पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा ताला लगाएका हुन् ।
उद्योगमा ताला लागेपछि उद्योगको काम हिजो साँझादेखि ठप्प छ । पटक-पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरे पनि कम्पनीले बेवास्ता गरेका कारण स्थानीयले उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन् । उद्योगमा ताला लगाएपछि तीब्र गतिमा भइरहेको काम अहिले ठप्प भएको हो । कम्पनीले आफ्ना मागप्रति बेवास्ता गरेकाले तालाबन्दी गर्नु परेको स्थानीय केशव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो‘ कम्पनीले आफ्नो उत्पादनलाई मात्र प्राथमिकता दिएको छ तर मानव स्वास्थ्यप्रति पुरै बेवास्ता गरेकाले स्थानीयहरु एक भएर उद्योग बन्द गराइएको हो ।’
सिमेन्ट उद्योगबाट निस्केको धुलो- धुुवाले स्थानीयले लगाएका तरकारी र मानवीय स्वास्थ्यमा नकरात्मक असर गरेको पोखरेलको भनाई छ । मेहनत गरेर लगाएको रायो साग, काउली र बन्दामा सिमेन्टको धुलो पत्रैपत्र भएर बस्छ जसले गर्दा खाना लायक नै नभएको उहाँको गुनासो छ । धूलो र धुवाँले गर्दा गाउँमै बस्न सक्ने अवस्था नरहेको पोखरेलले बताउनुभयो । सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण सञ्चो भएको मान्छे विरामी भएर अस्पताल हिड्नु परेको छ । त्यसैले सिमेन्ट उद्योग बन्द गराउन आन्दोलन सुरु गरेको पोखरेलले बताउनुभयो । यहाँ घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले समेत घाँस खान छाडेका छन् ।
कम्पनीका महाप्रबन्धक पदमबहादुर सिंहले भने आफुहरुले वातावरण प्रदुषण नहोस् भन्नको लागि सबै किसिमका उपायहरु अवलम्वन गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो‘ शून्य धूलो-धुवाँ होस् भन्ने चाहना स्थानीयको छ, तर उद्योग सञ्चालन भइसकेपछि र गाडी गुड्न थालेपछि त्यस्तो सम्भव हुँदैन तर पनि हामीहरुले वातावरण प्रदुषण नहोस् भन्नका लागि सबै किसिमका काम गरेका छौं, हाम्रोतर्फबाट कुनै कसुर बाँकी छैन् ।’ छिट्टै स्थानीयहरुसँगको सहमतिपछि ताला खुल्ने महाप्रवन्धक सिंहले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, कम्पनीका प्रतिनिधिबिच ताला खुलाउने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न भने सकेको छैन् ।
रैनादेवी छहरा गाउँपालिकाका-२ वडाअध्यक्ष दानबहादुर पौडेलले स्थानीय र उद्योग सञ्चालक बीच विवाद सिर्जना भई स्थानीयले उद्योगमा ताला लगाएको बताउनुुभयो । स्थानीय र कम्पनी बीच सहमती जुटाउने प्रयास भए पनि त्यो सफल हुन नसकेको उहाँको भनाई छ । वडा अध्यक्ष पौडेलले भन्नुभयो ‘छिट्टै जनप्रतिनिधि र सरोकारवाला निकायहरुसँग बसेर समस्याको समाधान गर्नेछौं ।’ उहाँले जनतालाई असर पुुग्ने गरी काम नगर्न कम्पनीलाई आग्रह गर्दै आए पनि पटक-पटक समस्या दोहोरिने गरेको बताउनुभयो । पौडेलले भन्नुभयो ‘धूलो धुुवाबाट स्थानीय आजित भइसकेका छन्, यसतर्फ कम्पनीले ध्यान दिनुपर्छ ।’
विशेष गरी उद्योग आसपास रहेका रिब्दीकोट गाउँपालिका-१ को जोगिथुम, करेचौंर, भाती, रैनादेवी छहरा गाउँपालिका-२ को सोमादी, सर्देवा, छत्रादी, भूतखोला, भोटानी, सिद्देश्वर लगायतका गाउँका बासिन्दामा प्रत्यक्ष असर गरेको छ । प्रभावित सबै गाउँका स्थानीयहरुले संयुक्त रुपमा उद्योगमा ताला लगाएका हुन् । उनीहरुले आफ्ना माग पुुरा नहुँदा सम्म काम ठप्प पार्ने चेतावनी दिएका छन् । यहाँका स्थानीयहरुले यस अघि पनि आफ्ना मागहरु राख्दै उद्योगको काम ठप्प पारेका थिए । स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई पटक-पटक आफुहरुको समस्याप्रति जानकारी गराए पनि कोही कतैबाट पहल नभएको स्थानीयको गुनासो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच