क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

रासस
Read Time = 5 mins

लुम्बिनी । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ ।

हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल-क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिनुभयो । नेपाल भ्रमणका क्रममा बुधबार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल-क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गर्नुभएको थियो । उक्त समझदारीपत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको थियो ।

तीनवटै चेम्बरसँग भएका समझदारीमा एकअर्काबीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरममा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तक्रियालाई नियमित बनाउने, अनुभवको आदानप्रदान गर्ने तथा व्यावसायिक भ्रमण गर्ने समझदारी छ । समझदारीमा लुम्बिनी प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको प्रवर्द्धनका लागि सहयोग गर्ने सहमतिसमेत भएको छ ।

समझदारीपछि अनुभव आदानप्रदान गर्दै लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेलले यहाँ पर्यटन, कृषिलगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको जनाउँदै आफूहरु यहाँको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो । कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले क्यानडाबाट लुम्बिनी भ्रमणमा आएका पाहुनालाई लुम्बिनीको महत्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका नायब महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आह्वान गर्नुभयो । क्यानडाका तर्फबाट सहभागी प्रतिनिधिले पनि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रवद्र्धनका लागि आफूहरु सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सबै मिलेर प्रवद्र्धन गर्न र लाभ लिन सकिने बताउनुभयो ।

हिन्दू चेम्बर अफ कमर्स क्यानडाका अध्यक्ष चावडाले लुम्बिनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफूलाई लोभ लागेको बताउनुभयो । चेम्बर लुम्बिनीसँगको समझदारीलाई नयाँ उचाइमा पु¥याउन आफू तत्पर रहने प्रतिक्रिया दिनुभयो । आगामी दिनमा लुम्बिनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफूहरुको चाहना रहेको बताउँदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकलाई सिधै लुम्बिनी भ्रमणका लागि आह्वान गर्न सजिलो हुने धारणा राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?