नदी कटान र बाढीको उच्च जोखिममा म्याग्दीको अधिवारा गाउँ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । दक्षिण तर्फबाट उर्लदै बग्ने रुमखोला र पश्चिमबाट आउने दार्जिङ खोलाको दोभानमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ को अधिभारा गाउँ बाढी र कटानका कारण उच्च जाेखिममा परेको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि करिब आधा घण्टाको दुरीमा पश्चिमतर्फ रहेको सो गाउँ दुईवटा खोलाको कटान र वर्षामा दुबै खोलामा आउने बाढीका कारण उच्च जोखिममा परेका स्थानीय प्रेमबहादुर पुनले बताउनुभयो ।

“यहाँ १६ घर परिवारको बसोबास रहेको छ । हिउँदमा खासै समस्या नभए पनि वर्षाको समयमा भने गाउँ नै छोडेर भाग्नुपर्ने वाध्यता यहाँका वासिन्दाहरुलाई हुनेगर्छ”मालिका गाउँपालिका वडा नं ३ का वडा सदस्य कुलबहादुर बूढाले भन्नुभयो ।

मालिका गाउँपालिका वडा नं १ निस्कोट र वडा नं २ रुमको सिमाना भएर आउने ठाडो खोलो रुम खोलाले सबैभन्दा बढी खतरा निम्त्याउने गरेको वडासदस्य बूढाले बताउनुभयो । त्यसैगरी च्यूरीबोटको पुछार हुँदै आएको दार्लिङ खोलाले वर्षेनी कटान गर्दै जाँदा यो गाउँ साँघुरिदै गएको र दार्लुङ खोला माथिको झोलुङ्गे पुलदेखि माथिको तीनसय मिटर क्षेत्र उच्च जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

“यहाँ वर्षाको समयमा वसिसक्नु हुँदैन,ठाडो खोलामा आउने बाढीले कतिबेला गाउँ नै बगाएर लैजाने हो भन्ने त्रास सधैंभरी रहिरहन्छ” फुलबारीका युवा गोविन्द सुनारले भन्नुभयो “गाउँको शिरानमा रहेको मोटरबाटो,भिरालो जमिन र अव्यवस्थित बसोवासका कारण उत्पन्न भएको जोखिमले यहाँका बासिन्दा वर्षामा सधैंभरी जाग्राम बस्नुपर्ने वाध्यतामा छन् ।”

अधिभारा गाउँ निस्कोट,रुम,च्युरीबोट र फुलबारी गाउँको खोंचमा रहेको छ । यहाँका वासिन्दाहरु सामान्य पसल र कृषि पेसामा आश्रित छन् । मािलका गाउँपालिकाको केन्द्र दरबाङदेखि पश्चिम उत्तरमा पर्ने यो गाउँ विगत ४ वर्षदेखि उच्च जोखिममा छ । “चार वर्ष अघिसम्म यी दुईओटै खोला त्यति फैलिएका थिएनन् । २०७६ सालमा आएको बाढीले रुमखोलाको सतह बढ्यो र गाउँतिर सोझियो । खोला पुरानो ठाउँ छोडेर नयाँ ठाउँबाट बग्न थाल्यो” स्थानीय जगत विकले भन्नुभयो “त्यसयता खोलाले आफ्नो साविकको ठाउँ छोडेर गाउँ तिर सोझिएको हो । वर्षामा त खोला घर भित्र नै पस्छ कि क्याहो जस्तो हुन्छ ।”

कुल १८.३५बर्ग किलोमिटरमा फैलिएको मालिका गाउँपालिका वडा नं ३ मा जम्मा दुईहजार,एक सय ७३ जनसंख्या रहेको छ । बागलुङ जिल्लासँग सीमाना जोगिएको यो वडामा भिरालो जमिन र खहरे खोलाहरु छन् । यहाँको भूगोल अत्यन्त कमजोर भएको र ठाडा खोलाहरु भएकाले यहाँ बाढी र पहिरोको जोखिम बढी हुने गरेको मालिका गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष मोतीप्रसाद बूढाले बताउनुभयो ।

अधिभारा गाउँको संरक्षणका लागि गाउँपालिकासँग समन्वय गरेर संरक्षणको पहल गरिने उहाँको भनाइरहेको छ । यस वडामा पुरुषको तुलनामा महिलाको जनसँस्या बढी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ महिलाको सनसंख्या एक हजार एक सय २४ रहेको छ भने पुरुषको जम्मा एकहजार ४९ छ । पुरुषको तुलनामा महिलाको संख्या बढी भएकोले पनि आपतकालीन अवस्थामा समस्या हुने गरेको छ ।

रुम खोला र दार्जिङ खोला अधिभाराको दोभानमा मिलेपछि त्यसभन्दा तल एउटै खोला बनेर बग्छ । त्यो खोलालाई फुलबारीदेखि भोर्सेखोला भनेर नामाकरण गरिएको छ भने त्यही खोला दरबाङमा पुग्दा रितुङखोला भनेर चिनिन्छ । रितुङ खोला दरबाङमा पुगेपछि म्याग्दी नदीमा मिसिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?