नवलपरासी । बर्दघाट उद्योग वाणिज्य संघको निर्वाचनमा विजय हासिल गरेका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । पुस २१ गते सम्पन्न संघको छैटौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट विजयी पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । यसअघि पनि संघका अध्यक्ष रहनुभएका र पुनः निर्वाचित अध्यक्ष लेखनाथ न्यौपाने, वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतम, वाणिज्य उपाध्यक्ष चन्द्रबहादुर दमाई, उद्योग उपाध्यक्ष टेकबहादुर बुढाथोकी, महासचिव गंगाप्रसाद पाठक, सचिव दिल्लीराम कँडेल, कोषाध्यक्ष जितबहादुर थारु, सह–कोषाध्यक्ष पार्वती भुसालले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै, सदस्य घनश्याम पाध्या आचार्य, खुमानन्द बस्याल, प्रकाश घिमिरे, कृष्णप्रसाद सापकोटा, रुविन तामाङ, घनश्याम थारु र सन्तोष श्रेष्ठले पनि पदभार ग्रहण गरेका छन् । निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण पौडेलले प्रमाणपत्र प्रदान गर्दै पदभार ग्रहण गराउनुभएको हो । कार्यक्रममा निर्वाचन अधिकृत पौडेलले लोकतान्त्रिक विधि आत्मसात गर्दै सहज वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य सरिता भुसाल खनालले बर्दघाट उद्योग वाणिज्य संघ हालका चुनौती चिर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू कानुन निर्माण गर्ने स्थानमा रहेको भन्दै उद्योगीका समस्या समाधान गर्ने प्रकृतिका कानुन निर्माणमा लाग्ने बताउनुभयो । सांसद भुसालले पछिल्लो समय मुलुकको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको र त्यसको प्रत्यक्ष प्रभाव उद्योग र वाणिज्य क्षेत्रमा परेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजमा लगानी गरे उद्योगीलाई सहज हुने उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले उत्पादनका आधारमा कर लिने व्यवस्था गरिनुपर्ने र एकीकृत करलाई निरुत्साहन गर्नुपर्ने बताउनुभयो । खुला सीमाका कारण यस क्षेत्रमा अप्ठेरो अवस्था रहे पनि व्यवसायी बचाउन संघले अझै प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले बर्दघाट उद्योग वाणिज्य संघलाई महासंघको सदस्यता दिलाउन आफूले पहल गरेको र त्यसमा सफलता प्राप्त गरेको दाबी गर्नुभयो । संघका अध्यक्ष न्यौपानेले आफूले विगतदेखि नै व्यवसायीको हितमा कार्य गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच