इन्जिनियरहरुले सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाका लागि पहल गर्छु : मन्त्री ज्वाला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरुले निजामती सेवामा सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले कुरा बताउनुभएको हो । मन्त्री ज्वालाले प्राविधिक कार्यालयहरुको नेतृत्व प्राविधिकहरुले नै गर्न पाउने इन्जिनियरहरुको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले धेरै महत्वपूर्ण निकायहरुमा छुट्टै इन्जिनियरिङ शाखाको स्थापना गर्न सकिने आश्वासन समेत दिनुभयो । मन्त्री ज्वालाले कार्यालयहरुमा प्राविधिकहरुको नेतृत्वदायी भुमिका नहुँदा कतिपय कामहरु अघि बढाउन असजिलो भईरहेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउने काममा आफू लागिपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब छैठौं तहबाट सेवा सुरु हुने कुरालाई पटकपटक भन्नुभएको छ । सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाको कुरा गर्नुभएको छ । त्यस्तै गरेर प्राविधिक कार्यालयहरुको प्रमुखहरु प्राविधिकनै हुनुपर्ने । प्राविधिक कार्यालय छ तर नेतृत्वको चाहीँ प्राविधिक छैन भने निश्चत रुपमा पनि असजिलो हुन्छ । अथवा कामको तालमेल हुँदैन । प्राविधिकहरुलाई उनीहरुको अध्ययन अनुसारको काम दिइयो भने काम गर्न पनि सहज होला । किनभने जुन विषयको जिम्मेवारी पाउँछ मान्छेले । त्यो विषयको विज्ञ भयो भने, त्यो विषयको जानकार भयो भने काम ठिक ढंगले अगाडि बढछ । समस्याहरु सुल्झाउन सहज हुन्छ । विषय नबुझदाखेरी अफ्ठ्याराे हुन्छ । नियत खराव नहुँदा पनि विषय नबुझेको मान्छेले काम अगाडि बढाउन असजिलो हुन्छ । त्यसकारण यो प्राविधिक कार्यालयहरुको नेतृत्व उनीहरुले गर्ने कुरा वास्तवमा जायज छ । त्यस्तै गरेर धेरै महत्वपूर्ण निकायहरुमा इन्जिनियरिङ युनिट चाहीँ कमसेकम अलग्गै राख्ने कुरा । लेखा शाखा राखेजस्तै इन्जिनियरिङ युनिट राख्न सकिन्छ । त्यसका निम्ति पनि हाम्रो तहबाट प्रयास हुन्छ । म यो कुरा पनि यहाँहरुको बीचमा राख्न चाहन्छु ।’

मन्त्री ज्वालाले सरकारले इन्जिनियरहरु पलायन हुन नदिनेगरी आवश्यक वातावरण बनाउने कामलाई प्राथमिकता दिएको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?