दुःख सुखको सारथी बन्दै धनगढी नगरप्रहरी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरी सर्बसाधरणको सारथी बन्दै गएको छ । जनतालाई परेको दुःख सुखमा साथ दिँदै आएपछि अहिले जनताको सारथी बन्दै गएको हो ।

उपमहानगरभित्र कार्यरत नगर प्रहरीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५२ बिरामीसँगै दुर्घटनामा परेका व्यक्तिको उद्धार गरेर आफ्नो भूमिका प्रभावकारी बनाउँदै आएको छ । नगर प्रहरी बलका ४२ जना जनशक्तिबाट नगरवासीमा आवश्यक सेवा दिने काम भइरहेको छ । उपमहानगरले नगर प्रहरी मार्फत नगरबासीलाई आवश्यक परेको बेला सहयोग पुगाउन स्रोत साधन समेत प्रदान गरेको छ ।

एम्बुलेन्स सेवा, दमकल सेवा र विपद्को समयमा आवश्यक सहयोग गर्न नगर प्रहरी बल तैनाथ अवस्थामा छ । उपमहानगरले ४२ जना नगर प्रहरी मार्फत सर्प उद्धारदेखि एम्बुलेन्स सेवा, दाहसंस्कार खर्च वितरण, शव बाहन सेवा, आकस्मिक बिरामी तथा दुर्घटनामा उद्धार सेवा प्रदान गर्दै आएको नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले बताउनु भयो ।

नगर प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा ५ सय १७ घरमा पसेका सर्प उद्धार गरेको छ । असोज २ गतेदेखि हालसम्म १ सय ४८ जनालाई दाहसंस्कार खर्च वितरण गरेको छ । उपमहानगरले नगर प्रहरी मार्फत ५ जनालाई शव चिस्यान सेवा प्रदान गरेको छ । यस्तै, ६ महिनाको अवधिमा ९४ जनालाई शव वाहन सेवा प्रदान गरिएको छ ।

नगर प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा ५२ जना आकस्मीक बिरामी तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार गरेको छ भने आमा बचाऊ अभियान अन्तर्गत ५६ जनालाई सहयोग गरेको छ । नगर प्रहरीले धनगढी नगर क्षेत्रमा वेवारिसे अवस्थाका विभिन्न १४ जनाको उद्धार गरेर आफन्त र आश्रयस्थलको जिम्मा लगाएको छ ।

विभिन्न ५२ वटा आगलागीका घटना नियन्त्रण गर्न नगर प्रहरी परिचालन भएको र नगर क्षेत्रबाट नगर प्रहरीले ७ वटा बहुलाहा कुकुर नियन्त्रण गरेको नगर प्रहरी प्रमुख खड्काले बताउनुभयो । नगर प्रहरी बललाई ब्यारेक निर्माण गरेर बस्ने व्यवस्था मिलाइएको छ । नगर प्रहरीलाई सम्बन्धित ठाउँमा पुग्न तीनवटा चार पाङ्ग्रे गाडी, एउटा बोट, टेन्टहरू, ८ वटा मोटरसाइकल र आगलागी भए तुरुन्त पुग्न २ वटा फायर बाइक प्रदान गरिएको छ ।

नगरपालिकासँग रहेका दुईवटा दमकलसहित १० जना फायर फाइटरलाई पनि आगलागीको समयमा नगर प्रहरीसँग परिचालन गर्ने व्यवस्था मिलाइएको छ । सर्प उद्धार, दाहसंस्कार खर्च वितरण, एम्बुलेन्स सेवा प्रदान गर्न तथा बिरामी, बेवारिसे र दुर्घटनामा परेका व्यक्तिको उद्धार गर्न नगर प्रहरीले कसैको आदेश पर्खनु नपर्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख खड्काले बताएका छन् ।

नगर प्रहरी बललाई कार्यपालिकाको निर्णय, नगर प्रमुख र उपप्रमुखको आदेशमा अतिक्रमित जग्गा खाली गर्न, राजश्व र घर बहाल कर संकलन गर्न, अवैध संरचना खाली गराउन, पार्किङ व्यवस्थित गर्न, चौपाया नियन्त्रण र हरियाली प्रवद्र्धन गर्न समेत परिचालन गर्ने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?