काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई जबरजस्ती सहकारी ठग बनाउन खोजिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्ती सहकारी ठग बनाउन खोजिएको बताउनुभएको हो । एक करोड ८० लाख लिएको भन्दै मिडियाले ‘मिस लिड’ गरेको उहाँको गुनासो थियो । ‘कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति शुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु’, रविले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने बताउनुभयो । ‘एकदिन समय माग्दा पनि उहाँहरूले दिनुभएन । मिस लिड भयो’, रविको भनाइ थियो ।
आफ्नो नाममा चेक काटिए पनि खातामा कुनै रकम जम्मा नभएको उहाँको जिकिर छ । सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचारबारे पत्रकारहरूले सोमबार प्रश्न गरेपछि जवाफमा उहाँले भन्नुभयो, ‘मेरो नाममा चेक काटिएको रहेछ, आएको रहेछ तर रकम जम्मा भएको भनेर घण्टी बजेन’, उहाँले भन्नुभयो । एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन । आएको छैन । चेक काटिएको हो तर घण्टी बजेन ।’
उहाँले आफूमाथि नियोजित रूपमा निरन्तर प्रहार भएको जिकिर गर्दै भन्नुभयो, ‘ममाथि निरन्तर रूपमा प्रहार भइरहँदा, चरित्रहत्या गरिरहँदा मजा लागेन । म बचतकर्ता पनि होइन, रकम लिन पनि गएको छैन । कसैले मेरो नाम राखेर सम्झनाका लागि राखेको हुनसक्छ ।’ उहाँले आफ्नो हकमा सञ्चार माध्यमले नै गल्ती गरेको बताउँदै क्षमायाचना गर्न सकिने पनि तर्क गर्नुभयो । आफू ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसा दुरुपयोग गरेको आरोप उहाँले अस्वीकार गर्नुभएको छ । आफू टिभीमा आबद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय नगरेको उहाँको भनाइ थियो । रविले आफू कार्यरत छँदा बोर्डले गरेका सबै निर्णयहरूको प्रतिलिपि बोकेर पत्रकार सम्मेलनमा आउनुभएको थियो । उहाँले पत्रकारलाई प्रतिलिपि देखाउँदै भन्नुभयो, ‘यी कुनै पनि निर्णयमा सहकारीबाट पैसा लिने कुरा उल्लेख छैन । जब बोर्ड बैठकमा नै छलफलमा आएको छैन भने मैले कसरी थाहा पाउँछु ?’
सहकारी पीडितहरूको पक्षमा आफूहरूले अन्तिमसम्म संघर्ष गरिरहने रविले बताउनुभयो । उहाँले आफूलाई खेद्ने समयमा सञ्चार माध्यमहरूले सहकारी पीडितको पक्षमा समाचार लेखे राम्रो सुझाव दिनुभयो । रविले आफूहरूले सहकारी पीडितको पक्षमा आवाज उठाउँदै आइरहेको पनि जिकिर गर्नुभयो । अब पनि उनीहरूको पक्षमा सदनदेखि संसद्सम्म बोलिरहने पनि उहाँको भनाइ थियो । ‘हामी सहकारी पीडितहरूको पक्षमा लड्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘हामी अन्तिमसम्म लड्न तयार छौँ । संसद्मा पनि यसबारेमा कुरा उठाउने तयारीमा छौँ । अब संसद्को नयाँ सत्रमा यसबारे हामी कुरा चर्काउँछौँ ।’ पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवं पूर्व–बैंकर अनिल केशरी शाहले पनि रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताउनुभयो ।
केही समय सहकारीलाई राष्ट्र बैंकले हेर्नुपर्छ : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधानका लागि केही समय नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताउनुभयो । सोमबार पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले ठूला सहकारीलाई राष्ट्र बैंकले तीन वर्षसम्म नियमन गर्नुपर्ने धारणा राख्नुभयो ‘ठूला सहकारीका लागि राष्ट्र बैंकलाई अब फिल्डमा उतार्नुपर्छ । राष्ट्र बैंकले तीन वर्षसम्म नियमन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कर्जा तथा निक्षेप सुरक्षण कोष बनाउनुपर्ने पनि आवश्यकता देखिएको छ । पहिलो एक वर्ष स्थानीय तहमा सहकारी दर्ता बन्द गर्नुपर्छ ।’
त्यस्तै, सरकार आफैँले अध्ययन गरेर तयार पारेका रिपोर्टहरूको पालना नगरेको पनि उहाँको भनाइ थियो । राजनीतिक स्वार्थका कारण सहकारी क्षेत्रमा विकृति मौलाएको जिकिर गर्नुभयो । २०७४ असोज ३ गते आएको ऐनलाई २०७४ सालमा निर्वाचित भएका सांसदहरूले ६५३ पटक संशोधन गरेको उहाँले बताउनुभयो । ‘सहकारी ऐन २०७४ मा सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष स्थापना गर्नुपर्छ भनिएको छ । कर्जा असुुली न्यायाधीकरण गठन गर्नुपर्छ भनिएको छ’, उहाँले भन्नुभयो, ‘स्तरीकरण कोष बनाउनुपर्ने पनि भनिएको छ । यो खै त बनाएको ?’ २०६१ सालमा पनि डा. युवराज खतिवडाले अध्ययन प्रतिवेदन तयार पारेको भन्दै त्यसमा भएका कुरा नै कार्यान्वयन नभएको उहाँको भनाइ थियो । राष्ट्र बैंक जस्तै सेकेण्ड टायर रेगुलेटर स्थापना गर्नुपर्ने पनि उहाँको सुझाव थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच