प्रदेशको औचित्यमा प्रश्नै प्रश्न : नागरिकहरुमा चुलिँदै वितृष्णा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । पटक–पटक सरकारको नेतृत्व फेरिए पनि प्रदेशको औचित्य पुष्ट्याइँ नभएपछि नागरिकमा वितृष्णा चुलिँदै गएको छ ।

प्रदेश तहलाई बेकामे संरचनाका रूपमा वुझेका नागरिकहरुको वितृष्णालाई प्रदेशको दोस्रो कार्यकालको सरकारले पनि वल पुर्याएको छ ।

अघिल्लो वर्षको पुस २७ गते एमालेका लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री चुनिँदा अघिल्लो कार्यकालको सरकारले गरेका ‘गोलमटोल’ कार्यक्रमलाई सुधार गर्ने लक्ष्य राखेको थियो । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर प्रदेशको विकासका लागि पञ्चवर्षीय योजना निर्माणमा जुटेको थियो, तत्कालीन सरकारका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री इन्द्रजित चौधरी भन्नुहुन्छ, ‘प्रदेश राजधानी स्थापना र जनतामा प्रदेश तहको औचित्य पुष्टि गर्ने गरी पञ्चवर्षीय योजना निमाणको काममा हामी जुटेका थियौँ ।’ आफूहरूले राम्रो कामको योजना बनाउँदै गरेको भए पनि राजनीतिक समीकरणको फेरबदलले काम गर्न नपाएको तर्क यो सरकारको नेतृत्वले गर्ने ठाउँ भने पाएको छ ।

माथिल्लो राजनीतिक समीकरणमा परिवर्तन आएसँगै गठबन्धनले गिरी नेतृत्व सरकार ढाल्यो र डिल्लीबहादुर चौधरीको नेतृत्वमा नया सरकार बनायो । बैशाख १५ गते चौधरी मुख्यमन्त्री चुनिएपछि बनेको नयाँ गठबन्धन सरकारका सात महिना बढी समय घर्किसकेको छ तर आम नागरिकलाई प्रदेशको अनुभूति गराउने सवालमा वर्तमान सरकार पनि चुकेको देखिन्छ । सत्ता प्राप्तिका लागि भएका हानाथाप र प्रतिशोधपुर्ण राजनीतिले गिजोलिएका प्रदेशहरु आफ्नो औचित्य पुष्टिका लागि काबिल बन्न अझै सकिरहेका छैनन् ।

त्यसो त मुख्यमन्त्री आफैँले संघीयता नरहन सक्ने भन्दै दिने गरेका अभिव्यक्तिले प्रदेशको औचित्यमा पुष्ट्याइँ गर्ने ल्याकत वर्तमान सरकारसँग कति छ भन्ने प्रश्न स्वाभाविकै रूपमा उठ्ने ठाउँ मिलेको छ । मुख्यमन्त्री चौधरीले केही समय अघि सार्वजनिक कार्यक्रममा संघीयताबारे चिन्तन राख्दै संघीयता यता फेल भयो भने यसको सबै दोष केन्द्र सरकारको हुने बताउनुभएको थियो । उहाँका अनुसार सङ्घीय सरकारले प्रदेशका अधिकार ‘कुण्ठित’ गरेको उहाँको आरोप रहँदै आएको छ । सङ्घीय सरकारले अधिकारमाथि गरेको हस्तक्षेपका कारण प्रदेश सरकारले काम गर्न नसकेको बताउने गरेका मुख्यमन्त्री चौधरीले अहिलेसम्म प्रदेशको औचित्य पुष्टि हुन नसक्नुको ठुलो कारक नै सङ्घीय सरकारलाई परिभाषित गर्दै आउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारको दोस्रो कार्यकाल पहिलो कार्यकालमा जस्तै राजनीतिक झमेलाबाट मुक्त हुन सकेको छैन । सत्ता नेतृत्वका लागि सुरुदेखि देखिएको राजनीतिक चलखेलले यो प्रदेशको राजनीतिलाई स्थिर राख्न दिएन । सरकारको नेतृत्वमा पुगेपछि वर्तमान मुख्यमन्त्री चौधरीका लागि सबैभन्दा बढी चुनौती सरकारको पूर्णता नै बन्यो ।

पछिल्लो समय दुई मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्नुभएका मुख्यमन्त्री चौधरीले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । यसको कारण थियो, गठबन्धनमा आबद्ध दल माओवादीको चित्त दुखाइ । माओवादीले माग गरेको तीन मन्त्रालय दिन नसक्दा मुख्यमन्त्री चौधरीलाई सरकारको पुर्णता ठुलो सकस बनिरहेको छ । मुख्यमन्त्री बनेको ८ महिना पुग्नै लाग्दासम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु त ठुलो असक्षमता हो नि । ’ निवर्तमान मुख्यमन्त्री एवम् एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी भन्नुहुन्छ ।, ‘अहिलेको नेतृत्व सरकार सञ्चालनमा असक्षम छ भन्ने प्रमाण यही नै काफी छ । त्यसो त संसदीय समिति बन्न नसक्नु यो प्रदेशको अर्को ठुलो असक्षमता हो । प्रदेश सभाको दोस्रो कार्यकाल स्थापना भएको एक वर्ष पुग्दा पनि संसदीय समिति निर्माण हुन सकेका छैनन् । सरकार विस्तारका क्रममा एकलाटी निर्णय लिएपछि मुख्यमन्त्री चौधरीले आफ्नै दल नेपाली कांग्रेसलाई समेत चिढाउनुभएको छ । पार्टी प्रदेश समितिसँग सरसल्लाह नै नगरी एकलौटी ढङ्गले मन्त्री नियुक्त गरेको भन्दै प्रदेश समिति नेतृत्व मुख्यमन्त्री चौधरीसँग रुष्ट छ । यहाँसम्म कि सरकारकाविरुद्ध उभिने प्रदेश सभापति अमरसिंह पुनले चेतावनी दिनुभएको छ । कांग्रेसबाट सरकारमा मुख्यमन्त्रीसहित थप दुई मन्त्री थप्दा मुख्यमन्त्री चौधरीले पार्टीको संस्थापन पक्षबाट मात्रै मन्त्री नियुक्त गर्नुभयो । सरकारमा निल बनेको संस्थापन इतर समूह अहिले मुख्यमन्त्रीविरुद्ध खनिएको छ ।

विश्लेषकहरु भन्छन मुख्यमन्त्री जत्तिको व्यक्तिले सङ्घीयता फेल भयो भने त्यसको सबै दोष सङ्घीय सरकारको हुनेछ भनेर बोल्नुले त संघीयता फेल हुने सम्भावनालाई पुष्टि गर्छ । उनीहरु उहाँको त्यो भनाइले त प्रदेश तहको औचित्य पुुष्टि गर्न झनै गाह्रो हुने भयो भन्ने नै अनुमान गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?