ने स्पष्ट पार्दै महासचिव भुसालले भन्नुभयो, ‘जहाँ भ्रष्टाचार छ, त्यो मुलुकमा रोजगारी सिर्जना हुँदैन, त्यो मुलुकमा स्थिरता, नियम र कानुन केही लागू हुँदैन । भ्रष्टाचारले रोजगारी सिर्जना हुन दिँदैन । उद्योग, व्यवसाय, कृषि र उत्पादन क्षेत्रको विकास हुन दिँदैन ।’
सही नेतृत्व र विचार भएको पार्टी आवश्यक रहेको स्पष्ट पार्दै महासचिव भुसालले भन्नुभयो, ‘विचारको हिसाबले हामी ठिक ठाउँमा छौँ । अब एउटा कमी छ, नेकपा (एस)लाई ठूलो पार्टी बनाउनुपर्छ । आम जनताको बीचमा हामीले देशका लागि के सोचेका छौँ, त्यो बताउनुपर्छ । पार्टीको राजनीतिक एजेण्डा दुनियाँका सामु बनाउनुपर्छ । राजनीतिलाई ठिक ट्र्याकमा ल्याउन सके १५-२० वर्षमा मुलुक कायापलट हुनसक्छ ।’ एमाले अध्यक्ष केपी ओली नेतृत्वका कारण मुलुकले दुःख पाएको उहाँको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच