काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । नेपाली कांग्रेसले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा आज (सोमबार) कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै छन् ।
कांग्रेसले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा आज हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित संविधान निर्माणमा सहभागी दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने कार्यक्रममा निम्तो दिएको छैन । दुई दललाई निम्तो नदिइएको सम्बन्धमा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भन्नुभयो, ‘वक्ता धेरै हुने भएकाले निश्चित मापदण्ड बनाइयो । राष्ट्रिय मेलमिलाप भनेपछि बिपीको विचारलाई कार्यान्वयन गर्नका लागि नेपालमा लोकतन्त्र नै मूल विषय हो । प्रजातन्त्र नै मूल विषय हो । यो विषयमा लामो समयसम्म योगदान गर्ने मानिसहरू वक्ता रहने भनेपछि नेमकिपाका नारायणमान बिजुक्छे, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ । चित्रबहादुर केसीको योगदान छ । रास्वपा, राप्रपासहित मापदण्डभित्र नपरेका पार्टी छुटेका हुन सक्छन् ।’
नेपाली कांग्रेस बिपीले पनि प्रज्ञा प्रतिष्ठानकै पारिजात हलमा कार्यक्रम गर्दै छ । बिपी कांग्रेसका सभापति सुशीलमान शेरचनका अनुसार कार्यक्रममा दमननाथ ढुंगाना, सिपी मैनाली, प्राडा. सुरेन्द्र केसी, संविधानविद् भीमार्जुन आचार्य लगायतका वक्ता रहनुभएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरू मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो । बिपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच