पाल्पा । पाल्पामा आप्रवासी स्रोत सहायता केन्द्र सञ्चालन गरिएको छ ।
वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गर्ने गरी सदरमुकाम तानसेनस्थित जिल्ला प्रशासन कार्यालयमा केन्द्र सञ्चालन गरिएको हो ।
स्वदेशमै रोजगारी गराैँ, विदेश जाने भए सही सूचना लिई सीप सिकेर मात्र जाऔं भन्ने मुल उद्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणमा जाने सबै किसिमका नागरिकहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सामी परियोजनाले संयुक्त रुपमा सहायता कक्ष सञ्चालन गरेका हुन् ।
यहाँ वैदेशिक रोजागारीमा जान लागेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुपूर्व रोजगारीमा रहँदा र फर्कंदा अपनाउनुपर्ने सावधानी तथा कानुनी प्रक्रियाबारे जानकारी गराइने छ । वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता समेत दिइने छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा रहने आप्रवासी स्रोत केन्द्र परामर्शदाताहरूले राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि विदेशमा काम गर्दा र फर्कंदासमेत आइपर्ने कानुनी ज्ञान र विधिबारे जानकारी गराउनेछन् । आप्रवासमा जाने कामदारलाई घरबाट निक्लेदेखि रोजगारस्थलमा समेत विभिन्न व्यक्तिले ठगी गर्दै आएको र विदेशमा मरेका कामदारको शव घरमा ल्याउने क्रममा पनि दलालहरूले लाशमाथि ठगी गर्ने गरेपछि प्रदेश सरकारले स्थानीय तहसँग सहकार्यगरी केन्द्र सञ्चालनमा ल्याएको हो । अब यहाँका नागरिकहरुले आप्रवासन केन्द्रबाट आवश्यक सूचना तथा जानकारी लिएको विवरण पेश गरेपछी मात्र नयाँ राहदानी बनाउन पाउने छन् । दिनहुँ बढ्दो वैदेशिक यात्रालाई सुरक्षित, व्यस्थित, भरपर्दाे बनाउन, कुन–कुन क्षेत्रमा कतिको संख्यामा नागरिकहरु वैदेशिक यात्रामा गए भन्ने सही सूचना संकलन गर्नको लागि तिन वटै सरकारको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको हो । सूचना केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शुभारम्भ गर्नुभएको छ ।
सूचना केन्द्रको महत्व, आवश्यकता, सुरक्षा लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयका अधिकृत टुकप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद ज्ञवाली लगायतले प्रकाश पार्नुभएको थियो । सामी परियोजनाका प्रदेश व्यवस्थापक पञ्चराम चौधरीले वैदेशिक रोजगारलाई राज्यले सुरक्षित, व्यवस्थित गर्नको लागि यो अभियान सुरु गरेको बताउनुभयो ।
‘वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरू विदेश जाँदा, रोजगारीमा रहँदा र फर्कंदासम्म भोग्नुपर्ने ठगी तथा अल्झनहरूमा कानुनी तथा व्यावहारिक सहयोग गर्न आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेका हौं,’ तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले भन्नुभयो ।
उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले आप्रवासी स्रोत केन्द्र र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अनलाइन आवेदनसमेत स्थानीय पालिकाबाटै हुन थालेपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिले सुरक्षित, भरपर्दो र पारदर्शी भएको महसुस गर्ने विश्वास लिएको बताउनुभयो ।
पाल्पा वैदेशिक रोजगारीको क्षेत्रमा जाने व्यक्तिहरुका आधारमा लुम्बिनी प्रदेश तेस्रो जिल्ला रहेको छ । लुम्बिनी प्रदेशबाट १० लाख युवा वैदेशिक रोजगारीमा गएका छन्, भने पाल्पाबाट ७३ हजार गएका छन् । सूचना केन्द्रको लागि प्रदेश सरकारबाट १८ लाख र तानसेन नगरपालिकाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच